ad ad

राजनीति


विजय भएपछि विद्याले भनिन्ः यो रविन्द्र अधिकारीको पनि जीत हो

विजय भएपछि विद्याले भनिन्ः यो रविन्द्र अधिकारीको पनि जीत हो

वाशुदेव मिश्र
मंसिर १५, २०७६ आइतबार १३:३२,

कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता विद्या भट्टराईले यो जीतलाई ‘रवीन्द्र अधिकारीको जीत’ भन्दै खुशी व्यक्त गरेकी छन्।

कास्की २ बाटै निर्वाचित भएर पर्यटनमन्त्री बनेका रवीन्द्र अधिकारीको ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो। विद्यार्थीकालदेखि नै वामपन्थी आन्दोलनमा सक्रिय विद्या रवीन्द्र अधिकारीको पत्नी हुन्, जसले अब अधिकारीको सपना पूरा गर्न नागरिकको काममा सक्रिय हुने जनाएकी छिन्।

‘यो जीत कास्केली नागरिक, सम्पूर्ण न्यायप्रेमी नागरिक र रवीन्द्र अधिकारीको पनि जीत हो’, उनले जीतपछि भनिन्, ‘म जसरी मत माग्न नागरिकको घरदैलोमा गएको थिएँ, त्यसरी नै अब विजयको सन्देश लिएर मतदाताकहाँ जान्छु र कार्ययोजना बनाएर काम गर्छु।’

नेपाली कांग्रेसका उम्मेदवारसँग करिब नौ हजार मतान्तरणले विजय भएपछि विद्याले सबैलाई धन्यवाद ज्ञापन गरिन्।

‘म पूर्वाधार विकास, सामाजिक न्याय र नीति निर्माणका कुराहरु अघि बढाउने छु। पोखरालाई पर्यटकीय राजधानी बनाउने काम गर्नेछु, समृद्ध नेपाल र सुखी नेपालीको चाहना पूरा गर्न चाहन्छु’, उनले थपिन्।

bidhayadi

खेमराजले दिए बधाई
निकट्तम प्रतिस्पर्धी कांग्रेसका उमेदवार खेमराज पौडेलले भटराइलाई नतिजा सार्वजनिक हुनासाथ बधाइ दिए। आफूभन्दा ८ हजार ४ सय ६ मत बढी ल्याएर विजयी बनेपछि खेमराजले उनलाई सफल कार्यकालको कामना गरेका हुन्।

‘ल बधाई छ है, नेकपाका साथीहरुलाई,’ उनले भने र माला लगाइदिए। उनले मतगणनास्थलमै पुगेर बधाई दिँदा विद्यासँगै रहेका उनका सहकर्मीहरूले ‘धन्यवाद गुरु’ भनेका थिए।

मतदाताको सुझावअनुसार प्राथमिकता निर्धारण
जीतपनि विद्याले मतदाताको सुझावअनुसार आफुले आगामी प्राथमिकता तय गर्ने बताइन्। उनले मतदाताको मन बुझ्न चुनावी प्रचारका बेला जस्तै पुनः घरदैलोमा पुगेर सुझाव संकलन गर्ने बताइन्।

‘चुनावमा भोट माग्न गएको जस्तै गरी सबैभन्दा पहिले सम्पूर्ण मतदाताको घरदैलोमा जानेछु, विजय गराउनु भएकोमा धन्यवाद व्यक्त गर्नेछु,’ भट्टराईले नेपालखबरसँग भनिन्, ‘चुनावको क्रममा गरेका प्रतिवद्धतालाई पूरा गर्नेतर्फ लाग्छु। मतदाताले निर्धारण गरेको प्राथमिकता नै मेरा प्राथमिकता हुनेछन्।’

कास्की २ बाट निर्वाचित सांसद तथा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको सो क्षेत्रमा उपनिर्वाचन भएको हो। अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको थियो। भट्टराई अधिकारीकी पत्नी हुन्। विद्यार्थी राजनीतिबाट अलग्गिएपछि लामो समय प्राध्यापन पेशामा संलग्न रहकी भट्टराई अधिकारीको निधनपछि पुन राजनीतिमा सक्रिय भएकी हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .