ad ad

राजनीति


मन्त्रिपरिषद् विस्तारमा अझै अलमल, तीन नेताले टुंग्याउन सकेनन् नाम

मन्त्रिपरिषद् विस्तारमा अझै अलमल, तीन नेताले टुंग्याउन सकेनन् नाम

केशव सावद
भदौ १३, २०७८ आइतबार १३:१७, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई मन्त्रिपरिषद् विस्तारमा अझै समय लाग्ने भएको छ। 

पाँच दलीय गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालय बाँडफाँटमा ठोस सहमति जुट्न नसकेकाले मन्त्रिपरिषद् विस्तारमा अलमल देखिएको हो। 

मन्त्रिपरिषद् विस्तारबारे आइतबार प्रधानमन्त्री देउवा, गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) नेतृत्वबीच भएको छलफल ठोस निर्णयबिना टुंगिएको छ। 

गठबन्धनको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको अनुपस्थितिमा बसेको बैठकमा कुनै ठोस सहमति नजुटाएको स्रोतले जनाएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो। 

छलफलमा मन्त्रिपरिषद् विस्तारबारे कुराकानी भए पनि मन्त्रालय बाँडफाँटबारे टुंगो नलागेको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए। 

‘मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो। तर टुंगो केही लागेन,’ उनले नेपालखबरसँग भने। 

सापकोटाले जसपाका अध्यक्ष यादव उपत्यका बाहिर रहेकाले पनि मन्त्रालयका बारेमा ठोस निर्णय हुन नसकेको बताए। 

‘जसपाका अध्यक्ष बाहिर हुनुहुन्छ। उहाँ आएपछि फेरि छलफल गरेर मन्त्रिपरिषद् विस्तारको कुरो टुंग्याउने भन्ने कुरा छ,’ उनले भने। 

सापकोटाकाअनुसार बालुवाटार बैठकमा जसपा अध्यक्ष यादव उपत्यका फर्किएपछि पाँच दलीय गठबन्धन बसेर मन्त्रिपरिषद्को टुंगो लगाउने सहमति जुटेको छ। 

जसपा अध्यक्ष यादव आइतबार बेलुकी काठमाडौं फर्किने बताइएको छ। सरकार पाँच दलीय गठबन्धनको भए पनि अहिले कांग्रेस र माओवादीका मात्रै मन्त्री छन्। 

सरकार गठन भएको डेढ महिना पुगिसक्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेपछि आलोचना भइरहेको छ। 

सर्वोच्च अदालतले गत असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गर्दै दिएको परमादेशअनुसार देउवा प्रधानमन्त्री बनेका थिए। 

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। 

प्रधानमन्त्रीमा नियुक्त भएको पाँचौँ दिन देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए। 

संविधानको धारा ७६ ९५० अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। 

देउवाले गत असार २९ गते नै राष्ट्रपति भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए। लगत्तै देउवाले चारजनालाई मन्त्री बनाए। 

कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन, न्याय तथा संसदीय मामिला, नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा मन्त्रीमा नियुक्त गरेका थिए। 

त्यसको १२ दिनपछि प्रधानमन्त्री देउवाले साउन १० गते कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए। त्यसयता ६ सदस्यीय मन्त्रिपरिषदबाटै  देश चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .