छापा खबर


म भारतको मतदाता सूचीमा रहेको कुरा झुटो : सांसद देवेन्द्रराज कँडेल

म भारतको मतदाता सूचीमा रहेको कुरा झुटो : सांसद देवेन्द्रराज कँडेल

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ४:५,

पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ ।

यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ।

यस विषयमा आजको नयाँ पत्रिकाले उनीसँग अन्तर्वार्ता लिएको छ।

नेपालको बहाल सांसद, पूर्वराज्यमन्त्री भइसकेको तपाईं भारतको एउटा कलेज व्यवस्थापन समितिको अध्यक्षका लागि निर्वाचन लड्नुभयो । र, शपथपत्रमा आफू भारतीय नागरिक भएको उल्लेख गर्नुभयो, तपाईं अब नेपाली कि भारतीय नागरिक? 
त्यो सामाजिक संस्था हो। मेरा हजुरबुवाको पालामा स्थापना भएदेखि नै हामीले रेखदेख गर्दै आएको क्याम्पस हो। क्याम्पसको सम्पत्ति पनि हाम्रो परिवारले दिएको हो । मेरी हजुरआमा आजीवन त्यहाँको संरक्षक हुनुहुन्थ्यो। अहिले त्यसको निरन्तरतामा म त्यहाँको व्यवस्थापन समितिको अध्यक्ष बनेको हुँ ।सामाजिक संस्था जहाँ तलब हुन्न, त्यहाँ बसेर काम गर्न त्यहाँको नागरिक हुनुपर्दैन। मैले भारतीय नागरिक हुँ भनेको छैन। नेपाली नागरिकका रूपमा त्यहाँ रहेको छु ।

तपाईंले चुनावी प्रक्रियामा भाग लिनुभएको छ, नेपाली नागरिकले भारतको चुनावी प्रक्रियामा भाग लिएर निर्वाचित हुन सम्भव छ?
त्यहाँको प्रबन्धक समितिमा अहिले पनि ७० प्रतिशत नेपाली छन् । त्यो राजनीतिक थलो पनि होइन । यही प्रश्न भारतमा पनि उठेको छ । उनीहरूले नेपालीले भारतमा आएर चुनाव लड्यो भनेर मेरा विरुद्ध मुद्दा हालेका छन् । त्यहाँको उच्च अदालतमा मेराविरुद्ध मुद्दा चलिरहेको छ । म आजसम्म नेपाली नागरिककै हैसियतमा गोरखपुरको राधा देवी इन्टरकलेजको आर्य विद्या प्रसार समितिको अध्यक्ष छु ।

भारतको ३३ कसाया रोड वेतिया हाता जनपथ गोरखपुरको बासिन्दा हुँ भनेर शपथ खानुभएको छ, आफूले दिएको विवरण गलत भए कानुनअनुसार कारबाही भोग्छु भन्ने पनि उल्लेख गर्नुभएको छ नि ?
म त्यहाँको अस्थायी बासिन्दा हो । त्यहाँ जाँदा त्यो ठेगानामा बस्ने गर्छु । पत्राचारका लागि त्यो ठेगाना दिएको हुँ । त्यसको आशय स्थायी ठेगाना भन्ने होइन ।

त्यसो भए, सन् २००४ को भारतीय लोकसभा निर्वाचनको मतदाता सूचीमा तपाईंको नाम कसरी समावेश भयो? 
मेरो ठूला बुबाको परिवार अहिले पनि भारतीय नागरिकको हैसियतमा छन्। पहिलेदेखि उनीहरू उतै बसेकाले भारतीय भए । तर, म भारतको मतदाता सूचीमा रहेको कुरा झुटो हो। त्यहाँ अर्को कुनै कँडेलको नाम मसँग जोडिएको हो भने मेरो भन्नु केही छैन। हो, मैले गोरखपुरमा पढेको हुँ । त्यहाँ रहँदा जनगणनाका क्रममा मेरो नाम लेखियो र त्यसकै आधारमा मतदाता सूचीमा लेखिएको हो भने यसबारे मलाई जानकारी छैन। त्यस अवस्थामा बाहेक म भारतको मतदाता सूचीमा छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .