नव नियुक्त कृषि विकास तथा पशुपंक्षीमन्त्री घनश्याम भुसालले कृषिलाई उद्यमशीलतासँग जोड्न नसकेसम्म मुलुकको कृषि क्षेत्रले राम्रो प्रतिफल दिन नसक्ने बताएका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरुको संयुक्त प्रतिनिधि मण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘कृषिलाई उद्यमसँग गाँस्न सकिएन भने कृषि आफै विकसित हुन सक्नैन, कृषिलाई विकसित गर्ने भनेको आधुनिकीकरण, यान्त्रीकरण, व्यवसायीकरण जे भने पनि मेरो प्रयत्न कृषिलाई उद्यमसँग गाँस्ने नै हो।’
गाउँका मान्छेको प्राथमिक उत्पादनको प्रारम्भिक प्रशोधनमात्रै शुरु भइदिने हो भने त्यसले किसानको श्रमलाई उद्यमशीलतातर्फ लैजाने उनले बताए। भुसालले भने, ‘किसानले दुध उत्पादन गर्ने कुरा महत्वपूर्ण छ, तर दुधलाई कुनै न कुनै रुपले प्रशोधन गर्ने कुरा हाम्रा लागि अझै महत्वपूर्ण छ। हामीले जडिवुटी उमार्ने कुरा महत्वपूर्ण छ, जडिवुटीको कुनै न कुनै रुपले प्रशोधन गर्ने कुरा अझै महत्वपूर्ण छ। कृषि क्रान्ति भनेकै कृषकलाई उद्यममा ल्याउने हो।’
कृषिलाई उद्यमशीलतासँग जोड्ने सोंच बनाएर मन्त्रालयको जिम्मेवारीमा आएको उनकाे भनाई थियाे। ‘अहिलेको कृषिले चल्दैन, केही फेरबदल गर्न जरुरी छ । कृषि भनेको हलोमात्रै जोत्ने भन्यौं हाम्रो बीचमा ठूलो ग्याप रह्यो हाम्रा योजना, सोच र काम गर्ने शैलीमा कृषिलाई उद्यमसँग गाँस्न सकिएन भने कृषि आफै विकसित हुन सक्दैन’ उनले भने।
महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरु विशेष गरी स्थानीयस्तरमा कृषि र यसको उत्पादनसँग जोडिएको भन्दै यस्ता उद्योगी र गाउँघरमा कृषि कर्म गर्ने किसानहरुको हितमा राज्यको नीति केन्द्रित हुनुपर्नेमा जोड दिए।
‘अर्थतन्त्रलाई रोजगारमूलक बनाउनका लागि सबै नेपालीले उद्योग खोल्दैनन केही निश्चित समूह जोसँग उद्योग र उद्यमशीलता छ, जसले जोखिम लिन सक्छन्, जसले लगानी गर्न सक्छन्, जसले निरन्तर रुपमा अगाडि बढाउन सक्छ तिनीहरुले मात्रै उद्योग खोल्छन् र ती उद्योगहरुमा बाँकी नेपालीहरुले रोजगार प्राप्त गर्ने अभियानमा हामी लाग्नुपर्छ।’ अध्यक्ष गिरीले भने।
महासंघको संयुक्त प्रतिनिधि मण्डलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीसँग पनि उहाँकै कार्यकक्षमा भेटगरी बधाई तथा शुभकामना दिएको थियो। सो अवसरमा संघिय मामिला मन्त्री त्रिपाठीले खास गरि स्थानीय रोजगार र स्वरोजगारका निम्ति स्थानीय उध्यमशीलता र पालिका र प्रदेश तहमा उद्योगग्राम स्थापनाका लागि पालिका र प्रदेश सरकार सँगको सहकार्य र महासंघसँगको समन्वयमा अघि बढ्ने बताए।
Shares

प्रतिक्रिया