गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले संविधानको रक्षा गर्न अर्को चुनावमा पनि गठबन्धन आवश्यक रहेको बताएका छन्। प्रदेश, प्रतिनिधि सभा र राष्ट्रिय सभामा एकल बहुमत नहुने भएकाले जनताको समस्या समाधान गर्न अन्य राजनीतिक पार्टीहरुसँग हातेमालो गर्नैपर्ने उनको भनाइ छ।
कांग्रेस क्षेत्रीय समिति ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा खाणले विचार मिल्ने अरु पार्टी नभएपछि वामपन्थी पार्टीसँग गठबन्धन गर्नुपरेको बताए।
‘विचार मिल्ने पार्टीसँग गठबन्धन गर्ने हो भने कांग्रेससँग ठ्याक्कै विचार मिल्ने पार्टी कांग्रेस नै छ, अरु कुन पार्टी छ,’ उनले भने, ‘अन्य राजनीतिक दल जसलाई भरोसा दिएर सँगै हिँडेका छौँ, उनीहरुलाई पनि सुरक्षा दिनुपर्ने हुन्छ ।’
गृहमन्त्री खाणले देशभर एकैदिन निर्वाचन सम्पन्न भएको भन्दै निर्वाचन आयोग, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, उम्मेदवार, मतदातालाई धन्यवाद दिए।
Shares
प्रतिक्रिया