अवैध हुन्डी कारोबारमा संलग्न छ जनालाई प्रहरीले बारा र पर्सा जिल्लाबाट पक्राउ गरेको छ। प्रहरीले छुट्टाछुट्टै मितिमा पक्राउ परेका हुन्डी कारोबारीको साथबाट २९ लाख ३३ हजार ५ सय ६० रुपैयाँ अवैध रकमसमेत बरामद गरेको छ।
यही कात्तिक ४ गते प्रहरीले पर्सा वीरगञ्ज महानगर १६ स्थित रजतजयन्तीबाट भारत विहारका कृष्ण मोहन कलवारको साथबाट स्रोत खुलाउन नसकेको ५ लाख ८३ हजार ५ सय ६० रुपैयाँ, दुई थान सुनको सिक्का, विभिन्न बैंकका चेकबुक र भौचर बरामद गरेको थियो। त्यस्तै बिहीबार पनि सोही स्थानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ।
उनीहरुको साथबाट १० लाख र ५ थान मोबाइल तथा एउटा मोटरसाइकल बरामद गरेको छ। पक्राउ पर्नेमा बारा खटुवा प्रसौनी गाउँपालिकाका वीरेन्द्र साह, बारागढी २ दौरुवाटोलका शनि जैसवाल र भारत रामगढवा बस्ने सकिर मिया रहेका छन्।
त्यस्तै आज पनि वीरगञ्जबाट दुई जना हुन्डी कारोबारी समातिएका छन्। प्रहरीले भारत विहारका गोपाल प्रसाद अग्रवाल र पर्सा वीरगञ्ज महानगर १४ का मन्टु कुमार साह कानुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट क्रमशः नौ लाख र ४ लाख ५० हजार गरी कुल १३ लाख ५० हजार अवैध रकम बरामद भएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया