कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको बताएका छन्।
विराटनगर विमानस्थलमा शुक्रबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले दुवै अध्यक्षबीच पार्टी एकीकरणका बेला त्यस्तो कुनै सहमति नभएको प्रष्ट पारे। पोखरेलले दुवै अध्यक्षबीच दैनिक भेटघाट र पार्टीका विषयमा छलफल भइरहेको बताए। दुवै अध्यक्षको सहमतिमा पार्टी चलेको दावी गर्दै उनले आलोपालो प्रधानमन्त्री बन्ने विषयमा कुनै सहमति नभएको दावी गरे। ‘सहमतिकै आधारमा पार्टी चलेको छ र सहमतिअनुसार नै दुई जना अध्यक्ष बनेर चलिरहेको छ,’ उनले भने, ‘आलोपालो प्रधानमन्त्री बन्ने विषयमा कुनै किसिमको संस्थागत सहमति भएको छैन।'
उनले दुवै पार्टी अलग–अलग पृष्ठभूमिबाट आएका हुनाले पार्टीभित्र छलफल र बहस हुनु सामान्य कुरा भएको र यसलाई हामीले विवाद भन्न नमिल्ने विचार राखे।
अखबारमा आएका दुई अध्यक्षबीच विवादसम्बन्धी समाचारमा सत्यता नभएको टिप्पणी गर्दै उनले आवश्यकताअनुसार दुवै अध्यक्षले पार्टीको कामको जिम्मेवारी लिन सक्नुहुने धारणा व्यक्त गरे। ‘अध्यक्षद्वयबीच निरन्तर संवाद भइरहेको छ, विवाद छैन’, उनले भने।
उनले गौर हत्याकाण्डका दोषीलाई पनि कारबाही हुने दावी गरे। तत्कालीन फोरम कार्यकर्ताले गौरमामा त्यकालीन माओवादीका नेता, कार्यकर्ता र समर्थकको सामूहिक हत्या गरेका थिए। प्रकारले यिसै विषयलाई लिए र सोधेको प्रश्नमा उनले भने, ‘गौर हत्या काण्डको पनि छानबिन हुन्छ, विगतमा भएका जुनसुकै अपराधहरु तथ्यसहित अगाडि आए भने तिनीहरुमाथि छानबिन हुन्छ, दोषी भेटिए कारबाही हुन्छ।’
रक्षामन्त्री पोखरेलले नेकपा विप्लव समूहले राखेको शर्तको आधारमा वार्ता हुन नसक्ने स्पष्ट पार्दै शान्तिपूर्ण मूलधारको राजनीतिमा आउनेलाई सदैव स्वागत गर्ने बताए।
Shares

प्रतिक्रिया