ad ad

राजनीति


एमालेबाट विजयी कञ्चनपुरका स्थानीय तहका प्रमुख र उपप्रमुख को कता?

एमालेबाट विजयी कञ्चनपुरका स्थानीय तहका प्रमुख र उपप्रमुख को कता?

गोकुल जोशी
भदौ १३, २०७८ आइतबार १९:५५, महेन्द्रनगर

प्रमुख प्रतिपक्ष नेकपा एमाले विभाजन भए पछि केन्द्रदेखि स्थानीय तहसम्मै राजनीति प्रभावित भएको छ। फुट पछि एमालेबाट विजयी जनप्रतिनिधिहरु, नेता/कार्यकर्ता तितरवितर हुने क्रम जारी छ। 

माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरे पछि एमालेबाट विजयी स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यहरु पनि आफ्नो कित्ता क्लियर गर्न थालेका छन्।

९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा एमालेले ५ वटा स्थानीय तहमा प्रमुख र ७ वटा स्थानीय तहमा उपप्रमुख जितेको थियो। तीमध्ये अधिकांश प्रमुख र उपप्रमुख नेकपा एमालेको फुटको विपक्षमा उभिएका छन्। माधव कुमार नेपालले कञ्चनपुरमा एक स्थानीय तहको प्रमुखको मात्रै साथ पाएका छन्।

कञ्चनपुरमा माओवादी केन्द्रले दुई स्थानीय तहमा प्रमुख र एक स्थानीय तहमा उपप्रमुख जितेको थियो। माओवादी केन्द्रका पोतीलाल चौधरी बेलौरी नगरपालिकाको मेयर, मदनसेन बडायक लालझाडी गाउँपालिकाको अध्यक्ष र सत्यदेवी महरा उपाध्यक्षमा जितेका थिए।

यस्तै, नेपाली कांग्रेसले दुई स्थानीय तहमा प्रमुख र एक स्थानीय तहमा उपप्रमुख जितेको थियो। कांग्रेसका बिरबहादुर सुनार दोधारा–चाँदनी नगरपालिकाको प्रमुख, सुशिला चन्द सिंह भीमदत्त नगरपालिकाको उपप्रमुख र दिल बहादुर ऐर शुक्लाफाँटा नगरपालिकाका प्रमुखमा विजयी भएका थिए। 

भीमदत्त नगरपालिका
कञ्चनपुरको सदरमुकामको नगरपालिका हो, भीमदत्त। जिल्लाको सबैभन्दा ठूलो भीमदत्त नगरपालिकाको प्रमुख (मेयर)मा नेकपा एमालेका सुरेन्द्र बिष्ट विजयी भएका थिए। 

उनी एमालको संस्थापनमै छन्। वि.स.२०७५ जेठ २ गते पूर्वको एमाले कञ्चनपुरको जिल्ला कमिटीमा उनी सचिव थिए। बिष्ट बिगतमा एमालेको माधव समूह निकट थिए। 

गत पुस ५ मा पहिलो पटक संसद विघटन पछि तत्कालीन नेकपाको ध्रुविकरणमा उनी ओलीको पक्षमा खुलेका थिए।

बेदकोट नगरपालिका
बेदकोट नगरपालिकाका मेयर असोक कुमार चन्द र उपमेयर सुशिला सिंह एमालेमै रहेका छन्। मेयर र उपमेयर दुवै जना नेपाल समूहका हुन। तर उनीहरुले एमाले फुटमा माधव कुमार नेपालको साथ छोडेका छन्।

केही दिन अगाडि मेयर चन्दले नगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको बैठक राखेर सबै एमालेमै रहने घोषणा गरेका थिए। केन्द्रमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्न अगाडि बढ्ने मेयर चन्दको प्रस्तावमा एमालेका नगरका जनप्रतिनिधिले सहमति जनाएका थिए।

१० वटा वडा रहेको बेदकोट नगरपालिकाका ८ वटा वडामा एमालेले अध्यक्ष जितेको थियो।

कृष्णपुर नगरपालिका
कृष्णपुर नगरपालिकाका मेयर र उपमेयर दुवै जना एमालेमै छन्। मेयर कर्ण बहादुर हमाल र उपमेयर रमिता राना दुवै जना एमालेको तत्कालीन नेपाल समूहमा थिए। 

मेयर हमालले गत पुस ५ गते पछि तत्कालीन नेकपामा देखिएको धुव्रिकरणमा नेपालको साथ छोडेका थिए।

सूर्य चुनाव चिन्हमा चुनाव जित्ने सम्पूर्ण जनप्रतिनिधि एमालेमै रहेको मेयर हमाल बताउँछन्। कृष्णपुर नगरपालिकाका ३ वडामा एमालेले अध्यक्ष जितेको थियो।

पुनर्वास नगरपालिका
कञ्चनपुरको पुनर्वास नगरपालिकाका मेयर जीवन थापा नेकपा एकीकृत समाजवादीतर्फ खुलेका छन्। उपमेयर शारदा विष्ट भने एमालेमै रहेकी छन्।

मेयर थापा र उपमेयर विष्ट दुवै नेपाल समूहमै थिए। तर एमाले फुटमा उपमेयर विष्टले नेपाल समूहको साथ छोडेकी हुन्।

पुनर्वास नगरपालिकामा एमाले कमजोर देखिएको छ। एमालेबाट विजयी अधिकांश जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा आफूसँगै रहेको मेयर थापा बताउँछन्। 

‘नगरपालिकामा निर्वाचित सबै जनप्रतिनिधिको साथ हामीलाई छ। ५ वटा वडामा वडाध्यक्ष जितेका थियौँँ’ उनले भने, ‘वडाध्यक्ष, सदस्य सबै हाम्रै लाइनमा हुनुहुन्छ।’

बेलडाँडी गाउँपालिका
बेलडाँडी गाउँपालिकामा माधव नेपाल कमजोर देखिएका छन्। गाउँपालिका अध्यक्ष धन बहादुर थापा क्षेत्री र उपाध्यक्ष कमला देवी कार्की दुवै जना एमालेमै छन्।

नेकपा एकीकृत समाजवादीमा एमालेको कोही जनप्रतिनिधि नगएको गाउँपालिका अध्यक्ष धन बहादुर थापाको दाबी छ। ५ वटा वडा रहेको बेलडाँडी गाउँपालिकामा ४ वडामा एमालेले जितेको थियो। 

बेलौरी नगरपालिका
बेलौरी नगरपालिकाकी उपमेयर चित्र कुमारी चौधरी एमालेमै छिन्। नेपाल समूहकी उनले पनि एमाले फुटमा माधव कुमार नेपालको साथ छोडेकी हुन्। 

दोधारा–चाँदनी र शुक्लाफाँटा नगरपालिका
महाकाली नगरपालिका अर्थात दोधारा-चाँदनीको उपमेयरमा एमालेकी चिनी गिरी विजयी भएकी थिइन्। उनी नेपाल निकट मानिन्छिन्। यद्यपी एमाले फुटमा भने गिरी अहिलेसम्म कतै खुलेकी छैनन्। 

उता शुक्लाफाँटा नगरपालिकाकी उपमेयर तुलसीदेवी हमाल पनि एमालेमै छिन्।

सुदूरपश्चिमका ५ केन्द्रीय सदस्य र ६ सांसदले छोडे एमाले

सुदूरपश्चिमका एमाले जिल्ला अध्यक्ष र सचिव को कता?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .