ad ad

राजनीति


अब कहिले पास हुन्छ बजेट?

अध्यादेश निष्क्रिय हुँदा बजेटविहीन देश
अब कहिले पास हुन्छ बजेट?

सागर न्यौपाने
भदौ २९, २०७८ मंगलबार १६:५६, काठमाडौँ

सरकारले पेश गरेको प्रतिस्थापन विधेयक परिपक्‍व हुन समय लाग्ने भएकोले असोजको दोस्रो वा तेस्रो हप्ता मात्रै संसदबाट पास हुने भएको छ।

प्रतिनिधि र राष्ट्रियसभाबाट प्रतिस्थापन विधेयक पारित हुनुपर्ने भएकोले पास हुन कम्तीमा असोज दोस्रो हप्तादेखि तेस्रो हप्ता लाग्ने भएको हो।  

अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते प्रतिनिधि सभामा पेश गरेको प्रतिस्थापन विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव मंगलबार बसेको प्रतिनिधि सभाको बैठकबाट पारित भएको छ। 

केपी शर्मा ओली नेतृत्वको सरकारले जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेटलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले साउन ३ मा संसदमा पेश गरेको थियो।

त्यसैलाई प्रतिस्थापन गर्नेगरी सरकारले भदौ २५ मा प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक पेश गरी विचार गरियोस् भन्ने प्रस्ताव पारित गरिसकेको छ। 

तर संसदमा पेश भएको ६० दिनभित्र बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न नसक्दा बुधबारदेखि केही सातालाई देश बजेटविहीन हुने अवस्था आएको छ।

अब के हुन्छ ?

अध्यादेशमार्फत ल्याइएको बजेटलाई सरकारले प्रतिस्थापन गर्नेगरी ल्याएको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव मंगलबार प्रतिनिधिसभाबाट पारित भइसकेपछि बजेट पास गर्ने प्रक्रिया अघि बढिसकेको छ।

विधेयकमाथि संशोधन हाल्नका लागि प्रतिनिधि सभाका सदस्यलाई ७२ घण्टाको समय दिइएको छ। त्यो भनेको असोज १ गतेसम्म सांसदहरुले संशोधन हाल्ने समय पाएका छन्। 

असोज २ गते शनिबार परेको छ। असोज ३ गते संविधान दिवसको सार्वजनिक विदा छ। त्यहीकारण प्रतिनिधि सभाको असोज ४ गते बस्ने बैठकमा प्रतिस्थापन विधेयक पास गर्ने सरकारको तयारी देखिन्छ।

अहिले नेपाली कांग्रेस ६१, माओवादी केन्द्र ४९, जनता समाजवादी पार्टी (जसपा) १९, नेकपा एकीकृत समाजवादी २२, राष्ट्रिय जनमोर्चाको १ गरी गठबन्धनको सरकार छ। यी दलसँग १ सय ५२ सांसद छन्।

यस आधारमा असोज ४ गते नै प्रतिस्थापन विधेयक पास गरेर राष्ट्रिय सभामा पनि पेश गर्ने सरकारको तयारी छ। प्रतिस्थापन विधेयक पारित नहुँदा बजेट पास गर्ने प्रक्रिया अघि बढ्दैन। जसकारण सरकारले खर्च गर्ने बजेट रोकिएको छ।

सरकारले खर्च गर्ने रकम रोकिएकै कारण सरकार पनि दबाबमा छ। यद्यपि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिस्थापन विधेयक संसद्मा पारित नहुँदा पनि सरकारी खर्च गर्न नरोकिने दाबी गरे।

उनले भने, ‘हिजो जसरी खर्च चल्यो त्यसरी नै चल्छ।’अर्थमन्त्री जनार्दन शर्माले भने प्रतिस्थापन विधेयक पारित नहुँदा ५-७ दिन सरकारी खर्च रोकिने स्वीकार गरे। 

यसकारण सत्तापक्ष प्रतिस्थापन विधेयक असोज ४ गते नै पास गर्ने योजनामा छ। नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले पूर्ण बजेट आएका कारणले त्यसलाई पास गरेर जाने बताइन्।

'यो पूर्ण बजेट हो। यसका लागि प्रतिस्थापन विधेयक पास गरेर त्यही दिन राष्ट्रियसभामा पठाउँछौँ', उनले भनिनन्। प्रतिस्थापन विधेयक पास गर्ने क्रममा सत्तापक्षका सबै दलले आफ्ना पार्टीका सांसदहरुलाई ह्वीप लगाउन सक्नेछन्।

प्रतिनिधि सभाबाट पास भएको विधेयकलाई राष्ट्रिय सभा पेश गरेपछि प्रतिस्थापन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव हुनेछ। 

त्यसपछि राष्ट्रियसभाका सदस्यलाई पनि विधेयकमाथि संशोधन गर्नको लागि ७२ घण्टाको समय दिइनेछ। यदि असोज ४ गते नै राष्ट्रिय सभामा पेश भए, त्यसको ७२ घण्टा दिइन्छ, त्यो भनेको असोज ७ गते हुन्छ। 

दिइएको समय पूरा भएपछि बस्ने राष्ट्रिय सभाको बैठकबाट प्रतिस्थापन विधेयक पास गरेर प्रतिनिधि सभामा पठाउँछ। त्यो विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रमाणीकरणका लागि गराउन सक्छन्। 

बजेटसम्बन्धी विधेयकलाई राष्ट्रपतिबाट ढिलाई नगरी प्रमाणीकरण  गर्ने प्रचलन छ। यहाँनिर, राष्ट्रिय सभामा पेश भएको प्रतिस्थापन विधेयक १५ दिनभित्र पास गर्नुपर्ने प्रावधान छ। अर्थात, पास गरेर पठाउन राष्ट्रिय सभालाई १५ दिन समय हुन्छ।

यदि १५ दिनभित्र पनि अघि नबढे त्यो विधेयक पारित गर्न प्रतिनिधि सभामा प्रक्रिया अघि बढ्छ। १५ दिनभित्र पनि राष्ट्रिय सभाबाट पास नभएपनि प्रतिनिधि सभाले प्रक्रिया अघि बढाउन बाधा नपर्ने व्यवस्था छ।

आर्थिक विधेयकलाई अगाडि बढाउने प्रक्रिया राष्ट्रिय सभाले रोक्न नमिल्ने व्यवस्था छ। यदि ४ गते प्रतिनिधि सभाले पास गरेर त्यही दिन राष्ट्रिय सभा पठायो र त्यही दिन राष्ट्रिय सभामा टेबल भयो भने असोज ९ गतेसम्म बजेट पास भइसक्छ।

यदि राष्ट्रिय सभामा केही दिन होल्ड भयो भने असोज ११ गते हुन सक्छ। तर, राष्ट्रिय सभाले आफूले पाउने १५ दिन समय लियो भने असोज १९ गतेतिर प्रतिनिधि सभाको बैठक बसेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणको लागि पठाउने सक्छन्।

यस हिसाबले भने असोज २० वा २१ भित्र बजेट पास हुन्छ। 

निर्णायक असोज ४ 

प्रतिनिधि सभाको बैठक असोज ४ गते विहान ११ बजे बस्दैछ। त्यही दिन प्रतिस्थापन विधेयक पारित गरेर राष्ट्रिय सभामा पनि पेश हुन सक्छ। 

सत्तारुढ दलले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित गराई प्रतिस्थापन विधेयक बहुमतबाट पास गर्ने योजनामा छन्। सत्तारुढ दलसँग अहिले स्पष्ट बहुमत छ।

प्रमुख प्रतिपक्षी दलले लगातार संसद अवरुद्ध गरिरहेकै बेला प्रतिनिधि सभामा प्रतिस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ। 

नेपाली कांग्रेसले मंगलबारबाट नै विधेयकलाई पास गराउन प्रक्रियामा सबैलाई अनिवार्य उपस्थित गराउन सुरु गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .