राजनीति


ओलीलाई हटाउने न्यायाधीशलाई सरकारले पुरस्कृत गर्यो : सुवास नेम्वाङ

ओलीलाई हटाउने न्यायाधीशलाई सरकारले पुरस्कृत गर्यो : सुवास नेम्वाङ

नेपालखबर
असोज ३, २०७८ आइतबार १२:४३, काठमाडौँ

प्रमुखप प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न फैसला दिने न्यायाधीशहरूलाई शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारले पुरस्कृत गरेको बताएका छन्। 

एमालेद्वारा आइतबार च्यासलमा आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। एमाले फुटाउन भूमिका खेल्ने र फैसला सुनाउने न्यायाधीशलाई समेत सरकारी मानपदवी-अलंकार प्रदान गरिनुलाई नेम्वाङले अर्थपूर्ण भनेका छन्। 

‘ओली सरकारलाई विस्थापित गर्ने फैसला गरेका अदालतका सम्बन्धित न्यायाधीशहरु, सरकारकाविरुद्ध मुद्दा दर्ता गर्ने प्रयास गर्नेहरु पक्षहरुले महत्वपूर्ण मेडल पाउनुभयो', नेम्वाङले भने।

सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्जवल राष्ट्रद्वीप र न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्जवल कीर्तिमय राष्ट्रद्वीप पदक दिने निर्णय लिएको छ।

त्यसैगरी दोस्रो पटक भएको प्रतिनिधि सभा विघटनको मुद्दामा मुद्दामा शेरबहादुर देउवाले हालेको रिटमाथि बहस गर्ने वरिष्ठ अधिवक्ताहरू महादेवप्रसाद यादव, बद्रीबहादुर कार्की, महादेव प्रसाद यादव, हरिहर दाहाल, मिथिलेश सिंह, रमण श्रेष्ठ, गोविन्द बन्दी, पदम रोक्का र दिनेश त्रिपाठीलाई सुकीर्तिमय राष्ट्रद्वीप पदक दिइएको छ। 

राष्ट्रपतिबाट बाँडिएको पदकले देश कतातिर अघि बढिरहेको भन्दै उनले संविधान कार्यान्वयनको चरणमा रहेकाले सबैलाई विश्वस्त दिलाउँदै थप प्रतिवद्धता जनाउनुपर्नेमा उल्टो पुरस्कार घोषणा गरेको टिप्पणी गरेका छन्।

दिल्लीमा बसेर एमाले फुटाउन भूमिका खेल्नेले समेत पदक पाएको नेम्वाङले बताए। 

'एकजना साथी दिल्लीबाटै पार्टी फुटाउन भूमिका खेल्नुभएको थियो, उहाँले समेत मेडल पाउनु भएछ। एमाले फुटाउन नेपालमै सक्रिय दुईजनाका परिवारले पनि मेडल पाउनुभए। कसैले मरणोपरान्त पाउनुभएछ', उन झलनाथ खनाल, माधव नेपाल प्रचण्डतिर लक्षित गर्दै भने, 'ओली सरकारविरुद्ध मुद्दा लगाउनेले पनि मेडल पाएछन्। मुद्दा लगाउन भूमिका खेल्ने कानुन व्यवसायीले पनि मेडल पाउनु भएछ। अरु हिसाबले भूमिका खेल्नेले मेडल पाउनु भएछ। मुद्दामा फैसला गर्ने न्यायाधीशले पनि मेडल पाउनुभएछ।’

सरकारले खनाललाई राष्ट्र गौरव विभूषण प्रदान गर्ने निर्णय भएको छ। ९०३ जनाको सूचीमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका दिवंगत पिता मंगलप्रसाद उपाध्याय र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको नाम पनि समावेश छ। 

'पारी चितुवा करायो वारी सिँगारी हरायो' भनेजस्तै संविधान दिवसकै पदकको घोषणा गरिनु उचित नभएको उनले बताएका छन्। ‘न्यायाधीशहरूलाई आग्रह गर्छु, यस्तो सन्देश जान दिनुहुँदैन। यहाँहरूले तुरुन्तै यो दिएको मेडललाई हामी अस्वीकार गर्छौं भन्नुस्', उनले थपे, 'अस्वीकार गरिदिएको घोषणा गरिदिनुस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad