ad ad

राजनीति


एक महिना पनि टिकेन कांग्रेसलाई टक्कर दिन खुलेको नेशनल लिग

कांग्रेसको प्रचार आशंकामा राणाहरु रिसाए
एक महिना पनि टिकेन कांग्रेसलाई टक्कर दिन खुलेको नेशनल लिग

केशव सावद
भदौ ३०, २०७८ बुधबार ८:१२, काठमाडौँ

भारतको बनारसमा वि.सं. २००३ कात्तिक १५ गते प्रवासी नेपाली युवाको एउटा गोष्ठी आयोजना गरियो। नेपाली छात्र संघको आयोजनामा सम्पन्न गोष्ठीमा नेपालका सबै क्षेत्रको प्रतिनिधित्व थियो। 

प्रवासमा नै राजनीतिक संगठन खोल्ने मुख्य उदेश्य राखेर गोष्ठीको आयोजना गरिएको थियो। त्यसअघि २००३ असोज १६ गते बीपी कोइरालाले नेपाल र भारत दुवैतर्फ विचार पुर्याउनपर्ने किसिमको नेपालीहरुको अखिल भारतीय संगठनको खाँचो औँल्याएका थिए।

बीपीले भारतको पटनामा ‘नेपालमा राणा शासनको अन्त गरी प्रजातन्त्रको स्थापना हुनुपर्ने ऐतिहासिक आवश्यकता उल्लेख गर्दै’ ऐतिहासिक ‘नेपाल आह्वान’ गरेको भोला चटर्जीलाई उधृत गर्दै डा. राजेश गौतमले आफ्नो पुस्तक ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस’ मा लेखेका छन्।

बीपीको ‘नेपाल आह्वान’ पटनाबाट प्रकाशित हुने ‘सर्चलाइट’ पत्रिकामा प्रकाशन गरिएको थियो। पत्रिकाले त्यसलाई ‘सम्पादकलाई चिठ्ठी’ स्तम्भमा प्रकाशन गरेको थियो। 

नेपालबाट राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि बीपीले नेपालीहरुलाई गरेको पहिलो आह्वान थियो। डा. गौतमका शब्दमा त्यो आह्वान जागरणको शंखनाद थियो, जसले धेरैको ध्यान खिच्न पनि सफल भएको थियो। 

बीपीको सोही आव्हानपछि नेपाली छात्र संघको आयोजनामा पटनामा सम्पन्न गोष्ठीले ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ नामक राजनीतिक संगठन स्थापना गरेको थियो। देवीप्रसाद सापकोटा त्यसको सभापति बनेका थिए।

डा. गौतमका अनुसार सापकोटा राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा वैदेशिक विभागका सुब्बा थिए। बेलायतले तिब्बतमा आक्रमण गर्दा नेपालले भोट र नेपालबीच ई.सं. १८४६ मा भएको सन्धि–पत्र अनुसार अंग्रेजलाई सहयोग गर्न नहुने सुझाव उनले दिएका थिए। त्यसपछि उनी राणाहरूको डरले देश छाडी भारत गएर बसेका थिए।

भारतमा ‘गोरखाली’ नामक साप्ताहिक पत्र प्रकाशन गरेका सापकोटा ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’को सभापति हुँदा कान पनि सुन्दैन थिए, आँखा पनि देख्दैन थिए। उनको पत्रिका प्रकाशन भएको चार वर्षपछि अंग्रेज सरकारले बन्द गरेको थियो। 

अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसले आफ्नो स्थापनाको तीन महिना पुग्नै लाग्दा २००३ माघ १२ र १३ गते कलकत्तामा आयोजना गरेको अधिवेशनले ‘नेपाली राष्ट्रिय कांग्रेस’ स्थापना गरेको थियो।

विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंहलगायत २ सय प्रतिनिधिको उपस्थितिमा सम्पन्न अधिवेशनले नेपालको जेलमा बन्दी रहेका प्रजा परिषद्का सभापति टंकप्रसाद आचार्यलाई पार्टीको अध्यक्षमा मनोनित गरेको थियो। 

राणा शासन अन्त्यको मुख्य उदेश्य राखेर भारतीय भूमिमा राष्ट्रिय कांग्रेस स्थापना भएपछि नेपालभित्रै अर्को संगठन खोल्ने प्रयास भयो।

जसको अगुवाइ गोपालप्रसाद रिमालले गरेका थिए। २००३ माघ अन्तिमतिर गठित लिगमा विजयबहादुर मल्ल, गोपालदास श्रेष्ठ, श्यामदास वैष्णव, दमनराज तुलाधर, पुष्पलाल श्रेष्ठ, जैनेन्द्रबहादुर थपलिया, तीर्थराज तुलाधर र कृष्णप्रसाद रिमाल पनि संलग्न भएका थिए। 

‘भारतीय भूमिमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाको खबरले त्यो जमातलाई ठूलो पिर पर्‍यो। यसमा गोपालप्रसाद रिमाल, दमनराज तुलाधर जस्ता व्यक्तिहरु नै त्यतिखेर अगाडि देखा परे र उनीहरुले आफ्नै किसिमले सोच्न थाले। जसको परिणामस्वरुप नै नेपाल नेशनल लिग (नेपाल राष्ट्रिय संगठन)को स्थापना हुन गएको थियो,’ डा. गौतमद्वारा लिखित ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस’ नामक पुस्तकमा भनिएको छ। 

यो समूहले पशुपति र शोभाभगवती मन्दिरमा नियमित भजन गर्ने बहानामा मानिसहरु जम्मा गरी राजनीतिक क्रियाकलाप गर्न थाल्यो। राजालाई केन्द्रमा राखेर शान्तिसुरक्षा खलल नपारी सामाजिक र राजनीतिक चेतना जगाउने उनीहरुको उदेश्य थियो।

नारी शिक्षा, सेनामा जाति भेद हटाउने, उपत्यका छिर्न राहदानी चाहिने व्यवस्था हटाएर भारत जाँदा मात्रै चाहिने व्यवस्था राख्नुपर्ने लगायतका विषयमा विभिन्न भाषामा पुस्तिका र पर्चा प्रकाशित गर्न थालियो। 

यो समूहले भारतमा गठित राष्ट्रिय कांग्रेसको पनि विरोध गर्ने गरेको डा. गौतमले उल्लेख गरेका छन्। 

‘...कलकत्तामा केही युवकहरूले नेपाली राष्ट्रिय कांग्रेस नामक एक राजनीतिक संगठन खोलेका छन्। तर, त्यसरी बाहर बसी राजनैतिक कारबाही गर्नु त झुल बाहिर लामखुट्टे कराउनु जस्तो मात्र हुनेछ,’ रिमालको भनाइ गौतमले उधृत गरेका छन्। 

तर, देशभित्र बसेर राजनीतिक गतिविधि गर्ने उनीहरुको योजना सफल भएन। एक महिना नपुग्दै राणा शासकले नेशनल लिगका गतिविधिमा शंका गर्न थाले। २००३ फागुन अन्तिमतिर संगठनका सदस्यहरुलाई सरकारले धमाधम गिरफ्तार गर्यो। गिरफ्तार हुनेमा गोपालप्रसाद रिमाल, दमनराज तुलाधर, तीर्थराज तुलाधर, कृष्णप्रसाद रिमाल, पुष्पलाल श्रेष्ठ, जैनेन्द्रबहादेर थपलिया थिए।

डा. गौतमका अनुसार उनीहरुमध्ये कसैलाई घरबाट र कसैलाई मन्दिरमा प्रार्थना गर्दागर्दै पक्राउ गरिएको थियो। यसरी राष्ट्रिय कांग्रेससँग प्रतिस्पर्धा गर्न खोजेको संगठनको अन्त्य भएको थियो।

‘गिरफ्तार गरिएकालाई २००३ चैत २० गते बुधबारका दिन एक वर्षको कैद सजाय सुनाइयो। अन्य सदस्यहरु भने गिरफ्तारीबाट बच्न नेपाल छाडी भारततर्फ लागे।

उनीहरुमध्ये कोही नेपाली राष्ट्रिय कांग्रेसको गतिविधिमा संलग्न भए भने कोही स्वतन्त्र भएर नै बसे,’ डा. गौतमले भनेका छन्, ‘गिरफ्तार गरिएकाहरु २००४ चैत ८ गते शनिबारका दिन छुटे। यसरी छुट्नेहरुमध्ये केही भारत गई नेपाली राष्ट्रिय कांग्रेसमा नै संलग्न भए। जे होस् उक्त गिरफ्तारीको घटना पछि नेपाल नेशनल लिग को अन्त भयो।  

लिगका सदस्य गोपालदास श्रेष्ठले भने राणाहरुले चियो गर्नुअघि नै यी गतिविधि त्यागिसकेका थिए भने विजय मल्ललाई परिवारले काठमाडौँबाट भगाइसकेको थियो।

याे पनि : ​बीपीको त्यो वक्तव्य, जसले दुई कांग्रेसबीच एकता गरायो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .