प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बालुवाटारमा चर्काचर्की भएको छ।
मन्त्रालय भागवण्डाबारेमा छलफल गर्न बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकमा दुई नेताबीच चर्काचर्की भएको हो।
कांग्रेसको आसन्न चौधौं महाधिवेशनका क्रममा क्रियाशील सदस्य र पालिका तथा जिल्ला अधिवेशनमा भइरहेको दुई पक्षबीचको विवादको बाछिटा बालुवाटार बैठकमा पनि परेको हो।
बैठकमा क्रियाशील सदस्यतासम्बन्धीको विवादले प्रवेश पाएपछि प्रधानमन्त्री देउवा र नेता पौडेलबीच चर्काचर्की भएको सहभागी एक नेताले बताएका छन्।
स्रोतका अनुसार रौतहट र सर्लाहीको क्रियाशील सदस्यता विवादमा पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्रधानमन्त्री देउवासँग चर्काचर्की भएको हो।
रौतहट र सर्लाहीको बरहथवाका कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसनमा बसिरहेका छन्।
कांग्रेस पदाधिकारी बैठक : रामचन्द्र पौडेलले प्रधानमन्त्रीसँग मागे तीन मन्त्रालय
बैठकमा पौडेल र सिंहले क्रियाशील सदस्यताको विवाद समाधान गरी अनसन टुङ्ग्याउँदै अनसनकारीलाई दसैं मान्न दिनुपर्ने बताएको स्रोतको भनाइ छ।
तर प्रधानमन्त्री देउवाले जवाफमा ‘चिसो छिँडीमा बसेर बिरामी परे भन्नु भन्दा अस्पताल लैजानु’ भनेपछि माहोल बिग्रिएको स्रोतले बताएको छ।
तर, पौडेल, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री सिंहले प्रधानमन्त्रीको उक्त भनाइको तत्कालै प्रतिवाद गरेका थिए।
‘सभापतिले कार्यकर्ता मार्ने हो कि बचाउने हो?', प्रतिवाद गर्दै उनीहरुले भनेका थिए, 'राजनीति मुद्दा अस्पताल भर्ना गरेर समाधान हुन्छ?’
नेताहरुसँग चर्काचर्की परेपछि देउवाले पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई बोलाएका थिए।
उनले पौडेलमार्फत पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदललाई बिहीबारसम्म विवाद मिलाउन निर्देशन दिएका थिए।
कार्यदलमा केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक पनि सदस्य छन्।
Shares

प्रतिक्रिया