नेकपा (माओवादी केन्द्र)लाई सुदूरपश्चिम प्रदेशको नेतृत्व चयन गर्न सकस परेको छ। नेतृत्वको लागि आकांक्षी बढी हुँदा माओवादी केन्द्रले सुदूरपश्चिममा नेतृत्वसहित प्रदेश कमिटी गठन गर्न सकेको छैन।
माओवादी केन्द्रले सहमतिमा नेतृत्व टुङ्ग्याउने तयारी गरे पनि आकांक्षीबीच सहमति हुन नसकेपछि नेतृत्व टुङ्ग्याउन नसकिएको माओवादी केन्द्रका एक नेताले बताए।
‘नेतृत्वका लागि धेरैले आकांक्षा देखाएका छन्, उहाँहरु कोही पनि पछाडी हट्न नमाने पछि नेतृत्व टुङ्ग्याउन नसकिएको हो,’ ती नेताले भने, ‘पछिल्लो समय आकांक्षीहरुसँग लगातार छलफल भइरहेको छ, केही दिनभित्र नयाँ नेतृत्व पाउँछौँ।’
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा ८ जनाले दाबी गरेका छन्। वर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य शरदसिंह भण्डारी, केन्द्रीय सदस्य वीरमान चौधरी, नेपबहादुर चौधरी, कञ्चनपुर इन्चार्ज देवीलाल चौधरी, बैतडी इन्चार्ज नरेन्द्र कुँवर, राष्ट्रिय सभा सदस्य हरी चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मान बहादुर धामी र प्रदेश कमिटी सदस्य हरी ज्ञवालीले अध्यक्षमा आकांक्षा देखाएका छन्।
‘केन्द्रीय कमिटीमा गएका नेताहरु पनि प्रदेश अध्यक्षको आकांक्षी छन्। कोही केन्द्रमा नगएर प्रदेशको नेतृत्वका लागि बसेका नेताहरु छन्,’ माओवादीका अर्का एक नेताले भने, ‘त्यसैले आकांक्षी बढी हुँदा उहाँहरुको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती छ।’
मंसिर २४ र २५ गते धनगढीमा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेश सम्मेलन आयोजना गर्ने र त्यही सम्मेलनबाट प्रदेश कमिटी पनि घोषणा गर्ने तयारी थियो। तर, नेतृत्वका आकांक्षीले आफ्नो दाबीबाट पछि नहट्दा प्रदेशले नयाँ नेतृत्व पाउन सकेन।
नेतृत्वका आकांक्षीबीच सहमति खोज्न सम्मेलन मंसिर २८ गतेसम्म लम्ब्याइयो। यद्यपी यसबीचमा पनि सहमति जुट्न सकेन।
नेतृत्वका आकांक्षीहरुबीच सहमति नजुट्दा प्रदेश कमिटीले पदाधिकारी पाउन नसकेको हो। माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पहिलो सम्मेलन प्रदेश कमिटीलाई पूर्णता नदिइ सम्पन्न भएको थियो।
अब राष्ट्रिय सम्मेलनपछि पदाधिकारी टुङ्ग्याइने माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका सचिव देवीलाल चौधरीले बताए।
‘राष्ट्रिय सम्मेलनको चटारो पनि छ, त्यसको तयारीमा पनि जुट्नुपर्ने भएकाले अहिले सम्भवन छैन,’ उनले भने, ‘राष्ट्रिय सम्मेलन पछि प्रदेश पदाधिकारीले पूर्णता पाउने छ।’
सहमति भए सर्वसम्मत नभए चुनावी प्रक्रियाबाट भए पनि राष्ट्रिय सम्मेलन पछि पदाधिकारी टुङ्ग्याइने उनले बताए।
उनका अनुसार सम्मेलनले २ सय २३ सदस्यीय प्रदेश कमिटी चयन गरेको थियो। अध्यक्षसहित ९ सदस्यीय पदाधिकारी टिम भने टुङ्ग्याउन बाँकी छ। माओवादी केन्द्रले अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव र १ कोषाध्यक्ष सहित ९ सदस्यीय पदाधिकारी बनाउने छ।
Shares

प्रतिक्रिया