ad ad

राजनीति


सौराहामा ओलीमाथि सर्वसम्मति दबाब, महाधिवेशन उद्घाटनअघि नै सहमतिको सन्देश दिइने

नेताहरु भन्छन् : निर्वाचनतिर जाँदै नजाऊँ, फेरि फुट निम्त्याउँछ
सौराहामा ओलीमाथि सर्वसम्मति दबाब, महाधिवेशन उद्घाटनअघि नै सहमतिको सन्देश दिइने

फाइल फोटो


सागर न्यौपाने
मंसिर १०, २०७८ शुक्रबार ०:१३, चितवन

नेकपा एमालेको दसौँ महाधिवेशन शुक्रबार नारायणी नदी किनारमा हुँदैछ। त्यसका लागि ५० लाख खर्चेर एमालेले मञ्च बनाइसकेको छ। 

माधवकुमार नेपाल र झलनाथ खनालहरू बाहिरिएपछि हुन लागेको यो महाधिवेशन एकताका लागि हुने नेताहरुले बताइरहेका छन्।

एमाले नेताहरु आजैदेखि उद्घाटनस्थलभन्दा नारायणगढभन्दा बन्दसत्रस्थल सौराहामा केन्द्रित भइसकेका छन्।

अध्यक्ष केपी शर्मा ओलीदेखि सबै शीर्ष नेताहरुको मुकाम अहिले सौराहा भएको छ। ओली बिहीबारै चितवन पुगेर पार्क सफारी रिसोर्टमा बसिरहेका छन्।

मंसिर महिना र हिउँदको चिसो बढ्दै गएकाले होला बिहीबार मध्यराति सौराहालाई हुस्सुले ढाकेको छ। 

रात्रिकालीन चिसोमा अनौठो दृश्य के छ भने एमाले नेताहरुका दौडधूप रोकिएको छैन। 

अध्यक्ष ओली बसेको पार्क सफारी रिसोर्टमा बिहीबार साँझदेखि नै नेताहरुको लर्को लागेको छ। 

बिहीबार दिउँसो पार्टी सम्वद्ध बुद्धिजीवी परिषदको कार्यक्रमलाई सम्बोधन गरेका ओली सौराहामै बसे। अहिले सौराहामा अध्यक्ष ओलीदेखि महाधिवेशन प्रतिनिधिसमेत करिब १२ सय एमाले कार्यकर्ता पुगिसकेका छन्। 

उनी महाधिवेशन उद्घाटनस्थल नारायणगढ नआई एमालेको आन्तरिक राजनीतिबारे पार्क सफारीमै बसे छलफलमा जुटे। यो छलफल अहिले मध्यराति यो समाचार लेख्दा पनि जारी छ।

प्रदेशस्तरका नेताहरुसँग यसअघि छलफल गरेका ओली अहिले आफूनिकट नेताहरुसँग संवादमा छन्। प्रधानमन्त्रीका रुपमा बालुवाटारमा हुँदा पनि ओली राति १ बजेसम्म आफूनिकटस्थसँग छलफल गरेर बस्थे।

सहमतिको दबाब
नेकपा हुँदैदेखि सुरु भएको विग्रहले एमालेलाई पनि पिरोलेर घाइते बनाएको अवस्थामा महाधिवेशन हुँदै गर्दा ओलीमाथि सहमतिबाटै नेतृत्व छान्न चर्को दबाब परेको छ।

एमालेको नयाँ नेतृत्व चयनमा सर्वसम्मतिका लागि नेताहरुले ओलीमाथि दबाब बढाएका हुन्। अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म सहमतिबाटै छान्नुपर्ने भन्दै नेताहरुले ओलीलाई अहिले पनि भेटिरहेका छन्।

पार्टी फुटको गम्भीर संकट झेलेर आएको भन्दै सहमतिबाटै नेतृत्व छान्नु पर्ने सन्देशसहित बिहीबार साँझ प्रदेश १ को टोली लिएर एमाले उपनेता सुवास नेम्वाङ पार्क सफारी पुगे।

प्रदेश १ बाट नेम्वाङको नेतृत्वमा देवराज घिमिरेसहित १३ जना नेताले पार्क सफारीमा ओलीलाई भेटेर कुनै हालतमा सहमतिबाटै नेतृत्व छान्न दबाब दिएका छन्। 

सौराहा पुगेका धेरैजसो जिल्ला अध्यक्ष र सांसदहरु पनि कुनै हालतमा सहमति गर्नुपर्ने पक्षमा देखिएका छन्। नेम्वाङसँग पार्क सफारी पुगेका अन्य नेता र सांसदहरुले कुनै हालतमा निर्वाचन हुन नदिने अड्डी कसेका छन्। 

‘कुनै हालतमा चुनाव हुन दिनु हुँदैन, चुनाव गर्दै नगरौँ’, ओलीलाई प्रदेश १ का नेताहरुले भनेका छन्, ‘विधान महाधिवेशनबाट पनि हामीले एकताको महाधिवेशन गर्ने भनेका छौँ। त्यसैले चुनावका नाममा हामी फेरि विभाजन र विग्रहतिर लानु हुँदैन।’

ओलीलाई भेटेर फर्किएको प्रदेश १ को टोलीले माओवादीबाट आएका नेता मणि थापासँग पनि तत्कालै छलफल गरे।

माओवादी केन्द्रबाट आएका थापालाई पनि नेम्वाङसहितको टोलीले अध्यक्षलाई चुनावबारे सोच्न नदिने गरी दबाब बढाउन सुझाए। ‘तपाईंहरुले पनि कुनै हालतमा अध्यक्षलाई चुनावबारे सोच्न दिनु भएन,’ प्रदेश १ को टोलीले थापालाई भनेको छ। 

थापाले पनि प्रदेश १ का नेताहरुसँग चुनाव गर्नै नहुने मत राखे। ‘हामीले यो पटक चुनाव गर्ने नै होइन। यसले त हामीलाई विभाजनतिर लैजान्छ। सर्वसम्मत गर्ने हो। हामीले भनेको पनि यही हो’, जवाफमा थापाले भने। 

त्यस्तै बिहीबारै राति प्रदेश २ का नेता सत्यनारायण मण्डलसहित ९ जना नेताको टोलीले पनि ओलीकहाँ त्यही कुरा राखेको छ।

‘चुनाव गराउनेतिर हामी जाँदै नजाऊँ’, ओलीलाई मण्डलसहितका नेताले भने, ‘सर्वसम्मत रुपमा नेतृत्व चयन गरौँ। केन्द्रीय कमिटी पनि चयन सहमतिमै छानौँ।’
बागमती र चितवनको पनि उही कुरा

यता बागमती प्रदेश कमिटीको बिहीबारै बसेको बैठकमा पनि सर्वसम्मतिबाटै नेतृत्व छान्नुपर्ने कुरा उठेको छ।

प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलका अनुसार सबै नेताहरु चुनावको विपक्षमा छन्। 

पोखरेलका अनुसार महाधिवेशन आयोजक जिल्ला कमिटी चितवन र बागमती प्रदेश कमिटी दुवैले पार्टी नेतृत्व सर्वसम्मत चयन गर्नुपर्ने समान धारणा बनाएका छन्। 

‘चितवन र बागमती कमिटी नेतृत्व सर्वसम्मत बनाउने पक्षमा छन्’, उनले भने, ‘हामीबीच सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने कुरामा छलफल भएको छ।’

बिहीबारै राति एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले नेपालखबरसँगको संवादमा पार्टीमा सर्वसम्मतिको विकल्प नरहेको बताए।

उनले एमालेलाई अझ बलियो बनाएर अघि बढाउन सर्वसम्मतिमै नेतृत्व चयन गर्नुपर्ने बताउँदै त्यसका लागि अध्यक्ष ओलीसँग आफूहरु छलफलमा रहेको उल्लेख गरे।

रायमाझीले अब एमालेमा पूर्व समूह या गुट नरहेको बताउँदै सबैको विचार र भावना समेट्न सर्वसम्मति नै उत्तम विकल्प भएको जिकिर गरे। 

बिहीबार दिउँसो नेपालखबरसँगको कुराकानीमा एमाले प्रमुख सचेतक विशाल भट्टराई अहिलेको जटिल अवस्थामा पार्टीलाई एकतावद्ध बनाउन सर्वसम्मतिको विकल्प नरहेको उल्लेख गरे।

उनका अनुसार काठमाडौंमै ओलीसँग यसबारे कुरा भएको छ। पदाधिकारी थपेर भए पनि नयाँ नेतृत्व सर्वसम्मत चयन गर्न आफूहरुले बालकोट पुगेरै सुझाएको उनले बताए

‘हामीले बालकोट पुगेर अध्यक्ष कमरेडसँग यसबारे एक घण्टा बढी छलफल गरेका छौँ। हाम्रो चाहना सर्वसम्मत नै हो’, उनले भने, ‘यसबारेमा अध्यक्ष कमरेड सकारात्मक हुनुहुन्छ। तर सर्वसम्मतिका लागि सजिला विकल्प हामीलाई चाहिएको छ। अध्यक्षले पनि सर्वसम्मतिमा आफू सकारात्मक रहेको बताउनुभएको छ।’

उद्घाटनअघि नै सहमति
ओली पार्क सफारी रिर्सोटमा एमालेका शीर्ष नेताहरुसँग छलफलमै छन्। सर्वसम्मतिको दबाब बढेपछि ओलीले महाधिवेशन उद्घाटनअघि नै यसबारे ‘पिक्चर क्लियर’ गरिदिने प्रतिवद्धता जनाएका छन्। 

ओलीनिकट श्रोतले शुक्रबार महाधिवेशन उद्घाटनअघि नै महाधिवेशन प्रतिनिधिमा पनि ऊर्जा भर्ने गरी ससर्वसम्मतिको खाका तयार हुन सक्ने छ। 

उनले आफूलाई भेट्न आउने टोलीलाई आजै रातभरि या शुक्रबार बिहानसम्म केही न केही सकारात्मक सन्देश दिने गरी निर्णय लिन सक्ने आश्वासन दिएर शीर्ष तहमा छलफल तीव्र पारेका छन्। 

तस्बिरहरु : विक्रम राई/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .