२०७४ सालको संसदीय चुनावमा तत्कालीन वाम गठबन्धनले स्याङ्जा क्षेत्र नम्बर २ मा आफ्नोतर्फबाट पद्मा अर्याललाई उम्मेदवार बनायो। नेपाली कांग्रेसका ‘पावर सेन्टर’ मानिने बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई हराएर पद्माले आफूलाई प्रमाणित गरिन्। पद्ममाले ३५ हजार १४१ मत ल्याउँदा गोपालमानले ३१ हजार ४२६ मतमात्र प्राप्त गरे।
त्यसो त, अघिल्लो चुनावमा गोपालमानविरुद्ध पद्माले जित्नुमा चिकित्सा क्षेत्रका चर्चित व्यवसायी खुमा अर्यालको कांग्रेससँगको विद्रोह पनि कारक थियो। तर गोपालमानलाई जितेपछि पद्माको चर्चा चुलियो। कांग्रेसका हस्तीलाई हराएको उपहारस्वरुप उनले केपी ओली नेतृत्वको सरकारमा भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री बन्ने मौका पाइन्।
राष्ट्रवादको नारासहित सत्तारोहण गरेका एमाले अध्यक्ष केपी ओली मन्त्रिपरिषदमा रहँदा पद्माले नै चर्चालायक काम गरिन्। भारतले मिचेको लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गर्ने कामले उनको उचाई ह्वात्तै बढ्यो। ‘चुच्चे नक्सा’केपी ओलीको लागि आफूलाई राष्ट्रवादी देखाउने गतिलो हतियार प्रमाणित भयो। ललिता निवास जग्गा प्रकरण होस् वा सुकुम्बासी समस्या समाधानमा नै किन नहोस्, उनको चर्चा सेलाएन।
अखिलबाट राजनीतिक यात्रा सुरु गरेकी एमालेको इतिहासमै पहिलो जिल्ला अध्यक्षको इतिहास बनाएकी केन्द्रीय सदस्य पद्मा अध्यक्ष ओलीको विश्वासपात्रमा दरिइन्। २०२५ सालमा स्याङ्जाको वालिङमा जन्मेकी तथा २०६४ सालमा समानुपातिक सभासद बनेकी पद्माको लागि राजनीतिमा माथि उक्लन यी गतिविधिहरु सहायक बने। उनले सम्भावना बोकेको महिला नेतृको छवि बनाइन्। मुख्य कुरा, पार्टी अध्यक्ष केपी ओलीको विश्वासपात्रमा उनी दरिइन्।
अन्ततः एमालेको दशौँ महाधिवेशनअन्तर्गतको चुनावी कार्यक्रममा उनी एकाएक सचिवको रुपमा उदाइन्। एमाले अध्यक्ष ओलीले सर्वसम्मतिको लागि भन्दै प्रस्तुत गरेको ७ सचिवको लिस्टमा उनको नाम आयो। राजनीतिमा उनीभन्दा पाका र योगदान गरेका गण्डकीकै किरण गुरुङ र खगराज अधिकारीले सचिवमा दावी गरिरहँदा ओलीको खल्तीबाट पद्माको नाम निस्कँदा धेरैले आश्चर्य माने। एकाएक अग्रज र समकालीन नेतालाई पछि पार्दै शक्तिकेन्द्रको रुपमा दर्ज गराइन्।
चुनावी तुरुपकी एक्का!
एमालेको दशौँ महाधिवेशन उद्घाटन सत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अध्यक्ष ओलीको प्रशंसामा थुप्रै शब्द खर्चिए। चुच्चे नक्सा सार्वजनिक गर्नु, चीनसँग पारवहन सन्धी गरिनु तथा पृथकतावादी समूहलाई मूलधारमा ल्याउनु ओलीको सफलता भएको उनको भनाई थियो। ओलीको प्रशंसाकै कारण थापाले सम्भवतः एमाले महाधिवेशनमा ओलीपछि सबैभन्दा बढी ताली पाए।
राष्ट्रवादी नेताको उपमा पाएपछि ओली मख्ख नहुने कुरै भएन। उद्घाटनकै क्रममा अध्यक्ष ओलीले आउँदो चुनावमा एमालेले बहुमत ल्याउने जिकिरमात्रै गरेनन्, राष्ट्रियताको पक्षमा दह्रो गरी उभिने प्रतिवद्धता पनि व्यक्त गरे।
उनले उद्घाटनसत्रमा भने, ‘लिम्पियाधुरा लिपुलेक र कालापानीको हाम्रो भूगोल हामी नेपालको नक्सामा समेटेका छौँ। त्यसलाई संविधानको अंग बनाएका छौँ। तर, त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ। हामी छिमेकीसँग संवादको माध्यमबाट त्यो जमिन फिर्ता लिनेछौँ। फिर्ता नलिएसम्म हामीलाई दबिएको, हेपिएको भन्ने अनुभूति भइरहन्छ। त्यसैले त्यो जमिन फिर्ता लिएर हामी वास्तविक मित्रता, वास्तविक छिमेकीको सम्बन्ध कायम गर्न चाहन्छौँ।’
विदेशी पाहुनासामु ओलीले दिएको प्रष्ट सन्देश थियो– भारतसँग एमालेको सम्बन्ध सुमधुर छैन र उनी आउँदो चुनावमा पनि राष्ट्रवादलाई मूल एजेण्डा बनाएर चुनावी मैदानमा जाने तयारी गर्दैछन्। चुच्चे रेल र पानीजहाजका सपना पूरा नभएको सन्दर्भमा चुनावी मुद्दाको रुपमा राष्ट्रवाद बिक्छ भन्ने ओलीलाई राम्रैसँग थाहा छ। अघिल्लो चुनावको अचुक हतियार चलाउने उपयुक्त मौका यो पनि रहेको उनले बुझेका छन्।
अदालतले ‘सेटिङ’बाट आफूलाई सत्ताबाट हटाएको आरोप लगाउँदै आएपनि त्यो बलियो चुनावी मुद्दा बन्न सक्दैन। सार्वजनिक खपतका लागि बोलिने भाषा र जनतालाई प्रभावमा पार्ने भाषा फरक हुन्छ। भारतसँग खासै राम्रो सम्बन्ध नभएको बेला राष्ट्रवादको कार्ड बरदान सावित हुने यो अभियानको नेतृत्वकर्ताको रुपमा पद्माको काम आउने देखेरै अध्यक्ष ओलीले सचिवको जिम्मेवारी उनैलाई सुम्पेको आंकलन एमाले वृत्तमै गरिएको छ।
शक्तिकेन्द्रहरुसँगको बढ्दो हिमचिम तथा नेपाली कांग्रेस निकटका भए पनि खुमाको राजनीतिक पहुँचलाई उपयोग गरेको आरोप पनि उनीमाथि लगाइन्छ। पद्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीको आशीर्वाद रहेको बुझ्नेहरुको पनि कमी छैन।
द्रूत यात्रा
पोलिटब्यूरो, स्थायी कमिटी हुँदै पदाधिकारीको यात्रालाई एमालेभित्र स्वभाविक मानिन्छ। पद्मा एमालेको केन्दीय सदस्य मात्रै हुन्। गण्डकीमा उनीभन्दा बढी योगदान गरेका नेताहरुको कमी छैन। श्रीमाया थकाली, सीता गिरी ओली, नरदेवी पुन, टुका हमाल, विद्या भट्टराईजस्ता महिला नेतृको कुरै छाडौं।
यसअघि ओली समूहबाटै उपाध्यक्षको प्रत्यासी बनेका स्थायी कमिटी सदस्य किरण गुरुङ र पूर्वमन्त्री खगराज अधिकारी पृथ्वीसुब्बालाई टक्कर दिनसक्ने नेताको रुपमा हेरिन्थ्यो गण्डकीमा। अब किरण गुरुङ र खगराजभन्दा पद्माको पार्टीगत हैसियत बलियो बनेको छ। अग्रज र समकालीन नेताहरुलाई पछाडि छाडेसँगै उनी एमालेको ‘पावर सेन्टर’मा दरिएकी छन्। उनीभन्दा माथि गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङमात्रै रहेका छन्।
भनिन्छ, अध्यक्ष ओलीले पद्मालाई अगाडि सार्ने सुइँको पाएका तथा पद्मा अगाडि बढ्दा आफ्नो प्रतिष्पर्धी घट्ने देखेर नै पदाधिकारी तथा केन्द्रीय सदस्यको अन्तिम लिस्ट बनाउने टिममा रहेका पृथ्वीसुब्बाले पनि उनको नाममा समर्थन जनाएका थिए।
पार्टी राजनीतिमा पदको महत्व बढी हुन्छ। उपमहासचिव पृथ्वीसुब्बा र पद्माको सम्बन्ध सुमुधुर छ। यी दुई जना गण्डकीमा हावी हुँदाको परिणाम आंकलन गर्न हतार हुन्छ तर पद्मा स्वयंको राजनीतिक यात्रा भने उकालो लागेको छ।
७० वर्षकाे उमेरसम्म अध्यक्षको प्रत्यासी बन्न मिल्ने अहिलेकै विधान र उमेरले उनलाई अध्यक्ष बन्न रोक्ने छैन। स्याङजाको पहिलो महिला जिल्ला अध्यक्षको इतिहास बनाएकी पद्मा सामु अब एमालेको पहिलो केन्द्रीय अध्यक्ष बन्ने अवसरको ढोका पनि खुलेको मान्न सकिन्छ।
Shares
प्रतिक्रिया