राजनीति


राष्ट्रपति भण्डारी र भारतीय समकक्षीबीच जापानमा भेटवार्ता

राष्ट्रपति भण्डारी र भारतीय समकक्षीबीच जापानमा भेटवार्ता

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ३:४३,

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज (मंगलबार) बिहान जापानमा भेटवार्ता भएको छ।

राष्ट्रपति भएपछि भण्डारी र कोविन्दबीच भएको यो पहिलो भेटघाट हो। उहाँहरुबीच बास बसेको होटलमै भेटवार्ता भएको हो।

जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा भाग लिन उनीहरु जापान पुगेका हुन्।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति कोविन्दलाई नेपाल भ्रमणको निमन्त्रणा गरेकी छन्।

SR Jaapanjpg

भण्डारीले दिएको निमन्त्रणा कोविन्दले स्वीकार गरेका छन्। आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै कोविन्दले भ्रमणको निमन्त्रणा स्वीकारी कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने जानकारी दिएका छन्।

सन् २००६ मा सांसद हुँदा भने कोविन्दले नेपाल भ्रमण गरेका थिए।

आयोजनाहरु छिट्टै बन्ने

सो अवसरमा दुवै पक्षबाट नेपाल भारत सम्बन्धमा सन्तोष व्यक्त गर्दै यसलाई अझ व्यापक, फराकिलो, गहन र बहुआयामिक बनाइने दृढता व्यक्त गरिएको छ।

त्यसअवसरमा भारतबाट सहयोग प्राप्त आयोजनाहरुको विषयमा दुई राष्ट्रपतिबीच छलफल भएको परराष्ट्र सचिव शङ्करदास वैरागीले जानकारी दिए।

दुवै पक्षले अन्य आयोजना पनि छिट्टै बन्ने विश्वास व्यक्त गरेका छन्। दुवै देशका प्रधानमन्त्रीहरुको गत वर्ष अप्रिल र जुनमा भएको भेटघाटपछि अरुण तेस्रो, पञ्चेश्वर, तराई सडक, एकीकृत भन्सार जाँचचौकी, रेल्वे आदि परियोजनाले तीव्रताका साथ गति लिएको विषयमा पनि भेटमा छलफल भएको वैरागीले बताए।

नेपालले गुरुनानकको जन्मजयन्तीमा तीन थरि सिक्का निष्काशन गरेकामा र गान्धी जयन्तीमा प्रकाशित कृतिमा प्रधानमन्त्री केपी ओली शर्माको लेख समेटिएकामा पनि भारतले नेपाललाई धन्यवाद दिएको छ।

भेटवार्तामा नेपालका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा.हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं भारतीय पक्षबाट विदेश सचिव विजय गोख्ले, जापानका लागि भारतीय राजदूत सञ्जय वर्मालगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad