ad ad

राजनीति


अमर पुन : द्वन्द्वको पीडा भोगेका नेता

अमर पुन : द्वन्द्वको पीडा भोगेका नेता

सुदीप भण्डारी
मंसिर २०, २०७८ सोमबार १०:१६, काठमाडौँ


एक दशक लामो माओवादीको सशस्त्र द्वन्दका क्रममा रोल्पामा १ सय २० भन्दा धेरै कांग्रेस कार्यकर्ता मारिए । धेरै कांग्रेस कार्यकर्ताले थातथलो छोडेर हिँड्नु पर्ने अवस्था आयो। कतिपयले राजनीति नै छाडे। 

विगतमा द्वन्द्वको पीडा भोगेकामध्येकै रोल्पाका अमर पुन अहिले नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा निर्वाचित भएका छन्। १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा उनले लामो समय जिल्ला छाडे। 

‘त्यतिबेला कांग्रेस हुँ भनेर भन्न सकिने अवस्था थिएन। कांग्रेस भएर गाउँबस्तीमा बस्न सक्ने अवस्था नै थिएन,’ पुनले नेपालखबरसँग भने, ‘म आँफै १० वर्ष विस्थापित भएर बाहिर बसेको मान्छे हुँ।’ लुम्बिनी प्रदेश सभापतिमा निर्वाचित भएपछि पुनले विगत सम्झिए। 

१० वर्षे द्वन्द्वको कारण विकास निर्माणमा पछि परेको भुगोलको पीडा पनि आफूसँग भएकाले त्यस अनुसार प्रदेशमा कांग्रेसको संगठन निर्माण र विकासमा लाग्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन्। ‘जुन पिरमर्का विगतमा हामीले भोग्यौँ, त्यस्तो पिडा अब कुनै पनि जिल्ला र क्षेत्रका साथीहरुले नभोगुन् भन्ने मेरो चाहाना हो,’ पुनले भने, ‘त्यस कारण लुम्बिनी प्रदेशमा कांग्रेसको संगठनलाई मजबुद बनाउने र विकास गर्ने योजनाका साथ अघि बढ्छु।’ 

मुलुक शान्तिप्रक्रियामा आएको १४ वर्ष भएपनि रोल्पामा कांग्रेसको अवस्था अझै पहिलेको अवस्थामा फर्किन सकेको छैन । गत प्रतिनिधि सभाको निर्वाचनमा रोल्पामा समानुपातिक तर्फ माओवादी केन्द्रले २७ हजार मत पाउँदा कांग्रेसको लगभग आधा १५ हजार जति मत मात्रै पाएको थियो। तर रोल्पामा अहिले कांग्रेसको लागि राजनीतिक वातावरण भने धेरै सहज छ।

प्रदेस सभापति भएर आफ्नै रोल्पा र छिमेकी जिल्लामा पार्टीलाई सशक्त पार्ने चुनौती पुनको काँधमा आएको छ।  

लुम्बिनी प्रदेशमा शहरी क्षेत्र र कांग्रेसको बलियो प्रभाव भएका अरु जिल्लाहरु छन् । त्यत्तीकै संख्यामा केन्द्रमा पहुँच राख्ने नेताहरु पनि छन् । तर तुलनात्मक रुपमा विकट र पार्टीको संगठन कम्जोर भएको जिल्ला रोल्पाबाट कांग्रेसले प्रदेश सभापति पाएको छ। 

अमर पुन २०७० सालमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य र सोही कार्यकालमा राज्यमन्त्री बनेका थिए। एक पटक रोल्पा जिल्ला सभापति भए। संविधान सभा सदस्यसँगै उनी भन्दा बढी अर्थात दुई कार्यकाल कपिलबस्तुको जिल्ला सभापति भएका सुरेन्द्रराज आचार्य पुनकै प्यानलबाट महामन्त्री निर्वाचित भएका छन्।
 
पुनकै समकक्षी निवर्तमान जिल्ला सभापति गुल्मीका भुवनप्रसाद श्रेष्ठ प्रदेश उपसभापति र अर्घाखाँचीका विष्णु मुस्कान सहमहामन्त्रीमा बनेका छन्। 

उनी भन्दा बरिष्ठ मानिएका कतिपय महाधिवेसन र महासमिति सदस्यमै सिमित छन्। 

संंस्थापन इतरबाट प्रदेश सभापतिका रुपमा अमर पुनको  चर्चा धेरै अघि देखि थियो। आकांक्षी धेरै हुँदा पुनलाई अन्य पदमा व्यवस्थापन गर्लान भन्ने कार्यकर्ताहरुले अनुमान गरेका थिए। 

पुनले ५–७ महिना अघिदेखि नै सञ्चारकर्मीसँग भन्ने गर्दथे, ‘म प्रदेश सभापतिकै उमेदवार हो। केन्द्रीय सदस्यमा पनि जान्न, उपसभापतिमा पनि कुनै हालतमा झर्दिन।’

संस्थापन इतरमा पनि अमर पुन शेखर कोइराला निकट मानिन्छन्। कोइरालाले सभापतिमा उठ्न पहिलेदेखि नै जिल्ला दौड गरेजस्तै पुनले पनि महिनौं अघिदेखि कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका थिए। 

उनी आफ्नो अडानमा दृढ रहने नेता समेत हुन् । २०७४ को निर्वाचन अघि मधेशवादीको माग पुरा गर्न तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले लुम्बिनी प्रदेशका तराई र पहाडका जिल्लालाई अलग गराउनेगरी संविधान संशाेधनको प्रस्ताव ल्याएको थियो। उक्त प्रस्तावको विरोधमा बुटवलमा जनसागर उर्लेको थियो। 

बुटवलमा भएको सभामा पुनले भनेका थिए, ‘मेरो पार्टीको ह्विपविरुद्ध मैले अखण्ड लुम्बिनी प्रदेशकै पक्षमा मतदान गर्छु। मेरो सांसद पद गए जाओस् । कांग्रेसको भोटर मात्र बनेर बस्न तयार छु।’ 

पुनको यो भाषण निकै चर्चित भएको थियो त्यतिबेला। यही सभाबाट धेरै कार्यकर्ताले उनलाई चिनेका हुन् । अन्तत संविधान संसोधनको प्रस्तावबाट सरकार पछि हट्यो। 

अमर पुन विधि र नीतिका पक्षमा अडिग रहने नेता भएको कांग्रेस रोल्पाकी उपसभापति कविता उपाध्यायले बताइन्।

‘संविधानसभा सदस्य र राज्यमन्त्री भएपनि उहाँमा मन्त्री भएँ भन्ने दम्भ भएन,’ उनले भनिन्, ‘नीति र विधिलाई मान्नुहुन्छ । त्यसभन्दा बाहिर काम गर्नुहुन्न।’

लुम्बिनी प्रदेश मगर समुदायको बाहुल्य भएको प्रदेश पनि हो। अमर पुनको जितले संघिय संरचनाको औचित्यलाई पनि स्थापित गर्न सहयोग पुगेको कतिपयको बुझाइ छ। 

लुम्बिनी प्रदेश अधिवेसन अन्तर्गत भएको निर्वाचनमा अमर पुनले ८५२ मत ल्याएर विजयी भए। ३ पटक सांसद भएका र पार्टीमा राम्रै उचाइ बनाएका भरतकुमार शाहलाई उनले पराजित गरे । संस्थापन पक्षका शाहकले ७६७ मत मात्रै पाएका छन्। पदाधिकारी र सदस्यमा पनि अधिकांश पुनकै प्यानलबाट विजयी भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .