राजनीति


चीनले भन्यो : एमसीसी स्वीकार्न अमेरिकाले नेपालमाथि ‘बाध्यकारी कूूटनीति’ सुरु गर्‍याे

चीनले भन्यो : एमसीसी स्वीकार्न अमेरिकाले नेपालमाथि ‘बाध्यकारी कूूटनीति’ सुरु गर्‍याे

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वन पिन। तस्बिर : चिनियाँ विदेश मन्त्रालय


नेपालखबर
फागुन ६ , काठमाडौँ

उत्तरी छिमेकी चीनले विकास सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्वीकार्न बाध्य बनाउन अमेरिकाले नेपालमाथि धम्की कुटनीति सुरु गरेको आरोप लगाएको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वन पिनले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अमेरिकाले नेपालमाथि 'धम्की कूटनीति' शुरू गरेको बताएका हुन्। 

प्रवक्ता वाङले नेपालबारे अमेरिकाको यो कदमको चीनले प्रतिरोध गर्ने पनि चेतावनी नियमित पत्रकार सम्मेलनमा दिएका छन्। 

अमेरिकी सहायक बिदेश मन्त्री डोनाल्ड लुले नेपालले फेब्रुअरी २८ तारिख (फागुन १६ गते) सम्म मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई अनुमोदन गरिसक्न भन्दै यदि पारित नगरिए यसबाट नेपालसँगको सम्बन्ध प्रभावित हुने भएको कुरा बताएका थिए। 

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन १६ गतेसम्म कुनै हालतमा एमसीसी पास गर्नैपर्ने अडान लिएपछि नेपालका सत्तारुढ पाँच दलीय गठबन्धन भाँडिने अवस्थामा पुगेको छ। 

एमसीसीलाई लिएर नेपालमा दैनिकजसो विरोध र आन्दोलनका कार्यक्रम बढ्दै गइरहेको पृष्ठभूमिमा अमेरिकाले धम्कीको कुटनीति प्रयोग गरेको भन्दै चीनले त्यसको प्रतिरोध गर्ने जनाएको हो। 

प्रवक्ता वाङले नेपालसँग मैत्रीपूर्ण र निकट सम्बन्ध रहेको बताउँदै विकासमा पनि साझेदारी गरिरहेको जनाएका छन्।

उनले नेपाली जनतालाई आफ्नो स्वतन्त्र विकासको बाटो छान्न समर्थन दिइरहेको बताउँदै नेपालले कसैको दबाबमा नपरी राष्ट्र र जनताको हितका लागि सही निर्णय लिने कुरामा चीनले सधैँ समर्थन दिने उल्लेख गरेका छन्। 

यसअघि अमेरिकाले एमसीसी परियोजना अनुमोदनमा ढिलाईका पछाडि उत्तरी चीनको भूमिका रहेको आरोप यसअघि नै लगाएको थियो।

शुक्रबार मात्रै नेपालमा एमसीसीविरुद्ध बढिरहेको प्रदर्शनलाई लिएर अमेरिकी राजदूत र्यान्डी बेरीले कुनै पनि हिंसात्मक गतिविधि स्वीकार्य नहुने बताएका छन्। 

उनले एमसीसीबारे अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक भएको बताउँदै त्यो लोकतन्त्रमा अन्तर्निहित अधिकार हो भनेका छन्। 

तर राजदूत बेरीले एमसीसीको विरोधका नाममा हुने हिंसात्मक गतिविधि कदापि स्वीकार्य नहुने जनाएका छन्। 

'हामी एमसीसीसहितका विषयमा वास्तविकतामा आधारित स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक हौँ', उनले भनेका छन्, 'आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रमा अन्तर्निहित कुरा हो। मानिसहरूलाई शान्तिपूर्वक आफ्ना विचारहरू आदानप्रदान गर्न अनुमति दिनुपर्छ। तर हिंसा र हिंसालाई उक्साउने कुरा कदापि स्वीकार्य छैन।'

फागुन ६, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .