नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुराका निवर्तमान सभापति कर्ण मल्लले सभापति शेरबहादुर देउवासँग आफूहरुलाई अभिभाकत्व दिन आग्रह गरेका छन्।
देउवाको गृहजिल्ला डडेल्धुरास्थित शक्तिपीठ उग्रतारा मन्दिरबाट सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै उनले आफूहरुलाई अभिभाकत्व दिन पनि आग्रह गरेका छन्।
‘अधिवेशनमा बाहिर राखेका साथीभाइहरु प्रति समभाव, समप्रेम राखिकन सबैले निर्वाचनमा जानका लागि अभिभावकत्व दिनुहुन पवित्र भूमिबाट अनुरोध गर्न चाहन्छु,’ मल्लले भनेका छन्।
देउवालाई संकट : गृहजिल्लाका सबै पालिकामा गठबन्धनविरुद्ध कांग्रेसबाटै ‘बागी’
पाँच पटक प्रधानमन्त्री बन्ने गरी राजनीतिक सफलताको शिखरमा पुग्ने आधारशीला तयार गर्ने स्तम्भका रुपमा रहेका कार्यकर्ताहरुलाई पीडाबाट मुक्ति दिन सभापति देउवाले सबैलाई अभिभाकत्व दिनुपर्ने उनको भनाइ छ।
उनले डडेल्धुरामा सम्पन्न पार्टीको सातौँ जिल्ला अधिवेशनमा भाग लिन नपाएका नेता-कार्यकर्ताहरु पीडामा छट्पटाइरहेका पनि बताएका छन्।
‘अधिवेशनमा भाग नलिने जुन प्रपञ्च गर्नुभयो, जुन षड्यन्त्र गरियो, तपाईंलाई आदर्श मानेर हिँडेका कार्यकर्ताहरु पीडामा छटपटाइरहेका छन्,’ मल्लले भनेका छन्।
सुदूरपश्चिम प्रदेशसभा समिति सदस्यसमेत रहेका मल्लले सभापति देउवालाई पार्टीमा प्रचण्ड, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई चित्रबहादुर केसी अटाउँदै गर्दा आफूहरुलाई नअटाइएको गुनासो पनि गरेका छन्।
‘गठबन्धनका नाममा आज प्रचण्ड नेतृत्वको माओवादी तपाईंको सहृदयभित्र अटाउने, माधव नेपालको एकीकृत समाजवादी तपाईंको हृदयभित्र अटाउने, मधेसवादी दल, बाबुराम भट्टराई हुँदै चित्रबहादुर केसी तपाईंको हृदयभित्र अटाउँदै गर्दा तपाईंलाई मुलुकको पाँचौ पटक प्रधानमन्त्री बनाउन ६–६ पटक डडेल्धुराको भूमिबाट रुखमा मत माग्ने, तपाईंलाई जिताउने, तपाईंलाई आफ्नो अभिभावक मान्ने कार्यकर्ता नअटाउँदै गर्दा महाधिवेशनमा जुन प्रपञ्चसाथ हामीलाई बाहिर रखाउनुभयो। त्योभन्दा ठूलो पीडाबाट आज हरेक कांग्रेसका कार्यकर्ता प्रताडित भएका छन्।’
भिडिओ
Shares
प्रतिक्रिया