प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै पठाएको नयाँ मन्त्रीको सूची बुधबार साँझ राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको छ।
नयाँ मन्त्रीहरूलाई भोलि राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नयाँ मन्त्रीहरूको सूची राष्ट्रपति कार्यालय पठाइएको र भोली ११ बजे आसपास सपथ गराउने तयारी रहेको बताए।
प्रधानमन्त्री ओलीले आठ जना मन्त्रीलाई जिम्मेवारीबाट हटाएर आठ मन्त्री नियुक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले मन्त्रीहरू रघुवीर महासेठ, लालबाबु पण्डित, थममाया थापा, चक्रपाणि खनाल, मातृका यादव र गोकर्ण विष्टलाई मन्त्रीबाट हटाइएका छन्।
ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, कृषिमन्त्री घनश्याम भुसाल, उद्योगमन्त्री लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई नियुक्त गरेका छन्।
त्यस्तै मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामबीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री र नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन्।
स्वास्थ्यमन्त्री उपेन्द्र यादवको जिम्मेवारी परिवर्तन गरी कानूनमन्त्री बनाइएको छ भने कानूनमन्त्री रहेका भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्री बनाइएको छ।
प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बास्कोटा र पर्यटनमन्त्री योगेश भट्टराई, अर्थमन्त्री युवराज खतिवडाको जिम्मेवारी यथावत राखेका छन्।


Shares

प्रतिक्रिया