राजनीति


नेकपालाई धराने धक्काः कहाँ हरायो पहिलेको ८ हजार मत?

नेकपालाई धराने धक्काः कहाँ हरायो पहिलेको ८ हजार मत?

सागर न्यौपाने
मंसिर १६, २०७६ सोमबार ७:२४,

बहुदलीय व्यवस्था पुनर्स्थापनापछि भएको पहिलो आमनिर्वाचनभन्दा ठिक अघि तत्कालीन नेकपा माले र नेकपा मार्क्सवादीबीच एकता भयो। एकतापछि पार्टी अध्यक्ष मनमोहन अधिकारी बने भने महासचिव मदन भण्डारी। मदन भण्डारी काठमाडौंबाट उठाएर सन्देश दिने निश्चित भएपछि अधिकारीका लागि पार्टीले सुरक्षित स्थान खोज्यो। त्यसैले अधिकारीलाई सांसद बनाउन तत्कालीन धरान नगरपालिका निर्णायक रहेको सुनसरी क्षेत्र नम्बर १ बाट उठाउने निर्णय गरेको थियो।

‘अध्यक्षका लागि सुरक्षित स्थान भनेर धरान नगरपालिकासहितका क्षेत्रमा रहेको सुनसरी १ बाट उम्मेदवार बनाइएको थियो। पार्टी त्यसबेलासम्म मजबुत थिएन तर जनमत भने राम्रो थियो। मनमोहन अधिकारीले राम्रोसँग चुनाव जित्नु भएको हो,’ लामो समय धरानमा अध्यापन गरेका पुराना वामपन्थी नेता दामोदर उपाध्यायले भने।

त्यसपछि २०६४ बाहेक सबै निर्वाचनमा तत्कालीन एमाले विजयी बन्दै आएको थियो। ०६४ मा भने तत्कालीन माओवादी विजयी भएको थियो।

‘अहिले पार्टीबाट नाम आएकामध्ये नेकपाले सबैभन्दा राम्रो व्यक्तिलाई उम्मेवार बनाएको थियो। त्यति गर्दा पनि नेकपा हार्‍यो। यो नेकपाका लागि सबैभन्दा सुरक्षित स्थान थियो,’ उपाध्यायले भने।

०४९ को स्थानीय चुनावमा मेयर पदमा एमालेका ध्यानबहादुर राई, ०५१ को मध्यावधि निर्वाचतनमा लीला श्रेष्ठ सुब्बा, ०५४ को स्थानीय चुनावमा मेयरमा मनोज मेयाङ्बो विजयी भएका थिए। पार्टी फुटेपछि ०५६ को आम चुनावमा एमालेकी कुन्ता शर्माले धरान रहेको निर्वाचन क्षेत्रबाट चुनाव जितेको थिइन्। ०६४ सालमा पहिलो संविधानसभा चुनावमा देशव्यापी रुपमा माओवादी लहरको प्रभाव सुनसरी १ मा पनि देखियो। त्यस क्षेत्रबाट माओवादीका किरण राईले चुनाव जिते। २०७० को दोस्रो संविधानसभामा एमालेले पुनरागमन भयो। कृष्णकुमार राई निर्वाचित भए। अहिलेको प्रतिनिधिसभामा जयकुमार राई निर्वाचित भएका छन्। त्यसैगरी दुवै प्रदेशसभामा तत्कालीन एमालेका उम्मेदवारले जितेका छन्।

सोही क्षेत्रमा शनिबार भएको उपनिर्वाचनमा भने मेयर पदमा कांग्रेसका तिलक राई विजयी भए। उनले एकतापछि बनेको नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गरे। राई २०७४ सालमा उपमहानरपालिका प्रमुख तारा लिम्बुसँग पराजित भएका थिए।

कम्युनिस्टको यो किल्ला २८ वर्षपछि किन भत्कियो त?

कांग्रेसभित्रको एकताले चुनावी नतिजा उल्ट्याउन सम्भव भएको तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले बताए।

उनका अनुसार हरेक चुनावमा उम्मेदवार चयनमा झमेला खेप्ने गरेको कांग्रेसले यस पटक मेयरको उम्मेदवार चयनमा भने सर्वसम्मत निर्णय गरेको थियो। पार्टीभित्र सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला गुटको अन्त्य गर्दै राई सबैको साझा उम्मेदवार बन्न सफल भए। जितका लागि ‘टर्निङ प्वाइन्ट’ नै यही भएको तरुण दलका अध्यक्ष गुरुङ दाबी गर्छन्।

कांग्रेसले खोस्यो १० हजार मत
०७४ को निर्वाचनमा धरान उपमहानगरपालिकामा जम्मा मतदाता ७९ हजार २ सय ९० थिए।

त्यसबेला विजयी उम्मेदवार एमालेका तारा सुब्बाले २० हजार ९ सय ७५ मत ल्याएका थिए। माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार एक सय ८० मत ल्याएका थिए भने कांग्रेसका तिलक राईले १६ हजार १ सय २ मत ल्याएका थिए।

एमाले र माओवादीबीच एकता भएपछि उनीहरुले अघिल्लो निर्वाचनमा पाएको मत सुरक्षित रहेको आकलन गरेका थिए। अर्थात् कम्तीमा ३२ हजार मत आएर विजयी हुनेमा नेकपा नेताहरु ढुक्क थिए।

अझ यसपटक थपिएका १३ हजार मतदातामध्ये कमसेकम आधाले नेकपालाई मत दिने अनुमान पनि गरिएको थियो। तर, त्यसो भएन।

उपनिर्वाचनमा विजयी उम्मेदवार तिलक राईले २६ हजार ७ सय ९ मत ल्याउँदा नेकपाका उम्मेदवार प्रकाश राईले २३ हजार ९ सय ९४ मत ल्याए।

०७४ को तुलनामा नेकपाको मत ८ हजारले घटेको देखिन्छ।

अर्कोतर्फ कांग्रेस उम्मेदवारले अघिल्लो पटकभन्दा १० हजार ६ सय ७ मत बढाएका छन्। 

त्यसबाहेक उपनिर्वाचनमा ५४ हजार ८ सय ४६ मत मात्र खस्यो। जम्मा मतदाता संख्या र खसेको मतको हिसाब गर्दा ३८ हजार जना मतदानमा सहभागी नै भएनन्। यसले पनि नतिजा उल्टाउन मद्दत गरेको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad