राजनीति


संसद्ले निर्वाचन आयोगमा बुझायो एमाले सांसदको सूची, कारबाही गरिएका १४ जनाबारे के भन्यो?

संसद्ले निर्वाचन आयोगमा बुझायो एमाले सांसदको सूची, कारबाही गरिएका १४ जनाबारे के भन्यो?

नेपालखबर
भदौ ९, २०७८ बुधबार ९:३८, काठमाडौँ

एमालेबाट अलग्गिएको माधव नेपाल पक्ष र जसपाबाट छुट्टिएको महन्थ ठाकुर समूहका निवेदनअनुसार नयाँ दल दर्ता गर्नुअघि निर्वाचन आयोगले संसद् सचिवालयबाट ती दलका सांसदको विवरण लिएको छ। 

आयोगको मागअनुसार संसद् सचिवालयले मंगलबार एमालेका १ सय ५४ जना सांसदको नाम पठाएको छ। प्रतिनिधि सभातर्फ १ सय २१ र राष्ट्रिय सभातर्फ ३३ सांसदको सूची संसद् सचिवालयले आयोगको कार्यालयमा बुझाएको हो।

यस्तै संसद् सचिवालयले जसपाका प्रतिनिधि सभातर्फ ३२ र राष्ट्रिय सभातर्फ ३ गरी ३५ सांसदको सूची आयोगलाई दिएको छ।

भदौ १ गते एमालेले माधव नेपालसहित उनी पक्षका १४ सांसदलाई कारबाही गर्दै उनीहरूलाई सांसद पदबाट हटाउन संसद् सचिवालयलाई पत्र पठाएको छ। तर संसद् सचिवालयले अहिलेसम्म यस विषयमा निर्णय सार्वजनिक गरेको छैन।

यो विषय विचारधीन नै रहेको जानकारी संसद सचिवालयले निर्वाचन आयोगलाई गराएको छ। 

संसद् सचिवालयले आयोगलाई पठाएको पत्रमा लेखिएको छ, ‘०७८/०५/०१ मा दल त्यागसम्बन्धी सूचनाको पत्र संघीय संसद् सचिवालयमा दर्ता भएको एवं बोधार्थ निर्वाचन आयोगलाई समेत दिइएको देखिएको छ। उक्त विषय नियमानुसार विचाराधीन नै छ।’

आफ्नो पत्रबमोजिम ती १४ सांसदलाई तुरुन्त पदबाट हटाउन एमालेले सभामुख अग्नि सापकोटालाई निरन्तर दबाब दिइरहेको छ। यस क्रममा एमाले सांसद टोलीले सभामुख कार्यकक्षमै गएर चर्काचर्की गर्नेदेखि धर्ना दिनेसम्म गरिसकेको छ। 

नेपाल पक्षले नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएपछि एमालेको ओली समूहले सकेसम्म ती सांसदलाई पदबाट हटाउन जोड गरिरहेको हो। किनकि नयाँ दल दर्ताका लागि सांसदको संख्या २० प्रतिशत पुग्न नदिने रणनीति ओली समूहले अपनाएको हो।

तर दल विभाजनसम्बन्धी अध्यादेशअनुसार संसदीय दलतर्फ २० प्रतिशत सदस्य नपुगे पनि केन्द्रीय समितितर्फ पुगे पनि दल दर्ता गर्न पाइने अध्यादेशमा उल्लेख गरिएको छ।  

नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि विवरण बुझाएको माधव नेपाल पक्ष र लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएको महन्थ ठाकुर पक्षका नेताहरूलाई आज सनाखतका लागि आयोगले आफ्नो कार्यालयमा आउन भनेको छ। 

यो पनि-

२० प्रतिशत पुष्टि गर्न आज माधव नेपाल र महन्थ ठाकुर पक्ष निर्वाचन आयोग पुग्नुपर्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad