ad ad

राजनीति


यस्तो बन्न सक्छ एमालेको १५ सदस्यीय पदाधिकारी टोली

यस्तो बन्न सक्छ एमालेको १५ सदस्यीय पदाधिकारी टोली

सागर न्यौपाने
असोज २५, २०७८ सोमबार ६:२५, काठमाडौँ

‘म दुई चोटि महासचिव भएँ, तेस्रो पटक हुन्नँ। मेरो व्यक्तिगत चाहनाले पनि दिँदैन, विधानले पनि दिँदैन,’ नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा भने। 

त्यही कार्यक्रममा उनले केपी ओलीलाई नै फेरि एमालेको अध्यक्ष बनाइने पनि बताए। यसैबाट पोखरेलले आफू अध्यक्षको दाबेदार नभएको र महासचिवमा इच्छुक नरहेको स्पष्ट पारे।  

मंसिर १० मा बुटवलमा हुने दसौँ महाधिवेशनबाट एमालेले अर्को पाँच वर्षको लागि नयाँ नेतृत्व चयन गर्दैछ। ओलीले यसअघि नै आफूलाई निर्विकल्प अध्यक्षका रुपमा उभ्याइसकेका छन् । बाँकी रहेका अन्य १४ पदाधिकारीमा नेताहरुबीच दाबेदारी सुरु भइसकेको पोखरेलको भनाइले पनि संकेत गर्छ।

विधान महाधिवेशनबाट पारित भएको संगठनात्मक संरचनाअनुसार एमालेमा वरिष्ठसहित उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव १ र सचिव ७ जना हुनेछन्। 

जुनजुन नेता यी १४ पदमा पुग्नेछन्, तिनलाई ओलीको विरासत बोक्ने टोलीको रुपमा हेरिनेछ। अर्कोतिर, ७० वर्षे उमेरहदका कारण एघारौँ महाधिवेशनअघि ओलीसहित थुप्रै प्रमुख नेता बिदा हुनेछन्। तसर्थ, अध्यक्ष ओली दसौँ महाधिवेशनबाटै आफ्नो उत्तराधिकारीलाई महत्वपूर्ण पदमा अघि सार्न पनि चाहन्छन्। 

महाधिवेशनमा पदाधिकारी चयनका लागि सकभर निर्वाचन नगराउने ओलीको चाहना रहेको नेताहरुको भनाइ छ। र, यसपाली एमालेको नेतृत्वको टिम ओलीकै चाहनाअनुसार बन्ने देखिन्छ।

त्यसैले यी १४ जनामा पर्न नेताहरुबीच दौडधुप र बार्गेनिङ सुरु भइसकेको छ। महासचिव पोखरेलले आगामी महाधिवेशनमा अध्यक्ष नलड्ने र ओलीलाई सहयोग गर्ने घोषणा गर्नुको कारण पनि यही हो। 

तर नेताहरूका अनुसार ओलीले अध्यक्ष बाहेकका १४ पदमा कसलाई ल्याउने भनेर अहिलेसम्म कुनै संकेत दिएका छैनन्। 

एमालेका नेताहरुका अनुसार पोखरेल वरिष्ठ उपाध्यक्ष बन्न चाहन्छन्। ओलीलाई खुसी पारेर दोस्रो वरियताको पद प्राप्त गर्ने उनको योजना छ। 

एमालेका एक नेताले पोखरेल वरिष्ठ उपाध्यक्ष हुने लगभग निश्चित भइसकेको दाबी गरे।

‘एमालेमा वरिष्ठ उपाध्यक्ष टुंगो लागेको जस्तै हो, ईश्वर पोखरेल निर्विवाद नै हुनुहुन्छ’, स्थायी कमिटीका ती नेताले भने, ‘दुई पटक महासचिव भइसकेकाले उहाँ अब एक कार्यकाल वरिष्ठ उपाध्यक्ष बन्नुहुन्छ, परिस्थितिमा कुनै बदलाव नआए यही नतिजा आउनेछ।’

अर्कोतिर, ओली आफूपछिको पदमा हस्तक्षेप गर्ने खालको नभई ‘एसम्यान’ शैलीको व्यक्ति चाहन्छन्। पोखरेलले ओलीको वचन ननाघ्ने भएकाले वरिष्ठ उपाध्यक्षमा उनकै सम्भावना ज्यादा रहेको अन्य नेताहरु पनि स्वीकार्छन्।

पोखरेल वरिष्ठ भए अन्य चार उपाध्यक्ष को को होलान् त?

माओवादी केन्द्रबाट एमालेमा समायोजन भएकाहरुलाई मिलाउन ओलीले रामबहादुर थापा बादललाई एक जना उपाध्यक्ष बनाउने सम्भावना छ। 

‘बादलजीले संकटको बेलामा साथ दिएको भनेर अध्यक्षले पटक–पटक भनिरहनुभएको छ, सायद उहाँलाई उपाध्यक्ष बनाउँदा कुनै विवाद हुँदैन,’ ती स्थायी समिति सदस्यले भने।

यस्तै भीम रावल, अष्टलक्ष्मी शाक्य पनि एमालेको दसौँ महाधिवेशनबाट उपाध्यक्ष बन्ने अनुहार हुन्। माधव नेपालले अर्को पार्टी स्थापना गर्दा उनलाई छाडेर संकटको अवस्थामा रावल र शाक्य एमालेमै बसेका थिए। ओली पनि त्यो ‘गुन तिर्न’ उनीहरुलाई उपाध्यक्ष बनाउन चाहन्छन्। 

महाधिवेशनसम्म एमालेमै रहे रावल र शाक्य उपाध्यक्ष दोहोरिने ती नेताले बताए। नवौँ महाधिवेशनमा पनि उनीहरुले उपाध्यक्ष जितेका थिए। 

र, अर्को एक उपाध्यक्षमा ओलीले नयाँ नेतालाई अगाडि बढाउँदैछन्। ती हुन्– स्थायी कमिटी सदस्य तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ।

नेकपा विभाजनमा ओलीलाई बचाउन नेम्वाङले महत्वपूर्ण भूमिका खेलेको ओलीले आफू निकटसँग बताउने गरेका छन्।

त्यस्तै सचिव पृथ्वी सुब्बा गुरुङले पनि उपाध्यक्ष बन्ने चाहना राखेका छन्। नवौँ महाधिवेशनमा उनी सचिव निर्वाचित भएका थिए। ​​​​

महासचिव अर्थात् ओलीको उत्तराधिकारी
अध्यक्षपछिको शक्तिशाली कार्यकारी पद हो महासचिव। ओली संभवतः यो पदमा आफ्नो उत्तराधिकारीलाई उभ्याउन चाहन्छन्।

एमालेका एकथरी नेताहरु विष्णु पौडेल महासचिव हुने बताउँछन्। 

‘महासचिवले प्रस्तुत गर्नुपर्ने प्रस्तावित विधान पौडेलले नै प्रस्तुत गर्नुभएको थियो र धेरै हिसावले अहिले पनि उहाँले नै महासचिवको भूमिका खेलिरहनु भएको छ,’ पौडेलनिकट एक स्थायी समिति सदस्यले भने।

केही नेताहरू भने शंकर पोखरेललाई महासचिवको दाबेदार मान्छन्। 

तर, पोखरेलभन्दा पौडेल सिनियर, नेकपाको महासचिव रहिसकेका कारण महासचिव बन्न सक्ने सम्भावना उच्च रहेको नेताहरुको भनाइ छ।

‘स्वभाविक हिसाबले चयन हुँदा महासचिवमा कमरेड विष्णु पौडेलको सम्भावना उच्च छ,’ ती नेताले भने, ‘कमरेड शंकर पोखरेलभन्दा सबै हिसाबले सिनियर उहाँ हुनुहुन्छ।’

माधव नेपालसँग जान खोजेका १० नेतालाई एमालेमै राख्न पनि पौडेलको भूमिका महत्वपूर्ण रहेको ती नेताले बताए।

एमालेमा भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई पोलिटब्युरो सदस्य नभई स्थायी कमिटीमा आउँदा पौडेल पोलिटब्युरो सदस्य हुँदै नवौँ महाधिवेशनमा उपमहासचिव बनेका थिए।

२०५९ मा स्थायी कमिटीको वैकल्पिक सदस्य बनेका पौडेल २०६५ मा पार्टी बहुपदीय संरचनामा गएपछि पोखरेलसँगै सचिव बनेका थिए।

उपमहासचिव को?
असोज १५–१७ मा ललितपुरमा भएको विधान महाधिवेशनअघि एमालेमा २ वटा उपमहासचिव पद थियो, त्यसलाई खारेज गरेर अहिले एक उपमहासचिव बनाइएको छ। 

कतिपय नेताहरु शंकर पोखरेल उपमहासचिव बन्ने सम्भावना देख्छन्। तर, नवौँ महाधिवेशनबाट उपमहासचिव जितेका घनश्याम भुसाललाई व्यवस्थापन गर्नुपर्ने चुनौती ओलीसामु छ।

२०७१ मा उपमहासचिवमा हारेपछि ओलीले पोखरेललाई स्थायी कमिटीमा ल्याएका हुन्। दुई जना उपमहासचिवको व्यवस्था गरिएको भए संभवतः पोखरेल र भुसाल उपमहासचिव हुन्थे।

भुसाल पनि माधव नेपालको नयाँ पार्टीमा नलागी एमालेमै बसेका छन्। ओलीलाई पछिल्ला दिन अप्ठेरो पनि पारेका छैनन्। 

भुसालले भने पदाधिकारीहरु सबैजना अध्यक्षका लागि लड्न योग्य रहेको भन्दै आफु अध्यक्षमा प्रतिस्पर्धा गर्ने संकेत गरेका छन्। 

‘पदाधिकारी सबैजना अध्यक्षमा लड्न योग्य छौँ, अहिले नै अध्यक्षमा ओली नै निर्विकल्प भन्ने होइन। को, कहाँ र कसरी लड्ने भन्ने कुरा महाधिवेशनले तय गर्छ,’ उनले आइतबार केही संवाददाताहरूबीच भने।  

तर, स्थायी कमिटीका केही नेताहरूले भने ओलीले ११ औँ मात्र होइन १२ औँ महाधिवेशनमा नेतृत्वको विषय स्पष्ट हुनेगरी खाका कोरिसकेको दाबी गरेका छन्।

‘एमालेको अहिलेको महाधिवेशनले चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनको झल्को दिनेछ,’ ती नेताले भने, ‘अर्को महाधिवेशनमा पनि नयाँ उत्तराधिकारी को बन्छ भन्ने स्पष्ट संकेत पाइनेछ।’

को को बन्लान् सचिव?
दसौँ महाधिवेशनदेखि एमालेमा ७ जना सचिव हुनेछन्। नवौँ महाधिवेशनमा ५ जना थिए।

प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्टलाई सचिव पदमा यथास्थानमै कायम राख्न चाहन्छन् ओली। ओलीको योजना सफल भए बाँकी दुई सचिवमा रघुवीर महासेठ र छविलाल विश्वकर्मा ल्याउने उनको प्रयास हुनेछ।

विश्वकर्मालाई विष्णु पौडेलको पनि साथ छ। महासेठ २०७१ मा भएको नवौँ महाधिवेशनमा सचिव पदमा पराजित भएका थिए।

तर, सचिव रहेका अधिकांश त्यसभन्दा माथिल्लो पदमा जान इच्छुक छन्। यस्तोमा तिनलाई व्यवस्थापन गर्न कठिन हुनेछ। तर, चुनावै हुने परिस्थिति बन्यो भने पनि ओलीले चाहेको नतिजा निकाल्न सक्नेगरी नेताहरुलाई परिचालन गर्ने ती स्थायी समिति सदस्यले बताए।

फेरिनेछ यी दुई नेताको जिम्मेवारी 
दसौँ महाधिवेशनमा युवराज ज्ञवाली पदाधिकारी नबन्ने सम्भावना छ। अन्य क्षेत्रमा काम गर्ने उनको चाहना रहेकोले यसपटक ज्ञवालीलाई अनुशासन आयोगको अध्यक्ष बनाउने सम्भावना बढी रहेको एमाले वृत्तमा चर्चा छ। 

पार्टीभित्र नीति, नियम र पद्धतिको आवाज उठाउने उनलाई स्थायी कमिटी सदस्य पनि रहने गरी आयोगमा लैजाने ओलीको चाहना रहेको नेताहरुले बताए। 

त्यस्तै अहिले अनुशासन आयोगका अध्यक्ष रहेका अमृत बोहरालाई सल्लाहकार परिषद्को अध्यक्ष बनाउने तयारी रहेको एक नेताले बताए। 

‘युवराज ज्ञवालीलाई अनुशासन आयोगको अध्यक्ष बनाउने सम्भावना छ,’ ओलीको संकेत बुझेका एक नेताले भने, ‘पार्टीको पदाधिकारीमा उठ्न अमृत बोहरा कमरेडलाई मिल्दैन, उहाँ सल्लाहकार परिषदको अध्यक्ष बन्नुहुन्छ।’ 

सुरेन्द्र पाण्डे र रघुजी पन्त?
सुरेन्द्र पाण्डे नवौँ महाधिवेशनमा महासचिव पदमा ईश्वर पोखरेलसँग जम्मा ६ मतले पराजित भएका हुन्। 

यस्तै पन्त उपमहासचिव पदमा घनश्याम भुसालसँग १२८ मतले हारेका थिए।

माधव नेपालनिकट दुवैले भदौ १ गते एमाले विभाजनमा नेपाललाई साथ दिएनन्। त्यसैले उनीहरुलाई कुनै न कुनै पदमा व्यवस्थापन गर्नैपर्ने दबाब छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .