राजनीति


यी हुन् एकीकृत समाजवादीका सातै प्रदेशका चुनावी कमान्डर

यी हुन् एकीकृत समाजवादीका सातै प्रदेशका चुनावी कमान्डर

सागर न्यौपाने
चैत १५, २०७८ मंगलबार २०:१२, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तहको निर्वाचन अभियान हाँक्न सात प्रदेशमा कमान्डर तोकेको छ। पार्टीको पदाधिकारी रहेका ती नेताहरुलाई प्रशिक्षण दिने, चुनावी रणनीति र योजना बनाउनेदेखि निर्वाचनमा भइरहेका गतिविधि अनुगमन गर्ने जिम्मा दिइएको छ।

वैशाख ३० गते हुने निर्वाचनमा उपाध्यक्ष प्रमेश हमाललाई प्रदेश १, उपाध्यक्ष जयन्ती राईलाई गण्डकी, महासचिव बेदुराम भुसाललाई कर्णाली र सुदूुरपश्चिम, उपमहासचिव जगन्नाथ खतिवडालाई मधेश प्रदेश, उपमहासचिव विजय पौडेललाई लुम्बिनी प्रदेश र सचिव गंगालाल तुलाधरलाई बागमती प्रदेशको जिम्मा दिइएको छ।

यी कमान्डरहरुले सातै प्रदेशमा पुगेर पहिलो चरणको चुनावको गतिविधि बुझ्ने, प्रशिक्षण र भेला गर्ने काम सम्पन्न गरिसकेका छन्। केही प्रदेशमा फेरि जाने कार्यक्रम बनाइएको महासचिव भुसालले जानकारी दिए। 

‘हाम्रो पार्टीले १५ दिनको निर्वाचन तयारी सकेको छ,’ भुसालले नेपालखबरसँग भने, ‘यो बीचमा जनपरिचालनका काम भएका छन्, जिल्ला निर्वाचन, क्षेत्र पालिकामा पुगेर वस्तुस्थितिको अध्ययन र विश्लेषण गरिएको छ।’

प्रदेशका कमान्डरहरुले स्थानीय चुनावमा खटिएका जिल्ला, पालिका तहका नेताहरुको गतिविधि अनुगमन पनि गरिरहेका छन्। स्थानीय तहको निर्वाचन घोषणालगत्तै एकीकृत समाजवादीले जिल्ला तह, पालिका तहमा कमिटी गठन गरेर अभियान सुरु गरेको थियो। नबनेका स्थानमा अहिले पनि कमिटी गठन प्रक्रिया भइरहेको छ।

एकीकृत समाजवादीले ७७ वटै जिल्लामा कमिटी गठन गरिसकेको छ। आफ्नो प्रभाव रहेको क्षेत्रमा पालिकासम्म संगठन विस्तार गरिएको भुसालले दाबी गरे।

‘हाम्रो पार्टीको अहिलेको चुनावी अभियान यही २५ गतेसम्म रहन्छ, त्यसपछि हामी देशभरको रिपोर्ट लिन्छौँ र चुनावी अवस्थाको समीक्षा गछौँ,’ भुसालले थपे।

उम्मेदवार छनोट, चुनावका लागि आर्थिक संकलन, प्रचारप्रसार काम पनि यिनै कमान्डरले दिएको रिपोर्टका आधारमा हुनेछ। चुनावी भेलाहरुलाई पनि यिनै नेताहरुले सम्बोधन गर्नेछन्। ६ महानगर र ११ उपमहानगरपालिकामा भने ठूला कार्यक्रम राख्ने तयारी छ।

‘हामी ६ महानगर र ११ उपमहानगरपालिकामा ठूला चुनावी कार्यक्रम राख्छौँ, भुसालले भने, ‘स्थानीय चुनावमा ठूला नेताको भाषणको भन्दा स्थानीय नेताको प्रभाव बढी हुन्छ,’ महासचिव भुसालले थपे, ‘आवश्यक परेको ठाउँमा अध्यक्षसहितका नेताहरु जान्छौँ।’

‘जनताकोमा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ नारासहित पार्टी घरदैलो अभियानमा रहेको उनले बताए।

साउन ९ गते एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादी पार्टीले केन्द्रीय तहबाट चुनावी प्रचार अभियान पनि जारी राखेको छ। विभिन्न जनवर्गीय संगठनको भेला राखेर चुनावमा खटाउने काम भइरहेको नेताहरु बताउँछन्।

पहिलो पटक चुनावमा भाग लिन लागेको सो पार्टीले देशभरको आफ्नो अवस्था बलियो बनाउने प्रयास गरिरहेको छ।

स्थानीय तहको निर्वाचनको लागि अहिले घोषणापत्र बनाउने काम भइरहेको छ। घोषणापत्रमा नयाँ पार्टी गठन गर्नुको कारण, स्थानीय तह, गणतन्त्रमा लिएको अडानलगायत विषय समावेश गरिने भुसाल बताउँछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad