राजनीति


गठबन्धनको भागबण्डामा एकीकृत समाजवादीले स्थानीय तह पाउने आधार के?

गठबन्धनको भागबण्डामा एकीकृत समाजवादीले स्थानीय तह पाउने आधार के?

सागर न्यौपाने
चैत १८, २०७८ शुक्रबार २०:१४, काठमाडौँ

बिहीबार बसेको पाँच दलीय सत्ता गठबन्धनले गरेको एउटा निर्णय थियो– गठबन्धनमा रहेका दलहरुले स्थानीय तह निर्वाचनको तालमेलबारे निर्णय गर्न केन्द्र, जिल्ला र पालिकास्तरको संयन्त्र बनाउने। 

अन्य दलले अघिल्लो पटक निर्वाचनमा भाग लिएकाले कुन पालिकामा कुन दलको मत कति छ भन्ने रुपरेखा देखिन्छ। तर, एमालेबाट फुटेको एकीकृत समाजवादीले वैशाख ३० गते हुने निर्वाचनमा पहिलो पटक भाग लिँदैछ। त्यसैले एकीकृत समाजवादी पार्टीको स्थानीय तहमा अहिले रहेको जनमत खोज्न संयन्त्र बनाइएको हो।

एकीकृत समाजवादीले नेकपा एमालेले जितेको ठाउँमा दाबी पेस गरेको छ। तर, कांग्रेस र माओवादी केन्द्रले विश्वास नगरेको सो पार्टीको गुनासो छ।

‘आफ्नो पार्टीको बलियो पक्ष देखाउन मात्र चुनावमा लड्न लागेका होइनौँ,’ नेकपा एकीकृतका एक पदाधिकारीले नेपालखबरसँग भने, ‘सिंगो एमालेको प्रतिनिधित्व हामी गर्छौँ, एमालेबाट टुक्र्याएको प्रशस्तै शक्ति छ हामीसँग, उहाँहरुले विश्वास गर्नुपर्यो।’

‘एमालेले जितेका ठाउँ हामीलाई चाहियो, जित्ने आधार पेस गर्छौँ,’ उनले थपे, ‘एमालेले जितेका सबै माग्दा दिँदैनन्। हामी पनि जित्ने ठाउँमा मात्र दाबी गर्छौँ।’

समाजवादीले राष्ट्रिय सभाको निर्वाचनको मोडलअनुसार स्थानीय तह भागबण्डा गर्नुपर्ने प्रस्ताव पठाएको छ।

‘राष्ट्रिय सभामा हामीले एमालेले जितेको स्थान भागबण्डा गरेर विजयी भएका थियौँ, स्थानीय तहमा पनि त्यही गरौँ भन्ने प्रस्ताव छ,’ ती नेताले भने, ‘देशव्यापी शक्ति हेर्ने, टाउको गन्ने काम गरिरहेका छौँ।’

एकीकृत समाजवादीले देशभरको तथ्यांक लिइरहेको छ।

‘केही वडा हामी एक्लै जित्न सक्छौँ, यही हो हामीले पेस गर्ने बलियो आधार,’ ती नेताले थपे। 

तर, महासचिव बेदुराम भुसाल भने पहिले जितेको स्थानमा अहिले त्यही दलको वर्चस्व रहने दाबीलाई विश्वास गर्न नसक्ने बताउँछन्।

‘खासमा आफूले जितेको स्थान बलियो हुन्छ भन्ने होइन, खस्किएको पनि हुनसक्छ,’ भुसालले भने।

नेपाली कांग्रेस र माओवादी केन्द्र र जसपाले २०७४ मा भएको स्थानीय तहको चुनाव जितेका पालिकामा दाबी गरिरहेका छन्। त्यही भएर एकीकृत समाजवादीको पनि जनमत पत्ता लगाउन पालिकासम्म संयन्त्र बनाउने गठबन्धनको बिहीबारको बैठकले निर्णय लिएको हो।

संयन्त्रले जिल्ला र पालिकास्तरमा बैठक राखेर पाँचै वटा पार्टीका पालिकादेखि जिल्लासम्मका बलियो र पकड रहेका क्षेत्र÷स्थानदेखि कमजोर अवस्था समेत समेटेर ५ दिनभित्र केन्द्रमा रिपोर्ट बुझाउने समय पाएको छ।

त्यही रिपोर्टपछि ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडैसम्म भागबण्डा विधि तय गर्ने एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भूसालले जानकारी दिए।

स्थानीय तह भागबण्डा गर्न पहिला सबै पालिकासम्म संयन्त्रको बैठक राख्न लागेको भुसालले बताए।

शुक्रबार जिल्लामा र शनिबार पालिकास्तरमा गठबन्धनमा सामेल दलको बैठक बोलाइएको छ। पाँचै दलले सर्कुलर नै पठाएका छन्। 

यसकारण पठाइयो सर्कुलर 
२०७४ मा भएको निर्वाचनमा दलहरुले पाएको मत, जितेका स्थान, बलियो ठाउँ र एमालेको अवस्थालगायत विषय समेटेर चैत २२ गतेभित्र केन्द्रमा रिपोर्ट पठाउन भनिएको छ।

यसमा मुख्य जोड एमालेबाट विभाजन भएको एकीकृत समाजवादीको अवस्था पत्ता लगाउनमा छ। त्यही तथ्यका आधारमा भागवण्डाबारे मोडालिटी तयार पार्ने तयारी छ।

धेरै जनप्रतिनिधि नभएपछि एकीकृत समाजवादी कुन तहमा बलियो छ भन्ने गठबन्धनले भेउ पाएन। देशभरको अवस्था पत्ता नलागी स्थानीय तह भागबण्डा गर्दा अन्याय हुने देखिएपछि पहिला संयन्त्र बनाउने, रिपोर्टिङ लिने अनि मात्र केन्द्रमा छलफल गर्ने समझदारी बनेको भुसालले बताए।

तर, सबै स्थानीय तहको भागबण्डा यसकै आधारमा मात्र हनहुने उनले बताए। 

‘सबै पालिकासम्म पाँचै पार्टीको उपस्थिति नहुन पनि सक्छ,’ भुसालले भने, ‘३ पार्टी सबै तहमा छन्, तर राष्ट्रिय जनमोर्चा, जसपा सबै तहमा  नहुन सक्छन्, संयन्त्रले पालिका तहसम्म छलफल गर्छ र त्यहाँ रहेका दलहरुको अवस्था थाहा दिन्छ।’

‘सबै वडासम्मै प्रभाव रहेको पार्टीलाई त्यही अनुसार भागबण्डा गर्न संयन्त्रले सिफारिस गर्छ। सबै ठाउँमा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय हो, वडासम्मै तालमेल हुन्छ, वडासदस्य समेत हामीले जिताएर पठाउनुपर्छ, सबै ठाउँमा गठबन्धन बनाउनुपर्ने आवश्यकता छ,’ भुसालले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad