राजनीति


सभापतिको मनोमानी बढ्दै गए कांग्रेस दुर्घटनामा पर्न सक्छ : शेखर कोइराला

सभापतिको मनोमानी बढ्दै गए कांग्रेस दुर्घटनामा पर्न सक्छ : शेखर कोइराला

आफ्नो समूहको भेलालाई सम्बोधन गर्दै डा. शेखर कोइराला। तस्बिर : नेपालखबर


नेपालखबर
पुस २१, २०७८ बुधबार १५:२२, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चौधौं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पनि शेरबहादुर देउवाले पार्टीमा मनोमानी गर्ने क्रमलाई नरोकेको आरोप लगाएका छन्।

सिंहदरबार अगाडिस्थित होटल बसेरामा बिहीबार आयोजित आफ्नो समूहको भेलालाई सम्बोधनका क्रममा उनले देउवाले विधि, सिद्धान्त र नीतिलाई मिचेर अघि बढेकाले पार्टी दुर्घटनामा पर्न सक्ने चेतावनी पनि दिएका छन्।

देउवाले आफू इतरका नेता कार्यकर्तालाई नियोजित रुपमा पाखा लगाउन थालेको बताएका कोइरालाले त्यसविरुद्ध डटेर आवाज उठाउनुको विकल्प नरहेको पनि उल्लेख गरेका छन्। 

'हाम्रो महाधिवेशन भर्खर सम्पन्न भएको छ। अहिले पार्टी संगठनभित्र कटुता, विभाजन र असहयोगी भावना हामी कसैमा पनि आउनु हुँदैन। तर यति भनिरहँदा पार्टीका निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्ताहरूलाई नियोजित किसिमले पाखा लगाउने कामविरुद्ध हामीले डटेर आवाज उठाउनु पर्छ', उनले अगाडि भने, 'हामी लोकतन्त्रवादीहरु राजनीतिक खेल एउटा नियम संगत रुपमा अगाडि बढोस् भन्ने चाहन्छौँ। सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौँ भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनुपर्छ। पार्टी नेतृत्वको गतिविधि र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए अगाडिका निर्वाचन हाम्रा लागि असहज हुन सक्छन्। हाम्रो निर्णय प्रक्रियाले पार्टीमा ऊर्जाको संचार गर्न नसके कांग्रेस शिथिल हुन सक्छ।'

कोइरालाले केही दिनयता केन्द्रीय कमिटीमा गरेका मनोनयनबारे पनि प्रश्न उठाएका छन्। उनले तर देउवाले कुनै मापदण्ड तय नगरी गरेका नियुक्तिबारे भेलामा कुरा उठाए।

'पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ। 'नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ। तर के  'मापदण्ड' अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो? हामी जान्न चाहन्छौँ', उनले भने, 'पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ। नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ।'

कोइरालाले सभापति देउवाको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टी दुर्घटनामा पर्ने पनि चेतावनी दिए। 

'सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ। विधि र विधानबाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने?', उनले आफूनिकट नेता कार्यकर्तालाई सोधे, 'मलाई थाहा छ, हामी पार्टीको निर्णय गर्ने ठाउँमा प्रभावकारी हुन सक्दैनौँ तर पार्टीभित्र हुने सबै कार्य न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने चाहन्छौँ। यी विषयहरुमा हामी आवाज उठाउन सक्ने कि नसक्ने? मलाई लाग्छ हामी सक्छौँ।' 

भिडिओ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .