राजनीति


राप्रपा अध्यक्षमा हारेपछि पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध कमल थापाको आक्रोश

दरबारलाई 'गाली' दिँदै भने : आज पुरस्कार पाइयो
राप्रपा अध्यक्षमा हारेपछि पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध कमल थापाको आक्रोश

फाइल फोटो


नेपालखबर
मंसिर १९, २०७८ आइतबार ७:३६, काठमाडौँ

पूर्वपञ्च र राजावादीहरू संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टीमा २०६३ यता जारी कमल थापाको एकछत्र राजलाई राजेन्द्र लिङ्देनले तोडेका छन्। 

काठमाडौंमा चार दिनदेखि जारी एकता महाधिवेशनमा थापालाई झापाली नेता राजेन्द्र लिङ्देनले पराजित गरेका छन्।

यता थापाले अध्यक्षमा पराजित भएको दोष सीधै पूर्वराजा ज्ञानेन्द्र शाहमाथि थोपरेका छन्। 

'प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु', थापाले भनेका छन्, 'नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना!'

उनले अध्यक्षमा पराजित भए पनि प्रतिकूल परिस्थितिमा समेत विश्वास र भरोसा गर्ने पार्टीका सबैप्रति आभार व्यक्त गरेका छन्। 

तर थापाले आफूलाई शाही शासनका बेला सत्ताको बागडोर सुम्पिने ज्ञानेन्द्र शाहमाथि आक्रोश पोखेका छन्। उनले राप्रपाको चुनावमा निर्मल निवासमा बसेर शाहले हस्तक्षेप गरेको आरोप लगाएका छन्। 

'पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु', उनले भनेका छन्, 'बधाई छ ज्ञानेन्द्र शाह अनि धन्यवाद पनि। मैले राहत र उन्मुक्ति पाएको छु।'

उनले राप्रपा अध्यक्षमा हारेपछि सिंगो मुलुक गणतन्त्रमय हुँदा पनि शिरमा कफन बाँधेर राजसंस्था बोक्दै हिँडैको पुरस्कार पाएको पनि गुनासो गरेका छन्।

'सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो', उनले भनेका छन्, 'उक्त एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad