ad ad

राजनीति


माओवादी केन्द्रले एमसीसी संसदबाट पास हुन नदिने

गोलमोटोल जवाफ आयो, चित्त बुझ्दो भएन : देव गुरुङ
माओवादी केन्द्रले एमसीसी संसदबाट पास हुन नदिने

सागर न्यौपाने
भदौ २४, २०७८ बिहिबार १३:५४, काठमाडौँ

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अहिलेकै अवस्थामा संसदबाट पास हुन नदिने अडान लिएको छ।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् संघीय संसदमा प्रमुख सचेतक देवप्रसाद गुरुङले एमसीसीबारे अमेरिकाले चित्त बुझ्दो जवाफ नदिएकाले यही अवस्थामा स्वीकार गर्न नसकिने बताएका छन्।

नेपाल सरकारले एमसीसीबारे सोधेको ११ बुँदे प्रश्नको जवाफ अमेरिकाले बुधबार पठाएको थियो।

समा अमेरिकाले एमसीसी विशुद्ध आर्थिक सहयोग कार्यक्रम रहेको जनाउँदै यससँग इन्डो प्यासिफिक सैन्य रणनीतिको कुनै सम्बन्ध नरहेको उल्लेख गरेको थियो। 

त्यस्तै अमेरिकाले सम्झौता भइसकेकाले एमसीसीका कुनै पनि बुँदा संशोधन गर्न नसकिने पनि अडान लिएको थियो।
 

अमेरिकाले पठाएका जवाफ अध्ययन गर्दा एमसीसी संशोधन नहुने अडानका कारण नेपालको संसदमा प्रस्तुत गर्ने सम्भावना नरहेको गुरुङले बताए।

नेपालखबरसँग कुरा गर्दै गुरुङले सरकारले सोधेको प्रश्नको जवाफ गोलमोटोल दिएकोले अघि बढाउने 'च्याप्टर क्लोज' भएको पनि घोषणा गरे।

‘सरकारले सोधेको प्रश्नको जवाफ गोलमोटोल दिइएको छ, त्यसलाई संशोधन गर्न पनि नसकिने भनेपछि अहिलेकै अवस्थामा एमसीसी स्वीकार गर्न सकिँदैन,’ गुरुङले भने, ‘अब त्यसलाई संसदमा पेश गर्ने 'च्याप्टर क्लोज' भयो ।’

एमसीसीलाई सोधिएको प्रश्नको जवाफ समेत उसले उल्टाइपल्टाई गरेर टालटुले दिएको उनले टिप्पणी गरेका छन्। 

आफ्नो पार्टीले एमसीसी परिमार्जन नभई पास गर्न नसक्ने अडान लिएको भन्दै नेता गुरुङले थपे,‘यसबारे पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्छ।’

एमसीसीकै विषयमा साझा धारणा बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच दुई घण्टा छलफल भएको छ।

सत्तारुढ नेपाली कांग्रेसले भने एमसीसी पास गरेर जानुपर्ने अडान जारी राखेको छ। दलहरुबीच एमसीसीका विषयमा ध्रुवीकरण भइरहेका बेला एमसीसीकी उपाध्यक्ष फातिमा सुमार चार दिने भ्रमणका लागि बिहीबार नेपाल आइपुगेकी छन्। 

उनले बिहीबारै प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्दैछिन्। त्यस्तै सकेसम्म बिहीबार नभए शुक्रबार प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्ने तयारी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .