नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूनिकट नेताहरुको बैठक डाकेका छन्।
उनले पार्टीको जारी अधिवेशनबारे छलफल गर्न ‘तेस्रो धार’का रुपमा चिनिएको समूहमा रहेका नेताहरुको बैठक डाकेका हुन्।
काठमाडौंको जमलमा दिउँसो १ बजे बस्ने बैठकमा आसन्न महाधिवेशन, महाधिवेशनअघि अहिलेसम्म सम्पन्न अधिवेशन र मन्त्रिपरिषद्मा पठाउने नेताबारे छलफल हुने स्रोतले जनाएको छ।
नेता सिटौलाका स्वकीय सचिव किरण सिटौलाले अहिलेसम्म भएका अधिवेशनबारे छलफल गर्न बैठक बोलाइएको जानकारी दिए।
उनले बैठकमा मन्त्रिपरिषद् केन्द्रित कुराकानी हुन सक्ने पनि बताए। ‘त्यसबारे छलफलमा कुरा आउन सक्ला। तर, उमाकान्त चौधरी मन्त्रीका लागि स्वाभाविक नाम हो', उनले भने, 'उहाँलाई नै पठाउनेमा हामी माझ विमति छैन।’
बैठकमा सिटौलाले नेताहरु भीमसेनदास प्रधान, उमाकान्त चौधरी, शिव हुमागाईं, प्रदीप पौडेल र गगन थापालाई बोलाएका छन्।
यद्यपि, महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका नेता थापाले सिटौला समूह छाडेको संकेत गरिसकेका छन्।
उनले काठमाडौं महानगरपालिका अधिवेशनमा नेता प्रधानको विपक्षमा उभिएर सिटौला समूह छाडेको संकेत गरेको कांग्रेसवृत्तमा चर्चा छ।
सिटौला समूहमा रहेका एक नेताले बैठकमा थापालाई पनि बोलाइएको पुष्टि गर्दै भने, ‘गगनलाई पनि बोलाइएको छ। उनी आउने नआउने थाहा भएन।’
Shares

प्रतिक्रिया