ad ad

राजनीति


नेविसंघबाट उदाए, कांग्रेसको नेतृत्वमा वर्चस्व जमाए

नेविसंघबाट उदाए, कांग्रेसको नेतृत्वमा वर्चस्व जमाए

केशव सावद
भदौ १६, २०७८ बुधबार ७:२, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २०२८ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष भएका थिए। २८ वर्षको उमेरमा उनी नेविसंघको दोस्रो अध्यक्ष बनेका थिए। ०६४ मा कल्याण गुरुङ नेविसंघको १६ औँ अध्यक्ष भए। 

७२ वर्ष लामो राजनीतिक विरासत बोकेको पुरानो दल कांग्रेसको १४ औँ महाविधेशनमा यी दुई नेता सभापति पदमा प्रतिस्पर्धा गर्दैछन्। 

उनीहरुको चुनौती बनेर खडा भइसकेका छन्, नेविसंघकै तेस्रो अध्यक्ष विमलेन्द्र निधि। जसले सबैभन्दा पहिले सभापतिको उम्मेदवारी घोषणा गरे।

नेविसंघ नेपाली कांग्रेसको कार्यकर्ता उत्पादन गर्ने ‘नर्सरी’का रुपमा रहँदै आएको छ। प्रजातन्त्र पुनर्स्थापनाको प्रमुख उदेश्य राखेर कांग्रेसले २०२७ सालमा नेविसंघको स्थापना गरेको थियो। 

२०२७ वैशाख ६ गते कांग्रेसका तत्कालीन कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईले नेविसंघको पहिलो महाधिवेशन काठमाडौंको स्वयम्भूमा उद्घाटन गरेका थिए। 

नेविसंघको नेतृत्व गरिसकेका नेताहरु ‘प्रजातन्त्र पुनर्स्थापनाको प्रमुख उदेश्यसहित पञ्चायतको कालरात्रीमा क्रान्तिकारी विद्यार्थीहरुले विद्यार्थी एकता, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्श बोकेर’ नेविसंघ जन्माएको बताउँछन्। 

उनीहरु नेविसंघलाई कांग्रेसको मेरुदण्ड मान्छन्।

‘जन्मकालदेखि नै नेविसंघ प्रजातन्त्रको स्थापना, संरक्षण र सम्वर्धनका लागि निरन्तर संघर्षरत रहँदै आएको नेपाली कांग्रेसको नर्सरी र मेरुदण्ड हो,’ नेविसंघका पूर्वअध्यक्ष समेत रहेका कांग्रेस केन्द्रीय सदस्य एनपी साउदको भनाइ छ।  

व्यवस्था परिवर्तनका लागि भएका सबै आन्दोलनको अग्रपंक्तिमा देखिँदै आएको नेविसंघको पहिलो अध्यक्ष थिए– विपीन कोइराला। कोइरालापछि नेविसंघले अहिलेसम्म १८ अध्यक्ष पाइसकेको छ। 

अहिले माउ पार्टी कांग्रेसको नेतृत्व नेविसंघबाटै उदाएका नेताको हातमा छ। १४औँ महाधिवेशनमा पनि शीर्ष पदका लागि नेविसंघको नेतृत्व गर्दै पार्टी राजनीति सुरु गरेका नेताले नै दाबी गरिरहेका छन्। 

नेविसंघका पूर्वअध्यक्षहरुले सभापतिदेखि महामन्त्री पद ताकिरहेका छन्। नेविसंघका दोस्रो अध्यक्ष शेरबहादुर देउवा कांग्रेसको १३औँ महाधिवेशनबाट सभापति निर्वाचित भएका थिए। 

उनी मात्रै नभएर कांग्रेसको अहिलेको केन्द्रीय कार्यसमितिमा नेविसंघका १३ पूर्वअध्यक्षहरु अटाएका छन्। कांग्रेसको सात सदस्यीय पदाधिकारीमा नेविसंघका तीन पूर्वअध्यक्ष छन्। 

सभापति देउवा दोस्रो अध्यक्ष, उपसभापति निधि तेस्रो अध्यक्ष र प्रवक्ता विश्वप्रकाश शर्मा १०औँ अध्यक्ष हुन्। कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत पनि नेविसंघबाटै कांग्रेसको राजनीतिमा आएका हुन्। 

महामन्त्री खड्का र सहमहामन्त्री महत नेविसंघको महामन्त्री भइसकेका नेता हुन्। कांग्रेस सभापति देउवापछिको वरीयतामा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल नेविसंघका संस्थापक नेतामा पर्छन्। 

देउवा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिमा नेविसंघका पूर्वअध्यक्षहरु ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाण, एनपी साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, किशोरसिंह राठौर, गुरुराज घिमिरे, प्रदीप पौडेल र कल्याण गुरुङ छन्। 

नेविसंघको पदाधिकारी र केन्द्रीय सदस्य बनेर कांग्रेस राजनीतिमा प्रवेश गरेका डा. रामशरण महत, दिलबहादुर घर्ती, उमा रेग्मी, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, हृदयराम थानी, महेन्द्र यादव, डा. चन्द्र भण्डारी, सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, गगन थापा, बद्री पाण्डे पनि केन्द्रीय कार्यसमितिमा सदस्य छन्। 

नेविसंघका संस्थापक अध्यक्ष कोइराला, १३ औं अध्यक्ष केशव सिंह, १४औं अध्यक्ष महेन्द्र शर्मा, १७औं अध्यक्ष रञ्जित कर्ण, १८औं अध्यक्ष नैनसिंह महर भने मातृ पार्टी कांग्रेसको केन्द्रीय कार्यसमितिमा छैनन्। 

उनीहरु मध्ये कतिपय आसन्न १४औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा आउने सम्भावना देखिएको कांग्रेसकै नेताहरुको भनाइ छ। वर्तमान केन्द्रीय कार्यसमितिमा नरहेका नेविसंघका पूर्वअध्यक्षहरु सिंह, शर्मा, कर्ण, महरसँगै वर्तमान अध्यक्ष राजीव ढुंगानाले महाधिवेशनका लागि तयारी गरिरहेका छन्। 

कर्णले आफू सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा रहेको नेपालखबरलाई बताए। अहिले कांग्रेस केन्द्रीय कार्यसमितिमा नरहेका पूर्वअध्यक्षत्रय सिंह, शर्मा, महर र वर्तमान अध्यक्ष ढुंगानाले केन्द्रीय सदस्यका लागि तयारी गरिरहेका छन्।   

कांग्रेस सम्वद्ध अरु जनसंगठनहरू पनि छन्, जहाँबाट नेतृत्व विकास हुन सक्छ। एमाले, माओवादी केन्द्रमा विद्यार्थी संगठनसँगै अन्य जनसंगठनबाट उदाएका नेताहरू पनि पार्टीको उच्च नेतृत्वमा पुगेका छन्। तर, कांग्रेसमा भने विद्यार्थी संगठनबाट उदाएका नेताहरूले वर्चश्व जमाएका छन्।

नेविसंघका तीन पूर्वअध्यक्ष आमनेसामने
आगामी महाधिवेशनमा सभापतिका लागि दोस्रो अध्यक्ष शेरबहादुर देउवा, तेस्रो अध्यक्ष विमलेन्द्र निधि र १६औं अध्यक्ष कल्याण गुरुङ आमने–सामने देखिएका छन्। 

मंसिर ९–१३ काठमाडौंमा हुने महाधिवेशनमा कांग्रेस उपसभापति निधिले सभापतिमा उम्मेदवारी दिने औपचारिक रुपमै घोषणा गरिसकेका छन्। साउनमा ११ काठमाडौं​ थापागाउँको बानेश्वर ब्यांकेटमा धार्मिक कार्यक्रमसहित सम्पर्क कार्यालय खोल्दै उनले उम्मेदवारी दिने घोषणा गरेका हुन्।

यस्तै कांग्रेस केन्द्रीय सदस्य गुरुङले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्न लागेका छन्। उनले काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा बुधबार दिउँसो २ः३० बजे पत्रकार सम्मेलन गर्दैछन्।

गुरुङले यसअघिदेखि नै आफू नयाँ पुस्ताबाट कांग्रेसको सभापतिमा दाबेदार रहेको बताउँदै आएका थिए। 

सभापति देउवाले औपचारिक रुपमा उम्मेदवारी घोषणा नगरे पनि आफूनिकटका नेताहरुसँग उम्मेदवारीका बारेमा बताइसकेका छन्। सभापति देउवाले साउन ५ गते प्रदेश नम्बर २ का नेताहरुलाई बुढानीलकण्ठ निवासमै बोलाएर सभापति पदमा उम्मेदवारी दिने विषयमा छलफल गरेका थिए। 

उपसभापति निधिले भने उनलाई सो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका थिए। 

निधिले देउवालाई भनेका थिए, ‘तपाईं प्रधानमन्त्री बन्नुस्, म सहयोग गर्छु। सभापतिमा तपाईंको समर्थनमा म लड्छु।’

जवाफमा देउवाले निधिलाई ‘लड्ने भए लड्नू, त्यो तपाईंको अधिकार हो’ भन्ने प्रतिक्रिया दिएका थिए। 

उक्त छलफलमा उपसभापति निधिसँगै केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, जंगीलाल यादव, शम्भु श्रेष्ठलगायतका नेताहरुको उपस्थिति थियो। 

महामन्त्रीका दाबेदार पनि नेविसंघकै उत्पादन 
महामन्त्री पदमा उम्मेदवारी दिने आकांक्षा बोकेका बढीजसो नेताहरु पनि नेविसंघबाटै उदाएका हुन्।

महामन्त्री पदमा दाबी गरिरहेकामध्ये संस्थापन पक्षमा रहेका नेविसंघका पूर्वअध्यक्षहरु ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाण, एनपी साउद र विश्वप्रकाश शर्मा छन्। यस्तै नेविसंघकै राजनीति गरेका महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री डा. प्रकाशशरण महत पनि महामन्त्री पदका लागि दाबी गरिरहेका छन्।

संस्थापनइतर समूहबाट नेविसंघका पूर्वअध्यक्षहरु धनराज गुरुङ, गुरुराज घिमिरे र प्रदीप पौडेल महामन्त्री पदका आकांक्षी देखिएका छन्। 

त्यस्तै नेविसंघबाट पार्टीको राजनीतिमा लागेका डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी र गगन थापा पनि महामन्त्रीको उम्मेदवारका रुपमा देखिएका छन्। 

जसमध्ये थापाले सोमबारमात्रै आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। सोमबार बिहान काठमाडौँको आफ्नो निर्वाचन क्षेत्रस्थित वडा नम्बर–३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलामा बोल्दै उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

नेता थापा अहिले कांग्रेसको तेस्रो धार मानिने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहसँग निकट छन्। उनी यो पटक कुन समूहबाट महामन्त्री उठ्ने टुंगो भइसकेको छैन। 

१३औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीमा लडेका उनले ५ सय ८४ मत ल्याएका थिए। त्यसबेला महामन्त्रीमा रामचन्द्र पौडेल समूहका डा. शशांक कोइराला विजयी भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .