राजनीति


नेपाल, भारत, चीनसम्बन्धमा ‘टू प्लस वान’ भए, लिपुलेक जस्ता काण्ड दोहोरिन सक्छः प्रचण्ड

नेपाल, भारत, चीनसम्बन्धमा ‘टू प्लस वान’ भए, लिपुलेक जस्ता काण्ड दोहोरिन सक्छः प्रचण्ड

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार १०:३६,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल, भारत र चीन बीचको सम्बन्धमा ‘टू प्लस वान’ को अवधारणाले फेरि लिपुलेक काण्ड दोहोरिन सक्ने खतरा औल्याउँदै यी दुई छिमेकीसँगको नेपालकाे सम्बन्ध त्रिदेशीय नै हुनुपर्नेमा जोड दिए।

शुक्रबार नेपाल–चीन मिडिया फोरमद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सन् २०१५ मा चीन र भारतले नेपालको लिपुलेकमार्फत् उनीहरुको व्यापार विस्तार गर्ने आपसी सहमति गरेको र त्यसले नेपाललाई समस्यामा पारेको बताए।

अहिले नेपालको लिपुलेक भारतीय नक्सामा पारेपछि त्यसबारेमा नेपालभित्रै तीव्र विरोध भइरहेको छ। कात्तिक १६ गते भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दा त्यसमा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरेको हो। त्यसपछि सरकारले सर्वदलीय बैठक डाकेर त्यसमा राष्ट्रिय सहमति कायम गरेको छ।

नेकपा अध्यक्ष प्रचण्डले तीनवर्षअघि आफूले चीन र भारतको भ्रमण गर्दा लिपुलेकबारे ती दुई देशबीच भएको सहमतिका विषयमा त्यतिबेलै ध्यानाकर्षण गराएको बताए।

‘लिपुलेकको त्यो कुरा आएकै बेला मेरो चीन र भारत भ्रमण पनि त्यतिबेलै परेको थियो। नेपालसँग कुनै सल्लाह नै नगरीे लिपुलेकका विषयमा दुई देशले मात्रै सहमति गर्ने विषय थियो त भनी मैले गम्भीर रुपमा ध्यानाकर्षण गराएँ,’ प्रचन्डले भने।

भारतीय पक्षले अघि सारेको ‘टू प्लस वान’ अवधारणामा चीनले पनि समर्थन गरेमा त्यो अर्काे लिपुलेक जस्तै घट्ना हुनेमा उनी सशंकित रहेको बताए।

‘चीनले पनि टू प्लस वान भन्यो भने यो अर्को लिपुलेक (घट्ना) हुने हो कि भन्ने डर छ मलाई,’ प्रचण्डले चिन्ता जनाउँदै भने, ‘ठूला–ठूलाले बसेर गर्दिए पछि त सानाले... (एकछिन रोकिँदै) भन्या जस्तै हुने हो भने त्यो त राम्रो कुरा भएन नि। त्यसकारण थ्री (त्रिदेशीय) नै हुनुपर्ने हुन्छ ।’

त्रिदेशीय हुँदामात्रै समस्याको सही समाधानमा जान सकिनेमा प्रचण्डले जोड दिए।

‘टू प्लस वान’ भन्ने शब्द उपयुक्त होइन। यो त्रिदेशीय नै हुनुपर्छ,’ उनले भने, ‘टू भनेको अर्कै विशेष अधिकारप्राप्त र वान भनेको त्यसमा जोडिने भन्ने हुन्छ। त्रिदेशीय साझेदारी मात्रै स्वतन्त्रता र समान हुन्छ र उनीहरुको हैसियत बराबर हुन्छ।’

धेरै किसिमले नेपाल–चीन सम्बन्धका नयाँ नयाँ आयाम थपिदै गएको बताउँदै प्रचण्डले पछिल्लो चिनियाँ राष्ट्रपति सी चिनफिङको सफल र ऐतिहासिक नेपाल भ्रमणपछि ती आयामहरु थप विस्तारित भएको दाबी गरे।

उनले भने ‘सीको भ्रमणपछि नेपाल–चीनबीचमा नयाँ आयाम झन् बढ्यो। संभावनाहरु उजागर भए। नेपाल भ्रमणमा आउँदा राष्ट्रपति सीले भारतको बाटो भएर आएको कुरालाई दुईपक्षीय सहमतीलाई स्थापित गरेको छ। अब हामी हाम्रो हैसियत र विकासको स्थिति जोड्न चाहन्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad