उपनिर्वाचनमा तालमेल गर्दै पार्टी एकता गर्ने तयारीमा रहेका सत्तारूढ समाजवादी पार्टी र मधेसकेन्द्रित राजनीति गरिरहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीचको पार्टी एकता फेरि धकेलिएको छ।
एकताको लागि केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिनुपर्ने अडानमा अडिग राजपाको मागमा सत्तारुढ समाजवादी सहमत नभएपछी एकता प्रकृया रोकिएको हो।
काठमाडौंमा बसेको समाजवादीको संघीय परिषद् र केन्द्रीय समिति बैठकबाट राजपासँगको एकताबारे ठोस निर्णय हुने अपेक्षा गरिए पनि त्यस्तो निर्णय नभएपछि एकता फेरि धकेलिएको हो।
समाजवादीका एक नेताले भने, ‘मङ्सिर १४ गते हुने उपनिर्वाचन अघि एकता नहुने भो।’
उनका अनुसार एकता पनि लम्बियो र सरकार छोड्ने निर्णय पनि लम्बिएको छ। तर उपनिर्वाचनपछि पनि एकता प्रक्रिया फेरि सुरु हुने निर्णय भने भएको छ।
त्यसका लागि पदाधिकारी सम्मिलित कार्यकारिणी समितिको बैठक बसेर आवश्यक निर्णय लिनेछ।
यसअघि चुनावी तालमेल गर्दै पार्टी एकता गर्ने योजना बनाएका दुबै दल समाजवादी पार्टीको निर्णायक भनिएको संघीय परिषद् र केन्द्रीय समितीको बैठकको निर्णयको पर्खाइमा थिए।
प्रदेश नम्बर दुईमा चुनावी तालमेल गरेर एकताको ढोका खोल्ने बताइए पनि त्यसाे हुन नसकेपछि राजपाले असन्तुष्टि जनाएको छ।
राजपाका महासचिव केशब झाले महत्वपूर्ण बैठकबाट निर्णय नगरेकोमा अनौठो लागेको बताए। तर अझै वार्ता गरेर एकता टुंगो लगाउन सकिने उनको विश्वास छ।
‘उहाँहरुले चाहनु भयो भने उपनिर्वाचन अगाडि पनि एकता हुनसक्छ। एकताको लागि उहाँहरुले गठन गर्नुभएको एकता कार्यदल छ, त्यसैबाट कुरा अघि बढ्न सक्छ तर चाहनु पर्याे,’ झाले नेपालखबरसंग भने।
समाजवादीले एकता र चुनावी तालमेलका लागि उपाध्यक्षहरु लालबाबु राउत, कुमारी यादब, रामसहाय प्रसाद यादब, बिजय यादब रहेको कार्यदल बनाएको थियो। सोही कार्यदललाई एकता र चुनावी तालमेल गर्ने जिम्मा दिइएको थियो।
कात्तिक २८ देखि तीन दिन बसेको समाजवादीको संघीय परिषद् र केन्द्रीय समिती बैठकबाट एकताको बारेमा कुनै निर्णय नगर्दा अन्योलता बढेको अन्य केही नेताहरूले प्रतिक्रिया दिए।
एकता पछिको नेतृत्व चयनका विषयमा हिमाल, पहाड र तराईको क्लष्टर मिलाएर चयन गर्ने, संरक्षक राखेर दुई अध्यक्ष राख्ने लगायतका मोडेलमा छलफल भइसकेको दुबै पार्टीका नेताहरुले बताएका थिए।

प्रतिक्रिया