नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावलले आफूलाई चुनौती नदिएको बरु माया गरेको प्रतिक्रिया दिएका छन्।
आज सम्पादकहरुसँगको अन्तर्क्रियाका क्रममा ओलीले बढी खट्दा थकाइ लाग्यो होला भन्ने ठानेर नेता रावलले ‘म अध्यक्षमा उठ्छु’ भनेको उल्लेख गरे।
उनले आफू अध्यक्षमा नउठोस् भन्ने पार्टीबाहिर पनि रहेकोले सामान्य रुपमा लिएको बताए।
उनले भने, ‘रावलजीले मप्रति स्नेहभाव देखाउनुभएको छ।’
उपाध्यक्ष रावलले आइतबार एमाले महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका थिए।
‘मलाई निर्विरोध छाड्न पनि पाइन्छ, चुनौती दिन पनि पाइन्छ’, रावलको सोही घोषणालाई लक्षित गर्दै ओलीले थपे, ‘एमालेमा जोरजुलुम करकाप हुँदैन, उठ्न पाइन्छ।’
चुनौती र निर्विरोध लोकतन्त्रकै अभ्यास भएको भन्दै ओलीले आफूले कसैलाई नउठून् भनेर दबाब नदिने बताए।
‘मैले उठ्ने नउठ्ने कुनै निर्णय गरेको छैन, उठ्ने भएँ भने कसैलाई नउठ्नु भन्दिनँ’, उनले थपे, ‘मैले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव दुवै या त निर्विरोध हुन्छ या त धेरै मत ल्याएर जित्छ।’
प्रतिनिधिले मन पराएकोलाई परिणाम आएपछि मन पराउने पनि उनले खुलाए।
अरूको हकमा पनि पार्टीभित्र एकता रहेको भन्दै उनले लोकतान्त्रिक अभ्यासलाई नजरअन्दाज गर्न नसकिने बताए।
‘सहमति हुन्छ राम्रो तर सहमति हुँदैन भने म मिल भनेर करकाप गर्दिनँ’, ओलीले भने, ‘अरूको अवसरमा म भाँजो हाल्दिनँ। म निर्वाचित भएँ भने सबैको अध्यक्षको व्यवहार गर्छु, यो मन परेको मन नपरेको भन्ने छैन, मेरा लागि सबै समान।’
Shares

प्रतिक्रिया