राजनीति


जो मसला बेच्दै व्यवसायमा उदाए र मन्त्री बने

जो मसला बेच्दै व्यवसायमा उदाए र मन्त्री बने

दीपक भट्ट
मंसिर ४, २०७६ बुधबार १८:३२,

मन्त्रीपरिषद हेरफेर गर्ने चर्चा चलेको झण्डै दुई महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्री नियुक्त गरेका छन्। र, केही त चर्चामै नआएका नायाँ नाम मन्त्री भएका छन्।

यस बीचमा मन्त्रीबाट हटाइन लागेका र मन्त्रीपरिषदमा थपिने संभावित नामबारे मिडियामा धेरै चर्चा भयो, सयौं पटक संभावित नामहरू प्रकाशित भए तर एक जनाको नाम सायद कसैले सोचेको पनि थिएन, जो बुधबार राज्यमन्त्री नियुक्त भए।

व्यवसायी मोतीलाल दुगड पनि नयाँ मन्त्रीको सूचीमा रहेको बुधबार साँझ ५ः५० बजेको नेपालखबरको रिपोर्टमा आएको थियो।

नभन्दै साँझ अबेर राष्ट्रपति कार्यालयले जारी गरेको मन्त्रीपरिषदको नयाँ सूचीमा उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्रीका रुपमा मोतीलाल दुगडको नाम देखियो।

त्यसो त मन्त्रीपरिषदमा आएका केही नयाँ नामहरू यसअघि कमै चर्चा भएका वा नभएका पनि छन्। तर प्रधानमन्त्रीले नियुक्त गरेपछि मात्र मिडियाले पनि मन्त्री भएको चाल पाएपछि चर्चा सुरु भैहाल्यो आखिर को हुन् त दुगड?

खासगरी उद्योगी व्यवसायीबीच दुगडको नाम दुई वटा कारणले गर्दा बढी चर्चामा छ– एक, उनी उद्योगीसँग सम्बन्धित उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्री बनेका कारण र दुई, उनी माडवारी समुदायबाट मन्त्री बनेका कारण पनि।

विराटनगरका ५४ वर्षीय मोतीलाल दुगड सेञ्चुरी मसला उद्योगका सञ्चालक हुन्, जसको सफलताले उनलाई उद्योगीका रुपमा स्थापित गर्यो। अब भने उनले होटलमा पनि लगानी गरेका छन्। विराटनगरमा रहेको चार तारे ह्यारिसन होटल सेञ्चुरी मसलापछि अहिले दुगडको अर्को ठूलो व्यवसाय हो। पूर्वको एउटा चर्चित होटलका रुपमा ह्यारिसन आएको छ।

सेन्चूरियन समूहकै नाममा दुगडले आफ्नो व्यवसाय विस्तार गरिरहेका छन्, जुन समूहले ट्राभल कम्पनीहरु र सपिङ मल पनि चलाउँछ।

विराटनगरको आफ्नो होटलमा राजनीतिक भेटघाटहरू गराउने क्रममा उच्च नेताहरूसँग निकटता बढाएका दुगड पूर्व एमालेको कोटाबाट समानुपातिक सांसद बनेका हुन्। प्रधानमन्त्री ओलीले नै पहिलो पटक प्रधानमन्त्री हुँदा दुगडको ह्यारिसन होटलको उद्घाटन गरेका थिए।

अहिले पनि पूर्व जाँदा नेकपाका उच्च नेताहरू पायक परेसम्म दुगडको यही होटलमा बसोबास गर्छन्।

छोटो समयमा व्यवसायमा प्रगति गरेका र आयस्रोत बढाएका दुगडलाई उनका प्रतिस्पर्धी व्यवसायीले भने त्यत्ति सहज रुपमा लिँदैनन्।

व्यवसायी भएपनि दुगडको पृष्ठभूमी राजनीतिक नै हो। कुनै समय उनी नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) का नेता थिए। जुन पार्टीबाट उनी पहिलो संविधान सभाको सभाषद पनि बने।

तर पार्टीको नेताहरु श्यामसुन्दर गुप्ता र सरिता गिरिसँग मनमुटाव भएपछि दुगडले ‘नवनेपाल निर्माण पार्टी’ स्थापना गरे। तर त्यो पार्टीबाट पनि राजनीतिक करिअर नबन्ने भएपछि सायद उनी नेकपातिर ढल्किए र कालान्तरमा अहिले मन्त्री भए।

सांसद दुगडले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्रीको सपथ लिनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad