अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै नेता व्यवस्थापन गर्न हम्मे हम्मे परेपछि एमालेमा नयाँ निर्विरोध नेतृत्व चयन प्रक्रिया अन्योलमा परेको छ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङले दाबी गरेका छन्।
अर्कातिर महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले दाबी गरिरहेका छन्। यी चारैजना नेता ओलीनिकट हुन्।
अर्कातिर सचिवमा पनि ओलीनिकटकै गोकुल बाँस्कोटा र महेश बस्नेतले दाबी गरिरहेका छन्। उनीहरु दुवैजना पहिलो पटक पदाधिकारीमा उक्लिने लविङमा छन्।
ओलीले आफू बसेको पार्क सफारी रिसोर्टमा सबै दाबेदारलाई बोलाएर सहमति गराउन प्रयास गरे पनि यो समाचार तयार पार्दासम्म कोही अडानबाट पछि हटेका छैनन्।
सौराहस्थित विभिन्न होटलमा नेताहरू अहिले पनि छलफलमै छन्। ओली आफ्नै समूह मिलाउन रस्साकस्सीमा लागिरहँदा उपाध्यक्ष रावलसँगको संवाद पनि अघि बढ्न सकेको छैन।
नेताहरूका अनुसार ओली सर्वसम्मत नेतृत्व चयनको घोषणा गर्ने पक्षमा छन्। उनले नाम तयार पार्ने प्रयास पनि गरिरहेका पनि छन्।
तर ओलीले तयार पारेको सूचीमा पनि उनीनिकट नेताहरुले असहमति जनाएका छन्। सहमति खोज्न ओलीले बन्दसत्र हलमा नगई निरन्तर छलफल गरिरहेका छन्।
उता ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावलले चुनावी प्रचारलाई तीव्र बनाएका छन्।
उनले बन्द सत्रस्थल सेभेनस्टार होटलमा भेला भएका महाधिवेशन प्रतिनिधिसँग बिहानैदेखि भोट मागिरहेका छन्।
शनिबार पहिलो दिनको बन्द सत्रले पदाधिकारी र केन्द्रीय सदस्य चुन्ने सर्वाधिकार ओलीलाई दिएको थियो।
संगठन विभाग प्रमुख विष्णु पौडेलको प्रस्तावमा बन्द सत्र हलले उक्त अधिकार दिएकोमा उपाध्यक्ष रावलले आपत्ति प्रकट गरेका छन्।
जनताको बहुदलीय जनवाद स्वीकारेको दलले निर्वाचन प्रक्रियालाई लत्याउन नहुने बताउँदै रावलले आफू कुनै हालतमा पछि नहट्ने बताएका थिए।
अर्कातिर ओलीलाई सबै अधिकार दिएकोमा उपमहासचिव घनश्याम भुसालले पनि सार्वजनिक असन्तुष्टि जनाएका छन्।
Shares

प्रतिक्रिया