सर्वाधिक चासो र चर्चाको केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेबाट विद्यासुन्दर शाक्य दोहोरिन चाहन्थे।
पार्टीबाट विभिन्न दाबेदारको चर्चा चलिरहँदा २७ माघमै उनले एमालेले जिम्मेवारी दिएमा आफू दोहोरिन तयार रहेको बताएका थिए।
२ वैशाखमा एमाले नगर कमिटीले शाक्य र केशव स्थापितसहित ४ जनाको नाम उम्मेदवारका रुपमा सिफारिस गर्यो।
जसमा शाक्यबाहेक रामवीर मानन्धर, स्थापित, निर्मल देउला र इन्दिरा पन्त थिए। पार्टी कमिटीबाट सिफारिस भएकामा आफू पनि परेछि शाक्यलाई दोहोरिन टिकट पाउने झिनो आशा थियो।
तर, एमालेले काठमाडौंको टिकट २५ वर्षअघि एक कार्यकाल चलाइसकेका केशव स्थापितलाई दियो। ०७४ को निर्वाचनमा पनि शाक्य र स्थापितबीच टिकटका लागि प्रतिस्पर्धा चलेको थियो।
स्थापितलाई प्रदेशसभा सदस्यमा पठाउने सहमति गराएर त्यतिबेला शाक्यलाई टिकट दिँदै एमालेले व्यवस्थापन गरेको थियो।
काठमाडौंमा आकांक्षीहरुको संख्या बढेपछि यो पटक एमाले अध्यक्ष ओलीले ‘जित्ने उम्मेदवारलाई टिकट दिने’ भन्दै मानक तयार गरेका थिए। जुन मानकमा टेकेर टिकट पाएका स्थापितले उम्मेदवारी दर्ता गर्न राष्ट्रियसभा गृह पुग्दा शाक्य पनि त्यहीँ थिए।
प्रमुख पदको टिकट पाएका स्थापित र विद्यासुन्दरकै सविचालयमा काम गरेर उपप्रमुखको टिकट पाएकी सुनिता डंगोल उम्मेदवारी दर्ता गर्न जाँदा शाक्य त्यहाँ देखिएनन्।
उनी एमालेकै आफूनिकट केही नेताहरुसँग वडाअध्यक्षका उम्मेदवारबारेमा राष्ट्रियसभा गृहको एउटा कुनामा बसेर छलफल गरिरहेका थिए।
२०७४ सालमा शाक्यले उम्मेदवारी पक्का गर्दादेखि चुनावी मैदानमा उत्रिँदासम्म काँध थापेका स्थापितको साथमा उनी वैशाख १२ यता देखिएका छैनन्। स्थापितले चुनावी घर दैलो गरिरहेका छन्। तर एमालेको आन्तरिक कार्यक्रममा पनि शाक्यको उपस्थिति पातलो छ।
...अनि काँधमा बोकेको तस्बिर भाइरल
स्थापितले उम्मेदवारी दर्ता गरेलगत्तै ०७४ सालको निर्वाचनमा खिचिएको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो। जुन तस्बिरमा शाक्यलाई स्थापितले काँधमा बोकेका थिए।
यो पटक २०७४ स्थापितले झैँ शाक्यले काँध थाप्ने पालो थियो। तर उनी स्थानीय तह निर्वाचनको चहलपहलसँगै ओझेलमा परेका छन्।
मेयर पदमा बहाल नै रहिरहेकाले पनि उनलाई स्थापितको पक्षमा प्रचार प्रसारमा लाग्न नमिलेको हो। तर एमालेकै आन्तरिक कार्यक्रमको मञ्चमा पनि शाक्य देखिएका छैनन्।
सुरुदेखि नै आफ्नो कार्यकाल कयौँ आलोचना र विवादबीच बिताएका शाक्यलाई बोकेको तस्बिरलाई स्थापित आफैंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। यति मात्रै होइन,
शाक्यको कार्यकाल सफल बनाउन स्थापित आफैंले त्यसबेला १०१ प्रतिवद्धता लेखेका थिए। जसमा अहिले पनि अधिकांश अलपत्र छन्।
आफूले काँधमा बोकेका शाक्यबारे टिप्पणी गर्दै स्थापितले १० भदौ ०७७ मा काम गर्न नसकेको भन्दै आलोचनात्मक टिप्पणीसहित सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेका थिए।
स्थापितले काँध थापेका थिए
शाक्यलाई २०७४ मा आफैंले काँधमा बोकेर जिताएको सार्वजनिक अभिव्यक्ति स्थापितले दिइसकेका छन्। स्थापितले ऊ बेलै आफूले काँध थापेर जिताएका शाक्यको मूल्यांकन गर्दै १०० मा शून्य मत दिने बताएका थिए।
‘विद्यासुन्दर शाक्यलाई मैले काँधमा बोकेर जिताएको हो। १०१ योजना मैले नै ल्याएको हो’, उनले उतिबेलै भनेका थिए, ‘मैले दिएको १०१ काम गरे भने मेयर भए। मेयर असफल भए भने निर्मम भएर भन्ने हो।’
आफ्नै दलबाट निर्वाचित शाक्यलाई स्थापितले शून्य नम्बर दिनु र स्थापितको चुनावी कार्यक्रमलाई शाक्यले बेवास्ता गर्नुले उनीहरुबीचको सम्बन्ध राम्रो नभएको स्पष्ट संकेत गरेको छ।
तर नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटी अध्यक्ष निर्मल देउलाले स्थापित र शाक्यबीच कुनै विवाद नरहेको बताउँछन्।
‘दुईजनाबीच कुनै विवाद छैन। उहाँ (मेयर शाक्य) अहिले पार्टीको आन्तरिक काममै हुनुहुन्छ’, उनले नेपालखबरसँग भने, ‘अहिले पनि उहाँ मेयर पदमा बहाल रहेकाले स्थापितसँगै राजनीति कार्यक्रममा नदेखिनु भएको हो।’
देउलाले शाक्य एमाले नेताका रुपमा स्थापितलाई जिताउन प्रतिवद्ध रहेको बताए। ‘सार्वजनिक पदमा बहाल रहेकाले उहाँ एमालेको कार्यक्रमा नदेखिनुभएको सत्य हो’, उनले भने, ‘पार्टीका सबै आन्तरिक तयारी, रणनीति निर्माण र छलफलमा उहाँको सक्रिय सहभागिता छ। ब्यानरमै देखिन उहाँका लागि निर्वाचन आचारसंहिताले पनि रोकेको छ। विवाद रहेको कुरामा कुनै सत्यता छैन।’
स्थापित अहिले धमाधम चुनावी घरदैलो अभियानमा निस्किएका छन्। निर्वाचन आउन १२ दिन बाँकी रहँदा शाक्यले सार्वजनिक रुपमा नदेखिए पनि प्रमुख र उप्रमुख दुवै पदका उम्मेदवारलाई सघाइरहेको एमाले नेताहरु बताउँछन्।
शाक्यको दोहोरिन चाहने योजनामा थिए। स्थापितले ‘ओभर टेक’ गरेपछि उनी राजनीतिक गतिविधिबाट ओझेलमा छन्। स्थापितका चुनावी सभाहरुको सबैजसो भीडमा बरु डा. अजयक्रान्ति शाक्य देखिएका छन्। अजयक्रान्ति पनि २०७४ मा विद्यासुन्दरलाई जिताउने अभियानका एक सदस्य थिए।
प्रतिक्रिया