ad ad

राजनीति


नेपालकै ‘बलिया’ ओलम्पियन सुरेन्द्र हमाल बने मन्त्री

नेपालकै ‘बलिया’ ओलम्पियन सुरेन्द्र हमाल बने मन्त्री

नेपालगञ्जका सुरेन्द्र हमाल लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री बनेका छन्


केशव सावद
असोज २४, २०७८ आइतबार १९:४१, काठमाडौँ

नेपाली खेलकुद क्षेत्रमा कुनै समय ‘नेपालकै बलियो व्यक्ति’ को परिचय बनाएका नेपालगञ्जका सुरेन्द्र हमाल लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री बनेका छन्। 

भारत्तोलनका २०३८ सालदेखि एक दशकसम्म एकछत्र राज गरेका ओलम्पियन हमाल आइतबार नेपाली कांग्रेसका तर्फबाट प्रदेश सरकारमा मन्त्री बनेका हुन्। 

बाँके निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हमालले २०४१ सालमा कैलालीको धनगढीमा आयोजित राष्ट्रिय भारत्तोलन प्रतियोगितामा ‘नेपालकै बलियो व्यक्ति’ को उपाधि पाएका थिए। 

धनगढीमा सम्पन्न उक्त प्रतियोगितामा आफूले ‘नेपालकै बलियो व्यक्ति’ को उपाधिसँगै स्वर्ण पदकसमेत पाएको उनले नेपालखबरसँगको कुराकानीमा स्मरण गरे। 

‘२०४१ सालमा धनगढीमा राष्ट्रिय भारत्तोलन थियो,’ उनले भने, ‘त्यहाँ नेपालको बलियो व्यक्तिको उपाधि र बेस्ट लिफ्टरको उपाधि जितेको थिएँ।’

नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारी टोलका हमालको नाममा नेपाललाई भारत्तोलन प्रतियोगितामा पहिलो पदक दिलाउने कीर्तिमान पनि छ। उनले सन् १९८३ मा सिरियाको राजधानी दमास्कसमा आयोजित ३५ औं एसियन वेटलिफ्टिङ च्याम्पियनसिपमा देशलाई ‘स्न्याच’ विधामा कास्य पदक दिलाएका हुन्। 

हमालले १९८४ मा अमेरिकाको लस एन्जलसमा आयोजित ओलम्पिकमा भारत्तोलन खेलाडीका रुपमा नेपालको प्रतिनिधित्व गरेका थिए। उनको पहिलो अन्तराष्ट्रिय खेल भने सन् १९८२ मा भारतको नयाँ दिल्लीमा आयोजना भएको एसियन गेम्स थियो।

पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेको तीन वर्षपछि अर्थात् सन् १९८५ मा ‘वर्ल्ड एन्ड युरोपियन च्याम्पियनसिप’ मा नेपालको प्रतिनिधित्व गर्दै उनी रुसको मस्को पुगेका थिए। 

‘१९९० मा बेइजिङमा एसियन गेम्स भएको थियो। त्यहाँ म फिफ्थ भएको थिएँ,’ हमालले सुनाए, ‘अन्यत्र उपाधि जितिएन। सहभागी मात्रै भइयो।’

उनले २०३८ मा आयोजित तेस्रो राष्ट्रिय भारत्तोलन तथा प्रथम राष्ट्रिय खेलकुदबाट प्रतियोगितामा सहभागिता जनाउन सुरु गरेका थिए। पहिलो पटक प्रतिस्पर्धा गरेको राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेपछि हमालले २०४८ सम्म कहिल्यै दोस्रो हुन परेन। 

नवनियुक्त वनमन्त्री हमालले आफ्नो ज्यानले पनि भारत्तोलनतर्फ आकर्षित भएको कथा सुनाए। 

‘२०३७ मा नेपालगञ्जमा दोस्रो राष्ट्रिय भारत्तोलन प्रतियोगिता थियो। म हेर्न भनेर गएको,’ उनले भने, ‘त्यहाँ आफूजस्तै बलियो जिउडालका खेलाडी देखेँ। मनमनै लाग्यो– यो त मलाई सुहाउँदो खेल पो रहेछ। अब यतैतिर लाग्छु।’ 

हमालले काठमाडौंमा सम्पन्न पहिलो दक्षिण एसियाली खेलकुदमा भारत्तोलनमा तीन रजत जितेका थिए। उनले ‘स्न्याच’, ‘क्लिन एन्ड जर्क’ र ‘टोटल’ विधा (स्न्याच र क्लिन एन्ड जर्कको योग) तर्फ एक–एक रजत जितेका हुन्।

उनले नेपाललाई बंगलादेशमा सम्पन्न दोस्रो दक्षिण एसियाली खेलकुदमा दुई विधामा रजत, एक विधामा कास्य, पाकिस्तानमा सम्पन्न चौथो दक्षिण एसियाली खेलकुदमा तीन कास्य र श्रीलंकामा सम्पन्न पाँचौँ दक्षिण एसियाली खेलकुदमा तीनवटै विधामा कास्य पदक दिलाएका थिए।

चौथो दक्षिण एसियाली खेलकुदमा भने उनी सहभागी हुन पाएनन्। त्यो समय उनी प्रतिबन्धमा परेका थिए। 

‘२०४२–०४३ तिर रेस्ट्रिक्टेडमा परेँ। नियमको कुरालाई लिएर वादविवाद भएको थियो,’ हमालले भने, ‘चौथो साग त्यही भएर खेल्न पाइएन।’

उनले २०४८ सालमा गृहनगर नेपालगञ्जमा आयोजित राष्ट्रिय भारत्तोलन प्रतियोगितामा स्वर्ण जित्दै सन्यासको घोषणा गरेका थिए। भारत्तोलनबाट सन्यासको घोषणा गरेर कांग्रेसको सक्रिय राजनीतिमा लागेको हमालले जानकारी दिए। 

‘आफ्नै सहरमा भएको नेशनल गेममा गोल्ड जितेँ र सन्यास लिएँ। त्यसपछि म पार्टी पोलिटिक्समा लागेँ। हुन त पहिलेबाटै म कांग्रेसकै राजनीतिमा थिए,’ उनले भने। 

भारत्तोलनबाट सन्यास घोषणा गरेको एक वर्षपछि हमाल २०४९ सालमा नेपालगञ्ज नगरपालिकाको उपप्रमुख भएका थिए। 

वि.सं. २०१९ साल नेपालगञ्जको घरबारी टोलमा जन्मिएका हमाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोषाध्यक्षसमेत भइसकेका छन्। 

हमालले २०३३ सालमा टेबलटेनिसको राष्ट्रिय प्रतियोगिता खेलेका थिए। त्यो बेला उनी मात्र १४ वर्षका थिए। टेबलटेनिसपछि हमाल क्रिकेटतर्फ आकर्षित भए। उनले २०३५ सालमा राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको सुनाए। 

त्यो बेला हमाल भेरी अञ्चलको टिमबाट राष्ट्रिय प्रतियोगितामा सहभागी भएका थिए। उक्त प्रतियोगितामा उनको टिम र बाथमतीको टिम संयुक्त विजेता बनाइएका थिए। 

‘फाइनलमा पानी परेर भेरी र बागमतीलाई ज्वाइन्ट विनर बनायो। दुवै टिम विजेता भयौँ,’ हमालले भने, ‘त्यो बेला अहिलेको जस्तो क्रिकेटमा डकवर्थ लुइस नियम थिएन। यसैले दुवै टिम विजेता बनाइयो।’

क्रिकेट खेल्दै गर्दा उनी कांग्रेसको विद्यार्थी राजनीतिमा लागिसकेका थिए। २०३५ सालदेखि विद्यार्थी राजनीतिमा लागेका हमाल २०३७ सालमा नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सचिवमा विजयी भएका थिए। 

२०४२ मा स्ववियु सभापति बनेका हमाल २०४४ मा फेरि सचिव बने। 

‘३७ सालमा सचिव भएँ, ४२ सालमा सभापति भएँ। फेरि ४४ सालमा स्ववियु सचिव नै बन्नुपर्ने भयो,’ उनले हाँस्दै भने, ‘सभापति भइसकेको मान्छे सचिव भएको सुन्दा अप्ठ्यारो नमान्नुस्। मेरो साथी महेश मल्लले सभापति हुने इच्छा देखाए। म काठमाडौँमै बस्ने भएकाले पनि ठीकै छ नि त भनेँ। तर, अरु साथीहरुले मानेनन्। म नभई नहुने भयो, अनि सचिव बनाइयो।’
  
परिवार नै राजनीतिमा 
हमाल प्रदेशसभा निर्वाचनमा बाँकेबाट विजयी हुने एकमात्र कांग्रेस नेता हुन्। उनले नौ हजार दुई सय ११ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फोरमका दुर्गेशकुमार गुप्ताले आठ हजार चार सय ३२ मत पाएका थिए।   

हमाल ६ भाइमध्ये पाँचौँ हुन्। उनका माइला दाइ रणेन्द्र हमाल (भाइराजा) ११ वर्षसम्म लगातार कांग्रेस बाँकेको सभापति थिए। भाइराजाको २०४४ मा निधन भयो। भाइराजाकी धर्मपत्नी उत्तम हमाल नेपाल महिला संघ बाँकेकी संस्थापक अध्यक्ष हुन्।

२०४६ सालमा महिला संघको जिल्ला अध्यक्ष बनेकी उत्तम २०५४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षमा विजयी भएकी थिइन्।

साइँला दाइ गजेन्द्र हमाल तीन दिनअघि संघीय सरकार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका थिए। तर, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भाग खोजेर आफ्नो जेठान अर्थात् हमाललाई मन्त्री बनाएको आरोप लागेपछि आइतबार उनले राजीनामा दिएका छन्।

गजेन्द्र २०३९ र २०४४ सालमा वडाध्यक्षमा विजयी भएका थिए। उनी २०५३ सालमा कांग्रेस बाँकेको सभापति चुनिएका थिए। 

प्रधानमन्त्री देउवाले पार्टी विभाजन गर्दा गजेन्द्रले साथ दिएका थिए। २०५८ सालमा देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गर्दा उनी बाँके सभापति बनेका थिए। गजेन्द्रले कांग्रेस प्रजातान्त्रिक छनोट गर्दा बाँकेका २१ जना महाधिवेशन प्रतिनिधिमध्ये १८ जनाले उनलाई साथ दिएको हमालले बताए। 

‘कांग्रेस प्रजातान्त्रिकको उहाँ संस्थापक जिल्ला सभापति हो,’ सुरेन्द्रले भने, ‘त्यो बेला जिल्लाबाट २१ जना महाधिवेशन प्रतिनिधि हुन्थे। सुशील कोइरालाको गृहजिल्ला भए पनि १८ जनाले दाजुलाई साथ दिनुभएको थियो।’  

नवनियुक्त वनमन्त्री हमालका कान्छा भाइ जितेन्द्र हमाल बाँके क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य छन्। उनका भतिजा रवीन्द्र हमाल यसअघिको कार्यसमितिमा बाँकेका जिल्ला सचिव थिए। 

‘हाम्रो परिवार नै कांग्रेस हो। त्यसमा पनि हामी उहिल्यैबाट शेरबहादुर देउवानिकट हौं,’ हमालले भने, ‘हामी दाजुभाइ मात्र होइनौँ, भतिजो पनि कांग्रेसकै राजनीतिमा छ। ऊ १२ औँ महाधिवेशनमा बाँकेको जिल्ला सचिव भएको हो।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .