ad ad

अन्तर्वार्ता


तालमेलले मात्रै परिणाम प्राप्त हुँदैन भन्ने नमुना झापा बनेको छ : विश्वप्रकाश शर्मा

तालमेलले मात्रै परिणाम प्राप्त हुँदैन भन्ने नमुना झापा बनेको छ : विश्वप्रकाश शर्मा

फाइल फाेटाे


केशव सावद
जेठ ६, २०७९ शुक्रबार २०:१, काठमाडौँ

स्थानीय चुनावको नतिजा आउने क्रम जारी छ। शुक्रबार रातिसम्मको परिणाम हेर्दा नेपाली कांग्रेस २९४ सिट जितेर पहिलो बनेको छ भने नेकपा एमाले १८५ सिटका साथ दोस्रोमा खुम्चिएको छ।

सत्ता गठबन्धन दल माओवादी केन्द्रले ११३ सिट जितेको छ भने जसपाले अहिलेसम्म २१ सिट जितेको छ। एकीकृत समाजवादीले १५ सिट जितेको छ। अब करिब ९० सिटमात्र गन्न बाँकी छ।

निर्वाचनको परिणाामलाई लिएर आम मानिसमा केही प्रश्न उठेका छन्। जस्तो– यो गठबन्धनबाट कांग्रेसलाई फाइदा भयो कि घाटा? माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चालाई कांग्रेससँगको सहकार्य फाप्यो कि धोका भयो? गठबन्धन कति प्रतिशत कार्यान्वयनमा आयो? अनि गठबन्धनकै दलहरुले कांग्रेससँग गुनासो पोख्नुको भित्री रहस्य के हो?

निर्वाचनपछि उठेका यिनै प्रश्नमाथि केन्द्रित रहेर नेपालखबरले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत छ –     

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले पाइरहेको सफलतालाई कसरी लिनुभएको छ? 
यसमा तीनवटा कुरा भन्छु।

पहिलो– ०७२ मा निर्माण भएको संविधानलाई जनस्तरमा बलियो बनाउनका लागि महत्वपूर्ण खुड्किलो भएको छ। दोस्रो– यो दायित्व संविधानको जरासम्म कार्यान्वयनको दोस्रो चरण हो। पहिलो चरण २०७४ सालको निर्वाचन थियो। त्यसको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो। यद्यपि, २०७४ सालमा स्थानीय तह निर्वाचन हुँदै गर्दा ३ पटक लगाएर फरक फरक मितिमा गर्नुपरेको थियो।

आज नेपाली कांग्रेसले नै त्यो कार्यान्वयन गराउँदैछ। एकै दिनमा सम्पन्न भएको छ। सुखद अनुभूति भएको छ।

दोस्रो– २०७४ मा दोस्रो भएको नेपाली कांग्रेस यो निर्वाचनबाट पहिलो बन्दैछ, यो अर्को खुशीको विषय छ। 

तेस्रो– यो निर्वाचनले एकसाथ केही फरक सन्देशहरु पनि दिएको छ। जनताले नेपाली कांग्रेसलाई पहिलो दल पनि बनाएका छन्। सँगै जनताले ठूला दलहरुलाई परिमार्जित बन्नका लागि कतिपय स्वतन्त्र उम्मेदवारहरुको प्रस्तुतिबाट हामीलाई थप परिमार्जित बन्न, थप आधुनिक बन्न सन्देश पनि दिएका छन्। 

सत्ता गठबन्धनको चुनावी तालमेल सफल भयो कि असफल?
यसलाई ठ्याक्कै सफल र असफल भन्ने कुराको माला एकैपटक लगाउनुहुँदैन। पहिलो कुरो के स्पष्ट हौँ भने तालमेल भनिएको कुरो ठूलै हल्ला थियो। तर, वास्तविकता के थियो भने तालमेल भएर भन्दा नभएर चुनावी प्रतिस्पर्धा गरिएको ठाउँ बढी थियो।  

तालमेलबारे यस्तो प्रचार भइदियो कि ७५३ मध्ये ७ सय ठाउँमा तालमेल भयो भन्ने जसरी म्यासेज गयो। जब कि यथार्थ त्यो थिएन। नेपाली कांग्रेस अथवा नेकपा माओवादी केन्द्र, अथवा नेकपा एकीकृत समाजवादी, मधेस केन्द्रित दलहरुले प्रमुख पद लडेको स्थान हेर्नुभयो भने १८ सय पुग्छ। जब कि ७५३ वटा प्रमुख छन्। तर, दलहरुका उम्मेदवार १८ सय थिए। यसकारण तालमेल त्यो लेभलमा भएको थिएन। 

नेपाली कांग्रेसले ११९ वटा प्रमुख छाडेको थियो। हामी ६३४ वटा प्रमुखमा लडेका थियौं। त्यसकारण अहिले देशभरिमा हामी जहाँ मिलेर लडेका थियौँ, ती ठाउँहरुमा कतिपय विजय हासिल गरेका छौँ। यसबाट निकै लाभान्वित भएका छौँ। तर, कयौँ ठाउँहरुमा नेपाली कांग्रेस पार्टी एक्लै लडेर जितेको छ। 

त्यसकारण समग्र परिणामबाट नेपाली कांग्रेस कति लाभान्वित भयो, माओवादी, एकीकृत समाजवादी कति लाभान्वित भए, यो सबै कुरा हेरेरमात्रै निष्कर्षमा पुग्नुपर्ने हुन्छ। अहिलेलाई भन्दै गर्दा हामीले तालमेल भएका ठाउँहरुबाट र नभएका ठाउँहरुबाट सन्तोषजनक परिणाम हासिल गरेका छौँ। 

एक्लै लडेको भए कांग्रेस अहिलेको अवस्थामा देखिने थिएन भन्ने पनि कतिपयको दाबी छ। यसमा के भन्नुहुन्छ?
आउने थियो भनियो भने अहंकारी टिप्पणी पनि हुन सक्छ। आउने थिएन भनियो भने पनि कमजोर प्रस्तुति लाग्न सक्छ। किनभने नेपाली कांग्रेस मिलेर लडेको ठाउँमा पनि हारेको छ। उदाहरण दिँदै गर्दा झापा जिल्लाको बाह्रदशी गाउँपालिकामा अघिल्लोपटक एक्लाएक्लै लड्दा नेपाली कांग्रेसले जितेको थियो। अहिले मिलेर लड्दा हामीले गुमायौँ। 

एक्लै लड्दै गर्दा इलाममा ३० वर्षपछि प्रमुख र उपप्रमुखसहित बहुसंख्यक वडाध्यक्षसहित विजय हासिल गर्यौँ। काठमाडौँको कीर्तिपुर नै साक्षी छ, नेपाली कांग्रेस यहाँ कसैसँग मिलेर लडेको थिएन। कीर्तिपुरमा प्रमुख, उपप्रमुखसहित बहुसंख्यक वडाध्यक्षहरु जित्यौँ हामीले। 

कहीँ हामी एक्लै लडेर जितेका छौँ, कहीँ हामी तालमेल गरेर विजयी भएका छौँ। त्यस कारण एक्लै लडेर विजयी भएका ठाउँ र तालमेल गरेर विजयी भएका ठाउँ दुवै जोडिराखेर अहिलेको आकार बनेको हो। हामी एक्लै लडेरमात्रै हासिल गरेका विल्कुल होइनौँ र विजय भएका जति सबै तालमेल गरेरमात्रै प्राप्त हो भन्ने कुरा होइन। 

झापाको कुरा जोड्नुभयो। झापाबाटै तपाईं केन्द्रको राजनीतिमा प्रतिनिधित्व गर्नुहुन्छ। तालमेल गर्दागर्दै पनि बाह्रदशी गाउँपालिका गुमायौँ भन्नुभयो। पूर्वमहामन्त्री कृष्ण सिटौलाको वडा नै गुमाउनुभयो। यसको कारण के हो? 
झापाको मात्रै छुट्टयाएर अहिले चर्चा नगरौँ। झापाको मात्रै कुरा आन्तरिकरुपमा छलफल गरिनुपर्ने कतिपय विषयवस्तुहरु छन्। झापा पनि देशभरिकै भूगोलमा पर्दछ। झापामा हामी एक्लै लड्दै गर्दा पनि आधाको हाराहारीमा हामी विजयी भएका थियौँ भने आज त्यो अवस्था छैन। सबैतिर तालमेलले मात्रै परिणाम प्राप्त हुँदैन है भन्ने कुराको नमुना चैँ झापा बनेको छ। 

मतगणनाको परिणाम सार्वजनिक हुँदै गर्दा सत्ता साझेदार दलहरु नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) सन्तुष्ट देखिँदैनन्। संघीय निर्वाचनमा यी दलहरुले वाम मोर्चा बनाउँछन् कि भन्ने आशंका पनि छ। अब नेपाली कांग्रेस आगामी चुनावमा एक्लै जान्छ कि उनीहरुलाई आफैँसँग राख्ने प्रयास गर्छ? 
हामीले केही निश्चित घटनाको अंशलाई हेरर समग्रको मूल्यांकन गर्नुहुँदैन। माधवकुमार नेपाल जिम्मेवार परिपक्व राजनीतिज्ञ हुनुहुन्छ। अहिले गठबन्धनको जुन संरचना बनेको छ, विशेष गरी यो सरकारै बन्ने कुरा र केपी ओलीको प्रतिगमनलाई विदाई गर्नमा महत्वपूर्ण भूमिका छ। अग्रसरता उहाँको छ। 

यद्यपि, सत्य को हो भने निर्वाचनमा जाँदै गर्दा त्यही रुपको परिणाम उहाँका लागि देखिएको छैन होला। तर, हामी के नबिर्सौँ भने उहाँको नेतृत्वमा उहाँको दल निर्माण भएकै छोटो समय भयो।

माओवादी त अलग्गै विद्रोहबाट आएको हो। यसको अलग्गै संरचना थियो। अलग्गै मनोनिज्ञान थियो। उसको चुनाव चिन्ह, पहिचान अलग्गै रुपमा थियो। उमेरको हिसाबले पनि फरक थियो। 

माधवकुमार नेपालजीको दल स्थापना भएको उमेर, त्यसपछि चुनाव चिन्हको प्रस्तुति र सेन्टिमेन्टदेखि संरचनासम्मको विषयले गर्दा पनि त्यही साइजमा आउँछ भन्ने कुरो सोच्नुहुँदैन थियो।

तर, जहाँसम्म के भने तालमेलबाट पोखरामा त उहाँको नेतृत्वमा रहेको दलको नेतालाई गठबन्धनले प्रमुखको उम्मेदवार बनाएर अग्रसरता लिइरहेकै छौँ। सबैको मतले त हो नि त्यो। हेटौंडामा उहाँकै दलको उम्मेदवारले अग्रसरता लिइरहनुभएको छ त। 

सोचेजस्तो परिणाम सबै दलको आएको छ भन्ने कुरा विल्लुकै होइन। नेपाली कांग्रेस २०७४ सालको निर्वाचनमा फाट्टफुट्ट तालमेल भएको घटना बाहेक एक्लै लडेको होइन र? त्योबेला हामीले २६६ वटा प्रमुख जितका थियौँ त। अहिले तालमेल भइसकेपछि हामीले ४०० जित्नुपर्ने होइन र? तर, त्यो आकारमा हामी गइरहेका छैनौँ त। 

आ–आफ्ना प्रकारका असन्तुष्टि हरेक दलभित्र छन्। नेपाली कांग्रेसभित्र पनि किन तालमेल भयो भन्ने छ। समाजवादीभित्र त्यो परिणामको नतिजा किन आएन भन्ने छ। माओवादीभित्र पनि छ। त्यसकारण यसलाई वस्तुगत हेर्नुपर्दछ।

ललितपुरमा तालमेलको स्पिरिटअनुसार मत आएन। प्रमुखमा कांग्रेसको आयो, उपप्रमुखमा फरक दलको आएन। विराटनगरमा फरक दलको आएन। तर, फेरि पोखरा, हेटौडामा आइरहेको छ। मधेस केन्द्रित दलको नेतृत्वमा चुनाव लडिएको वीरगञ्जमा आइरहेको छ। समग्र परिणाम आइसकेपछि समीक्षा गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने हुन्छ।

संघीय निर्वाचनमा यहाँहरुको अहिलेकै तालमेल कायम रहन्छ कि रहँँदैन? 
भर्खरै स्थानीय तह निर्वाचन सकिएको छ। निर्वाचन सकिने बित्तिकै आएको परिणामको जगमा के गर्ने भनेर पहिला दलहरूको आ–आफ्नो प्रकारको बुझाइ र विश्लेषणहरु बन्नुपर्छ। त्यसपछि सबै दलको फरक–फरक बुझाइहरु एक ठाउँमा आइसकेपछि आकार लिन्छ। 

अहिलेलाई भन्दै गर्दा तालमेल हुनुहुन्न भन्दा कांग्रेस दोस्रो दलबाट पहिलो दल भयो भनेर एक्लै जान खोज्यो। खोलो तर्यो, लौरौ बिर्स्यो भन्ने आरोप लाग्न सक्छ। तालमेल भएर जान्छ भनियो भने हामीभित्र तालमेल गर्नुहुन्न भन्ने जवरजस्त बुझाइ र विश्लेषणहरु पनि छन्। 

भावनात्मक टिप्पणी गर्न कसैले हतारिनुहुन्न। पहिला समग्र परिणाम आइसकेपछि शान्त चित्तले परिणामहरुलाई केस्रो–केस्रो केलाउनु पर्दछ। केलाइसकेपछि बल्ल हामी कति तालमेलका कारण परिणाम प्राप्त गर्यौँ, कति तालमेलका कारण गुमायौँ, कसले लाभ लिन सक्यो, कसले लाभ लिन सकेन, यसका पछाडिका कारणहरु के थिए, हामी कहाँ चुक्यौँ, समीक्षा गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .