नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि बागलुङले पार्टीका दुई नेतामाथि कारबाही गरेको छ। पार्टीको नीति विपरित गतिविधि गरेको भन्दै नेताद्वय ढोरपाटन नगरपालिका–१ का तुल्सी अर्याल र ढोरपाटन नगरपालिका–२ का दधिराम अर्याललाई कारबाही गरिएकाे हाे।
नेकपाले जिल्ला सदस्य तुल्सी अर्याललाई पार्टी सदस्यताबाट अनिश्चतकालिन निष्काशन गर्नुका साथै दधिरामलाई पार्टी सदस्य समेत नरहने गरि निश्कासन गरेको छ ।
नेकपा बागलुङको शुक्रबार बसेको जिल्ला समितिको बैठकले आगामी मंसिर १४ गते हुन गईरहेको उप निर्वाचनको सन्दर्भमा गलत हर्कत गरेको भन्दै उनीहरुलाई कारवाही गर्ने निर्णय गरेको जनाएकाे छ।
अध्यक्ष इन्द्रलाल सापकोटाले निकालेको विज्ञप्तिमा उप निर्वाचनमा शेरमान घर्तीको स्वतन्त्र उम्मेदवारी कायम गर्न गरिएका हर्कतहरु, उम्मेदवारी फिर्ता लिने समय टार्नको लागि गरिएका अनुचित गतिविधि र शेरमान घर्तीले पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता लिएको सन्दर्भमा उनले पाएको चुनाव चिन्हलाई दुरुपयोग गरी पार्टीलाई नै असफल गराउन गरिएको गतिविधि पार्टी नीति विपरित भएको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा ‘पार्टीको अन्तरिम विधान २०७५ को धारा ५६ (क) को (८) बमोजिम गतिविधि भएको ठहर गर्दै कारबाही गरिएकाे जनाइएकाे छ।
उप निर्वाचनमा आफ्नो पार्टीको समर्थनमा उम्मेदवार बनेका वाम उम्मेदवार खिम विक्रम शाहीलाई विजय गराउनको लागि सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध भई लाग्न विज्ञप्ती मार्फत आह्वान गरिएको छ।


प्रतिक्रिया