ad ad

राजनीति


एमालेमा कुनै पूर्वसमूह र गुट छैन, सर्वसम्मत नेतृत्व छान्छौँ : टोपबहादुर रायमाझी (भिडिओ)

भन्छन् : माओवादीमा २९ वर्ष काम गरेँ, कहिल्यै महाधिवेशन गरेन
एमालेमा कुनै पूर्वसमूह र गुट छैन, सर्वसम्मत नेतृत्व छान्छौँ : टोपबहादुर रायमाझी (भिडिओ)

एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी। तस्बिर : नेपालखबर


सागर न्यौपाने/विक्रम राई
मंसिर ९, २०७८ बिहिबार २२:१८, चितवन

नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले अब पार्टी पूर्व समूह भनेर कसैलाई इंगित गर्नुको अर्थ नरहेको बताएका छन्। 

बिहीबार राति चितवनको सौराहामा नेपालखबरसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्।

'अब हामीले एमालेमा पूर्व समूह भनिरहनु जरुरी छैन', उनले भने, 'हामी सबै एमालेको विचारधारामा एकसाथ हिँडेका छौँ। एमालेमा अब गुट र प्यानल छैन। त्यसैले यो समूह वा त्यो समूह भनेर चित्रण गर्नुको पनि अर्थ छैन।'

रायमाझीले तत्कालीन नेकपालाई केही नेताले नियतवश फुटाएको पनि बताए। 'प्रधानमन्त्री केपी शर्मा ओलीले अघि बढाएको विकास र समृद्धिलाई केही नेताले सहन नसकेर फुटेर गए', उनले भने, 'एमाले भनेको नेकपाकै निरन्तरता हो। यसले नेकपाकै लिगेसी बोकेको छ।'

उनले पद र प्रतिष्ठाका कारणले नेकपामा नक्कली विवाद झिकेर विभाजन गरिएको बताए। 'पद र प्रतिष्ठाका लागि नक्कली विवाद झिकियो, नेकपा फुटाइयो', उनले भने, 'आफ्नो पार्टीको नेतालाई अपदस्थ गरेर विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन अभियान चलाए। त्यहीकारण संसद विघटन गर्नुपरेको थियो।'

रायमाझीले माओवादी अझै पनि टीके प्रथामै चलेको पनि बताए। 'माओवादीमा २९ वर्ष काम गरेँ तर एउटा पनि महाधिवेशन भएन', उनले भने, 'तलबाट निर्वाचित भएर आए पनि महाधिवेशन गर्ने चलन भएन। त्यहाँ तलका कमिटीलाई अधिकार नै दिइएन।'

उनले अहिले एमालेलाई अझै बलियो बनाएर लैजान सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने पनि बताए। 'तलदेखि सर्वसम्मत भएर आएकाले माथिको नेतृत्व चयन पनि त्यही रुपमा हुनेछ। आजको आवश्यकता सहमति हो', उनले भने, 'हामीले विधान महाधिवेशनमा पनि त्यही निर्णय गर्यौँ। सात हजार प्रतिनिधि बोलाएर तीन दिनसम्म छलफल गर्यौँ।' 

उनले विधान महाधिवेशनले केपी ओलीकै विचार अघि बढाएकाले नेतृत्व पनि उनकै हुने बताए। 'जसको विचार उसको नेतृत्व हुन्छ कम्युनिष्टमा। केपी ओलीको नेतृत्व विधान महाधिवेशनले स्वीकारेको छ', उनले भने, 'तर अध्यक्षमा उठ्न तयार भीम रावललाई कसैले रोकेको छैन।'

उनले नेकपा बनाइसकेपछि त्यसलाई अघि बढाउन कयौँ छलफल भए पनि त्यो सफल नभएको पनि उल्लेख गरे। 'नेकपा बनाइसकेपछि त्यहाँ पनि कयौँ पहल गरेका हौँ।
विकास र समृद्धिको एजेण्डामा पनि हामीले छलफल गरेका हौँ', उनले थपे, 'हाम्रो नेतृत्व यो पटक सर्वसम्मत हुन सक्छ। विचारको बहस विधान महाधिवेशनमा भएको छ। त्यसैले तल सर्वसम्मत भएपछि माथि पनि सर्वसम्मत गर्नु राम्रो हो।'

रायमाझीले उम्मेदवारी घोषणा गरेकाहरुले निर्वाचनसम्म सर्वसम्मतका लागि तयार भइसक्ने पनि बताए। 'को उठ्ने, नउठ्ने कुरा हाम्रो महाधिवेशनमा औपचारिक रुपमा उम्मेदवारी दर्ता गराउँदा मात्रै भन्न सकिन्छ। तर हामी सर्वसम्मतको पक्षमा छौँ। महाधिवेशन प्रतिनिधिले चाहेअनुसार हामी अघि बढ्छौँ', रायमाझीले थपे, 'एकता महाधिवेशन भएकाले विभिन्न विचार र प्रवृत्तिलाई समेटेर लैजानु राम्रो हुन्छ।'

उनले प्रतिपक्षमा रहेको एमालेविरुद्ध दुनियाँ नभएको अभ्यास सत्तापक्षले गरेको पनि बताए। 'प्रतिपक्षविरुद्ध सत्ता पक्षको महागठबन्धन भएको छ। दुनियाँमा यस्तो कहीँ हुँदैन', उनले भने, 'अहिले जनलहर एमालेको पक्षमा छ। त्यहीकारण गठबन्धन आत्तिइसकेको छ।'

भिडिओ

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .