नवगठित नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले बाहिर हल्ला भएजस्तो दल दर्ताका लागि आवश्यक सदस्य संख्या नपुग्ने स्थिति नरहेको दाबी गरेकी छन्।
सरकारद्वार हालै जारी दल विभाजनसम्बन्धी अध्यादेशअनुसार नयाँ दल दर्ताका लागि सम्बन्धित पार्टीको केन्द्रीय कमिटी वा संसदीय दलका कूल सदस्यमध्ये २० प्रतिशत जुटाउन सके त्यसबाट अलग भई नयाँ पार्टी बनाउन सकिन्छ।
सोहीबमोजिम नेकपा एमालेबाट अलग भई माधव नेपाल पक्षले नयाँ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दर्ताका लागि केही दिनअघि मात्र निर्वाचन आयोगमा निवेदन दिएको छ। आयोगले निवेदनमा उल्लेख गरिएका सांसद निश्चित गर्न भोलि बुधबार सनाखतका लागि बोलाएको छ।
त्यसैको तयारीका लागि नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको बैठक सोमबारदेखि चन्द्रागिरि रिसोर्टमा जारी छ। यहीबीच सो पार्टीमा सांसदको संख्या २० प्रतिशत नपुगेको भन्ने हल्ला चलेपछि नेता झाँक्रीले त्यसको खण्डन गरेकी हुन्।
चन्द्रागिरिमा जारी बैठकमा सहभागी नेता झाँक्रीले मंगलबार राति निर्वाचित केन्द्रीय कमिटी सदस्य र सांसदको संख्या पनि निवेदन दर्ताको दिनभन्दा अझ बढेको दाबी गरेकी छन्।
अब सनाखत गर्न भोलि बुधबार निर्वाचन आयोग जाने कार्यक्रम रहेको जानकारी पनि उनले दिएकी छन्।
‘पार्टीको अन्तरिम विधान, अन्तरिम नियमावली, पार्टीको घोषणा र कम्युनिस्ट आन्दोलनको पुनर्जागरण किन भन्ने राजनीतिक विषयहरूको छलफलमा छौं,’ नेता झाँक्रीले भनेकी छन्, ‘हामी भोलि (बुधबार) निर्वाचन आयोगमा सनाखत गर्नेछौं। बाहिर चलेजस्तो कानुनबमोजिमको आवश्यक संख्या नपुग्ने भन्ने छैन।’
उनले अगाडि भनेकी छन्, ‘निर्वाचित केन्द्रीय कमिटी र सांसदहरूको संख्या पनि निवेदन दर्ताको दिन भन्दा बढेको छ। सदभावको लागि धन्यवाद।’
Shares

प्रतिक्रिया