सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत एक नगर प्रहरी बाढीमा बेपत्ता भएका छन्।
सोलुदूधकुण्ड २ मोपुङको वासाखोला तर्ने क्रममा नगर प्रहरी दावा तेन्जी शेर्पालाई मोटरसाइकलसहित बाढीले बगाएको हो। घटना मंगलबार दिउँसोको हो।
सोलुदूधकुण्ड ८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ जाँदै गर्दा घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए
बाढीमा बगेका मोटरसाइकल भेटिए पनि शेर्पा अझैसम्म फेला परेका छैनन्।
उनको खोजीका लागि ठूलो सङ्ख्यामा जनपथ प्रहरीसहित स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयवासी खटिएका छन्। तर, बाढी बढेकाले खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ।
गत वर्ष पनि सोही खोला तर्ने क्रममा एक पुरुषलाई बाढीले बगाएकोे वडाध्यक्ष मिङमार दोर्जी शेर्पाले जानकारी दिए। रासस
Shares

प्रतिक्रिया