राजनीति


सरकार छाड्ने निर्णयका लागि अध्यक्ष यादवलाई कुर्दै समाजवादी

सरकार छाड्ने निर्णयका लागि अध्यक्ष यादवलाई कुर्दै समाजवादी

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार १३:१७,

बुधबार भएको मन्त्रिपरिषदको पुनर्गठन पक्षपातपूर्ण भएको भन्दै सरकारमा रहने वा छाड्ने भन्ने निर्णय गर्नका लागि समाजवादी पार्टीले शनिबार पार्टीको पदाधिकारी बैठक बोलाउने भएको छ।

 कात्तिक २८ गते बसेको संघीय परिषद् बैठक र २९ र ३० गते बसेको केन्द्रीय समितिको बैठकबाट तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको समाजवादी पार्टीले केपी शर्मा ओलीले मन्त्रिमण्डलको पुनर्गठन गर्दा अपमानजनक व्यवहार गरेपछि पार्टीको पदाधिकारी बैठक बोलाउन लागेको हो।

केन्द्रीय अध्यक्ष उपेन्द्र यादव भारतमा रहेको र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई गोरखामा रहेका कारण शनिबार बैठक बोलाइने तयारी भएको उपाध्यक्ष नवराज सुवेदीले जानकारी दिए।

अध्यक्ष यादव ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए। तर, मन्त्रिमण्डल पुनर्गठन गर्दा उनको मन्त्रालय हेरफेर गरेर कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालय दिइएको छ।अध्यक्ष यादव देशबाहिर भएको बेला प्रधानमन्त्रीले गरेको निर्णय तानाशाही हिटलर प्रवृत्ति भएको समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले प्रतिक्रिया जनाइन। ‘अध्यक्ष उपेन्द्र भोलि नेपाल आइपुगेपछि यसबारेमा गम्भीर निर्णय लिनेछ’, नेपालखबरसँग यादवले भनिन, ‘अब पनि सरकारमा बस्नुको औचित्य र आवश्यकता छैन।’

ओली नेतृत्वको सरकारमा दुई मन्त्रीसहित एक राज्यमन्त्रालय रहेको थियो। तर, बुधबार प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल हेरफेर गर्दा उपेन्द्र यादवको मन्त्रालय परिवर्तन गर्नुको साथै स्वास्थ्य राज्यमन्त्री रहेका डा.सुरेन्द्र यादवको जिम्मेवारी खोसिदिएका छन्।

यस्तै शहरी विकास मन्त्री मोहमद इस्तियाक राईको मन्त्रालयमा राज्यमन्त्री पठाइएपछि बिहीबार काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीको अनौपचारिक बैठक बसेको थियो। ‘मन्त्री फेर्न पाउने अधिकार प्रधानमन्त्रीलाई भए पनि सरकारमा सहभागी अर्को सत्तासाझेदार पार्टीसँग सल्लाह र सहमतिबिना भएको निर्णयलाई सकारात्मक रुपमा लिन सकिँदैन, यो लोकतान्त्रिक मूल्य मान्यताविपरीत छ, संघीय परिषद अध्यक्ष र केन्द्रीय समिति अध्यक्ष काठमाडौंमा आएपछि यसबारे पार्टीको औपचारिक निर्णय गर्नेछ’, बैठकको निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad