ad ad

राजनीति


फेरि ‘क्रमभंग’ गर्ने भन्दै प्रचण्डले तयार गरे यस्तो प्रतिवेदन

फेरि ‘क्रमभंग’ गर्ने भन्दै प्रचण्डले तयार गरे यस्तो प्रतिवेदन

सागर न्यौपाने
पुस ६, २०७८ मंगलबार २२:३९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादमा पुग्ने खाकासहितको राजनीतिक दस्तावेज राष्ट्रिय सम्मेलनमा पेस गर्ने भएका छन्।

पुस ११ गतेदेखि काठमाडौंमा हुने सम्मेलनमा पेस गर्ने दस्तावेजमा प्रचण्डले राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थिति, देशभित्रका विभिन्न पार्टीको अवस्था समेत उल्लेख गरेका छन्। 

एक महिनादेखि दस्तावेज लेखनकै लागि नेताहरुसँग छलफल गरिरहेका प्रचण्डले विश्वको अनुभव र नेपालको स्रोतसाधनलाई आधार बनाई समाजवादमै पुग्ने मार्गचित्र प्रस्तुत गर्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का इन्चार्ज राम कार्कीले बताए।

प्रचण्डसँग भएको छलफलमा समाजवादको व्याख्या गरेर, त्यहाँ पुग्ने योजना समेत ल्याउन लागिएको जानकारी दिइएको उनले बताए।

‘हामी संविधानमै समाजवाद उन्मुख व्यवस्था भनेर राख्न सफल भयौँ। तर कस्तो खालको समाजवाद? त्यहाँ कसरी पुग्न सकिन्छ? यी सबै कुरा मैले प्रतिवेदनमै ल्याउनेछु,’ प्रचण्डको भनाइ उद्धृत गर्दै कार्कीले नेपालखबरसँग भने, ‘त्यो दस्तावेजले पार्टीमा देखिएको गतिरोध मात्र हल हुँदैन, फेरि एकपटक माओवादीलाई स्थापित गराउने छ। यसले कोशेढुंगोकै रुपमा काम गर्नेछ।’

नेकपाबाट एमाले र माओवादीलाई छुट्याउने सर्वाेच्च अदालतको फैसलापछि ब्युँतिएको माओवादी केन्द्रले पहिलो पटक राष्ट्रिय सम्मेलन गर्न लागेको हो। सम्मेलनले अध्यक्षबाहेकका पदाधिकारी चयन गर्नुका साथै स्थायी समिति र पोलिटब्युरो पनि गठन गर्नेछ। त्यसबाहेक प्रचण्डको प्रतिवेदनले माओवादी केन्द्रको विचारधारा, राजनीतिक कार्यदिशा समेत प्रष्ट पार्नेछ।

‘समाजवादको व्याख्या गरेर मात्र पुग्दैन, अहिलेको परिवेशमा माओवादी केन्द्रको अवस्थालगायत तमाम विषयको जवाफ अध्यक्ष कमरेडको प्रतिवेदनमा आउनेछ,’ कार्कीले थपे।

प्रवक्ता कृष्णबहादुर महराले पनि शान्तिपूर्ण राजनीतिमा आएपछि पार्टी विचारशून्य भएको कुरालाई गहिरो ढंगले आत्मबोध गर्दै प्रचण्डले प्रतिवेदन तयार पारेको बताए।

‘हामी शान्तिपूर्ण राजनीतिमा आएपछि अन्य बुर्जुवा पार्टीजस्तै भएका छौँ, हामीले हाम्रा कार्यभार बिर्सेका छौँ, जनयुद्धमा साथ दिने जनता भुलेका छौँ,’ प्रचण्डको दस्तावेजको सार उल्लेख गर्दै महराले भने, ‘एकपटक फेरि जुझारु र क्रान्तिकारी पार्टी बनाउने संकल्प अध्यक्षको प्रतिवेदनमा हुनेछ।’

देशभर पार्टी सदस्यता लिने संख्या बढेपछि प्रचण्ड निकै उत्साहित छन्। माओवादी केन्द्रको सदस्यता ८ लाख पुगेको र नयाँ रुपान्तरित पार्टी बनाउन त्यो संख्या काफी रहेको उनको विश्लेषण छ।

उनले आगामी चुनावमा देशको सबैभन्दा ठूलो पार्टी बन्ने योजनासहित अघि बढ्नुपर्ने बताउँदै आएका छन्।

‘विचारले प्रष्ट भएर आक्रामक रुपमा अघि बढ्यौँ भने हामीलाई कसैले रोक्न सक्दैन, हामीले जित्छौँ,’ प्रचण्डको भनाइ छ।

‘स्वार्थी भयौँ, आफूलाई सुधारौँ’
‘हामी हाम्रो उद्देश्यबाट अलिकति विचलित हुन थालेका छौँ, हाम्रो वैचारिक स्तर कमजोर हुँदै गएको छ,’ प्रतिवेदनमा प्रचण्डको स्वीकारोक्ति छ, ‘हामी चुस्त क्रान्तिकारी संगठन नभएर अरूजस्तै बुर्जुवा गुटवादी, अराजकतावादी, व्यक्तिवादी र स्वार्थी हुन खोज्दैछौँ, यसलाई सुधार गर्नुपर्छ। म सुध्रिन तयार छु।’

प्रचण्डले आफूहरुले निरन्तरताको क्रमभंगतामा विश्वास गर्ने भन्दै विचारमा पुनः क्रमभंग गर्ने पनि बताएका छन्। 

‘अहिले विश्व इतिहास र नेपालको इतिहासमा क्रान्तिको नयाँ विचारको खोजी हुन छोडेको छ। त्यसले गर्दा  विचारको समस्या भयो, विचार स्पष्ट नहुँदा अबको गन्तव्य देखिएन। हामीले निरन्तरतामा क्रमभंगता भन्दै आएका थियौँ। अब अर्काे क्रमभंगताको चरणमा प्रवेश गर्दैछौं। पहिलो क्रमभंगता विचारबाटै हुन्छ, माओवादी केन्द्र फेरि नयाँ बन्छ,’ प्रचण्डले दस्तावेजमा भनेका छन्। 

प्रचण्ड निकट केही नेताहरूका अनुसार प्रचण्डले सांस्कृतिक, संगठनात्मक अराजकता, अस्तव्यस्तता अन्त्य गराएर महाअभियान चलाउने उदघोष गर्दैछन्।

‘आजको विश्व र राष्ट्रिय सन्दर्भ विश्लेषण गर्दा माओवादी केन्द्र नै त्यस्तो पार्टी हो, जसले नेपाल राष्ट्रको एकतालाई बचाउन फेरि एकचोटि महाअभियान चलाउँछ,’ दस्तावेजमा भनिएको छ, ‘पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्दै फेरि एउटा महान आन्दोलनको नेतृत्व गर्ने र एक्काइसौँ शताब्दीको एउटा नयाँ मोडेल विश्वलाई दिनुपर्छ।’

ओलीप्रति आक्रामक, गठबन्धनप्रति नरम
प्रचण्डले दस्तावेजमा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। एमालेले हालै गरेको दसौँ राष्ट्रिय महाधिवेशनले केही नयाँ विचार ल्याउन नसकेको, राष्ट्रिय समस्याबारे मौन बसेको टिप्पणी प्रचण्डले गरेका छन्।

‘एमालेको अधिवेशन त विधिपद्धतिमाथि छलफल नै नभएको निरंकुश, विचारशून्य अधिवेशन हो,’ प्रचण्डको विश्लेषण छ, ‘त्यहाँ माक्र्सवादको होइन, व्यक्तिपूजा भयो। एमाले समाजवादकेन्द्रित छैन, जनतालाई अधिकार दिने कुरामा केन्द्रित छैन, यो संविधानलाई सुधार गर्ने दृष्टिकोण बोक्दैन।’ 

तर, उनी सत्तारुढ गठबन्धनमा सहभागी दलहरुप्रति भने नरम देखिएका छन्। राजनीतिक दस्तावेजमा उनले संविधान, व्यवस्थामाथि अझै पनि खतरा रहेकोले गठबन्धन आवश्यक रहेको उल्लेख गरेका छन्।

आगामी चुनावसम्मै गठबन्धन कायम राखेर संविधान र व्यवस्थालाई ट्रयाकमा ल्याउनुपर्ने प्रचण्डले जोड दिएका छन्।

उनले विभिन्न कम्युनिस्ट घटकहरुसँग फेरि एकपटक एकता गरेर व्यवस्था जोगाउनुपर्ने विश्लेषण गरेका छन्। माओवादी घटकहरुबीचको एकता हुनुपर्ने उनको प्रस्ताव छ।

मुख्य लडाइँ वित्तीय एकाधिकारविरुद्ध 
विश्वमै कम्युनिस्टहरु रक्षात्मक बनेको विश्लेषण गर्दै प्रचण्डले पुँजीवादसँग लड्ने तरिकाको खोजी गर्नुपर्ने बताएका छन्।

‘जसरी माक्र्सले औद्योगिक पुँजीवादसँग लड्ने, लेनिनले साम्राज्यवादी एकाधिकार पूँजीवादसँग लड्ने र माओले संशोधनवाद र साम्राज्यवादसँग लड्ने तरिका खोज्नुभयो, अब हामीले यो भूमण्डलीकृत वित्तीय एकाधिकार पूँजीवादसँग लड्ने तरिकाको खोजी गर्नुछ,’ उनले भनेका छन्।

बहुराष्ट्रिय कम्पनीलाई स्थानीय तहसम्म प्रवेश दिन नहुने प्रचण्डको धारणा छ। 

‘स्थानीय तहमा हाम्रो प्राकृतिक स्रोत साधनलाई लुट्न आउने विदेशी बहुराष्ट्रिय कम्पनीहरूलाई तलै जानबाट रोक्नुपर्यो,’ प्रचण्डको प्रस्ताव छ, ‘हाम्रो जंगल, पानी, भूमि दिँदैनौँ, हाम्रो जडिबुटी दिँदनौँ भन्नुपर्यो। साम्राज्यवाद र तिनका दलालहरूले गर्ने क्रियाकलापलाई रोक्न सबै जनतालाई नेतृत्व गर्नुपर्यो।’ 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .