ad ad

राजनीति


स्थानीय गठबन्धन २५ प्रतिशत कार्यान्वयन, केन्द्रको चुनावमा के होला?

कांग्रेस-माओवादीले मात्रै फाइदा लिएको अरु दलको गुनासो
स्थानीय गठबन्धन २५ प्रतिशत कार्यान्वयन, केन्द्रको चुनावमा के होला?

फाइल फोटो


केशव सावद
जेठ ८, २०७९ आइतबार ११:५२, काठमाडौँ

पाँचदलीय सत्ता गठबन्धनबीच चुनावी तालमेल कति प्रतिशत कार्यान्वयन भयो? चुनाव सकिएपछि अब यो गठबन्धन भत्किन्छ कि आगामी संसदीय चुनावसम्म जान्छ ? वैशाख ३० पछि उब्जेको यक्ष प्रश्न हो यो।

स्थानीय तहको सम्पूर्ण नतिजा आइसक्न बाँकी नै रहे पनि नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी तेस्रो, जसपा चौथो र एकीकृत समाजवादी पाँचौं दलका रुपमा थान्को लागिसकेका छन्।

चुनावले राजनीतिक शक्ति सन्तुलन स्पष्ट देखाइसके पनि सत्तारुढ दलहरुले चुनावी गठबन्धन सफल भयो कि असफल भन्ने हिसाबचाहिँ निकालिसकेका छैनन्। सत्तारुढ नेताहरु गठबन्धनको नतिजा हेरेर खुशी हुने कि रुने भन्ने अन्योलमा रुमलिएका छन्।

माओवादी नेता वर्षमान पुन यसपालिको स्थानीय चुनावमा २०९ स्थानीय तह अर्थात २५ प्रतिशतमात्र तालमेल भएको बताउँछन्।

त्यसैगरी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालखबरसँगको कुराकानीमा भनेका छन्, ‘तालमेलबारे यस्तो प्रचार भइदियो कि ७५३ मध्ये ७ सय ठाउँमा तालमेल भयो भन्ने जसरी म्यासेज गयो। जबकि यथार्थ त्यो थिएन। नेपाली कांग्रेसले ११९ वटा प्रमुख छाडेको थियो। हामी ६३४ वटा प्रमुखमा लडेका थियौं।’

आखिर, जति ठाउँमा तालमेल गरिएको भए पनि सत्ता गठबन्धन सफल भयो कि असफल ? अनि यो गठबन्धन आगामी संघीय चुनावसम्म जान्छ कि जाँदैन ? प्रमुख पार्टीका नेताहरुको कुरा सुनौं:

गठबन्धन सालाखाला राम्रो भयो : रामचन्द्र पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गठबन्धन मुलुकको आवश्यकता भएको बताउँछन्। 

पौडेल भन्छन्, ‘ठाउँ–ठाउँमा गठबन्धन गर्न सकिएन। गठबन्धन गरिएका केही स्थानमा राम्रोसँग भोटिङ हुन सकेन। सालाखालामा राम्रो नै भन्नुपर्छ। चुनावी नतिजा सकारात्मक आएको छ, यसलाई सन्तोषजनक नै भन्नुपर्छ।’

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र–बाबुराम नेतृत्वको जनता समाजवादी पार्टीको हकमा प्राप्त चुनावी नतिजाबारे प्रश्न गर्दा पौडेलले धरातलीय यथार्थ विचार गर्नुपर्ने बताए। 

उनले भने, ‘चुनावी नतिजाले उहाँहरु लाई असन्तुष्ट लागेको हुन सक्छ। तर, ग्राउन्ड रियालिटी सबैले महसुस गर्नुपर्छ। हामी पनि धरातलीय यथार्थता बुझ्छौँ, यसको समीक्षा गर्छौँ।’

अहिलेको सत्ता गठबन्धनलाई आगामी संसदीय चुनावसम्मै लिएर जानुपर्ने पौडेलले बताए। 

‘मुलुकलाई स्थायित्व दिनका लागि, स्थायी सरकार दिन, सुशासन दिनका लागि गठबन्धनलाई मिलाएर जानुपर्छ’ पौडेलले नेपालखबरसँग भने, ‘यो गठबन्धन संघीय चुनावसम्मै जान्छ।’ 

बरिष्ठ नेता पौडेल जस्तै नेपाली कांग्रेस वागमती प्रदेश कार्यसमिति सभापति इन्द्रबहादुर बानियाँ पनि यो गठबन्धन आगामी चुनावसम्म निरन्तर जाने दाबी गर्छन्। 

बानियाँ भन्छन्, ‘गठबन्धन निरन्तर रहन्छ, टुट्दैन। सामान्य कमजोरी भए होलान्। मन र मत मिलेन होला तर त्यसलाई समीक्षा गरेर निरन्तर लैजान्छौँ।’

बानियाँले थपे, ‘अहिलेको व्यवस्थाले पनि गठबन्धन अपरिहार्य रहेको देखाएको छ। संघीय र प्रदेश चुनावसम्म गठबन्धन रहन्छ, ढुक्क हुनुस्।’ 

गठबन्धन सफल भयो, अर्को चुनावसम्म जान्छ : वर्षमान पुन


नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गठबन्धन सफल भएको र आगामी निर्वाचनसम्म जाने बताए।

‘हाम्रो पार्टीको तर्फबाटभन्दा उत्साहजनक छ, धेरै मान्छेले हाम्रो पार्टीलाई हेप्थे। तर, हामी निर्णायक र स्थापित शक्ति हौँ, हाम्रो एजेन्डा देशमा स्थापित छ, जनताले रुचाएका छन् भन्ने पुष्टि भएको छ’ पुनले भने।

यसपालिको स्थानीय चुनावमा २०९ स्थानीय तह अर्थात २५ प्रतिशतमात्र गठबन्धन गरिएको बताउँदै पुनले नेपालखबरसँग भने, ‘यही कारणले हारिएको वा यही कारणले जितिएको भन्न मिल्दैन। पार्टीहरूका आ–आफ्ना स्ट्रेन्थहरु छन्, आफ्ना संगठन छन्। आ–आफ्ना एजेन्डाहरू छन्। मुल कुरो पार्टीको आफ्नो शक्ति नै हो।’ 

अहिले माओवादीले जति सिट जितेको छ, अपेक्षा चाहिँ योभन्दा अलि धेरै रहेको बताउँदै पुनले भने ‘ठ्याक्कै तयारी भन्न मिलेन होला, तर धेरै ठाउँमा गठबन्धन सफल भएको छ। उम्मेदवार र आन्तरिक मतभेद मिलाउन सकेनौँ, नभए यो भन्दा राम्रो हुन्थ्यो।’

प्रतिगमनका विरुद्ध, लोकतन्त्र र संविधानको रक्षा एवं राजनीतिक स्थायित्वका लागि गठबन्धन गरिएको पुनले बताए। उनले भने, ‘यस अर्थमा गठबन्धनको औचित्य अझै पनि छ। हामीले एउटा निर्वाचनका लागि मात्रै गठबन्धन गरेको होइन। हामी यो गठबन्धन अगाडि लैजान्छौँ। केन्द्र, प्रदेशमा पनि जान्छ गठबन्धन।’

कांग्रेस र माओवादीलाई मात्रै फाइदा भयो : खतिवडा


नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट नेताहरुले गठबन्धनबाट फाइदा भएको भन्दै आगामी चुनावसम्म जाने बताइरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का प्रचार विभाग प्रमुख डम्बर खतिवडा भने यसले कांग्रेस–माओवादीलाई मात्र फाइदा भएको प्रतिक्रिया दिए।

‘नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका लागि मात्रै गठबन्धन हो। जसपा र एकीकृत समाजवादीका नजरबाट हेर्दा एकाध ठाउँबाहेक गठबन्धनले फाइदा पुर्‍याएको देखिँदैन,’ खतिवडाको प्रश्न छ, ‘गठबन्धन गरेर जसपालाई के फाइदा भयो?’

गठबन्धनबाट फाइदा नभएको उदाहरण दिँदै खतिवडाले नेपालखबरसँग भने, ‘जनकपुर उहाँहरुलाई दिइएको हो, त्यहाँ कांग्रेसकै बागी उठे। वीरगञ्ज त हामी एक्लैले पहिले जितेको ठाउँ हो। यस पटक गठबन्धनले गर्दा केही सहज भयो होला। गठबन्धनले फाइदा भएन।’

कतिपयले गठबन्धनमा गडबडी आउने र सरकारसमेत ढल्न सक्ने चर्चा गरिरहेका बेला जसपा नेता खतिवडा भने चुनावी हार जितले सरकार सञ्चालनमा कुनै फरक नपर्ने बताउँछन्। तथापि आगामी चुनावसम्म जाँदा समीकरण बदलिन सक्ने उनको विश्लेषण छ।

खतिवडा भन्छन् ‘सरकार टिकिरहन्छ। तर, राजनीतिक आवश्यकता हेर्दा आगामी निर्वाचनमा अहिलेकै मोडालिटीमा गठबन्धन जान सक्दैन। संघीय निर्वाचनमा समीकरण बदलिन सक्छ। तर, हामीले भनेर मात्र हुँदैन। शीर्षनेताहरू मिलेर गठबन्धन गरेका हुन्। २-४ नेताले जे गर्छन्, त्यही हुन्छ। नेताको दिमागमा के खेलेको छ।’     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .