प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक पनि ‘डायलासिस’ गर्नुपर्ने सम्भावना देखिएको छ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न ग्रान्डी अस्पताल पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको तेस्रो डायालासिसबारे डाक्टरहरुसँग छलफल भइरहेको बताए। उनले भने, ‘दोस्रो पटकको डायलासिसपछि उहाँ रेस्टमा हुनुहुन्छ, तेस्रो डायलासिस बारेमा एक–दुईदिनमा मात्रै थाहा हुन्छ, उहाँ आजै डिस्चार्ज भएर बालुवाटार फर्कनुहुनेछ।’
बुधबारदेखि स्वास्थ्यमा समस्या आएपछि ग्रान्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेटेपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको हिजो र आज दुईपटक डायलासिस भएको पुष्टि गरे।
प्रधानमन्त्री ओलीको बुधबार दिउँसो र बिहिबार बिहान गरेर दुईपटक डायलासिस गरिएको थियो। ‘तेस्रो डायलासिस बारेमा डाक्टरको सल्लाह र परीक्षणका सबै रिपोर्ट हेरेर भोलि पर्सि मात्रै निश्चित हुनेछ,’ प्रचण्डले सञ्चारकर्मीसँग भने।
प्रधानमन्त्री ओलीको दुईपटक डायलासिस गरेको औपचारिक जानकारी पनि प्रचण्डलेृ नै दिएका हुन्। यसअघि प्रधानमन्त्रीको सचिवालय र उनको निजी चिकित्सक टोलीले डायलासिस गरेको बारेमा स्पष्ट जानकारी दिएको थिएन।
प्रधानमन्त्री ओलीसँग आफूले भेट गरेको सञ्चारकर्मीलाई बताउँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले अहिले आफ्नो अवस्था ठिक रहेको बताएको जानकारी पनि दिए।
‘प्रधानमन्त्रीसँग मेरो भेट भयो, मैले डाक्टरसँग पनि कुरा गरे, आजै डिस्चार्ज गर्ने कुरा गर्नुभएको छ’, सञ्चारकर्मीसँग प्रचण्डले भने। प्रधानमन्त्री ओलीले पनि आफूलाई छिटो–छिटो समस्या देखापरेको र अहिले ठीक भएको जनाएको प्रचण्डको भनाई छ।
बुधबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई ग्रान्डी अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो। बुधबार नै डिस्चार्ज गर्ने प्रधानमन्त्री ओलीको निजी डाक्टर दिव्यासिंह शाहको टोलीले बताए पनि उनको बिहीबार विहान फेरि डायलासिस गरिएको हो।

प्रतिक्रिया