सत्तारुढ नेकपाका अध्यक्षले पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालका सबै घटनामा आममाफी दिन नहुने बताएका छन्।
बृहत शान्ति सम्झौताको १३ औँ वर्षगाँठका अवसरमा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले द्वन्द्वकालीन घटनाको चाँडोभन्दा चाँडो निरुपण गर्नुपर्ने बताए।
शान्ति सम्झौताका हस्ताक्षरकर्तामध्ये एक प्रचण्डले भने, ‘कुनै भ्रम नरहोस्, हामीले ब्ल्यांकेट एमनेस्टीको कुरा गरेका छैनौं । गम्भीर अपराधलाई कारबाहीमा लैजानुपर्छ र मात्र शान्ति प्रक्रियालाई परिपक्व ढंगले पूरा गर्न सकिन्छ।’
उनले द्वन्द्वपीडितको आक्रोशलाई आफूले स्वभाविक रुपमा लिएको पनि बताए।
द्वन्द्वपीडितहरुको भनाइ सुनेपछि आफू यससम्बन्धी सम्पूर्ण काम टुंग्याउन तातेको उनको भनाइ थियो। ‘मानवअधिकार आयोगले अस्ति पनि मलाई तताएको थियो,’ उनले भने, ‘तपाईंहरुको कुरा सुनेपछि त म पोल्नेगरी तात्तिएको छु। अब यसलाई टुंग्याइदिऊँ।’
त्यसअघि बोल्दै नेता माधवकुमार नेपालले द्वन्द्वकालीन मुद्दा टुंग्याउन ‘बिँड होइन, ताप्के नै तात्नुपर्ने’ बताएका थिए
नेकपाको कार्यकारी अध्यक्ष बनेपछि पहिलो पटक सार्वजनिक मन्तव्य दिँदै प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगमा पुराना पदाधिकारीलाई दोहोर्याउने पक्षमा आफू नरहेको पनि बताए।

प्रतिक्रिया