राजनीति


माधव नेपालले पुर्‍याउन सकेनन् २० प्रतिशत सांसद

माधव नेपालले पुर्‍याउन सकेनन् २० प्रतिशत सांसद

सागर न्यौपाने
भदौ ८, २०७८ मंगलबार १९:१७, काठमाडौँ

नेकपा एमाले विभाजन गरेर नयाँ दल दर्ता गर्न लागेका नेता माधवकुमार नेपालले २० प्रतिशत सांसद पुर्‍याउन असफल भएका छन्। 

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि २९ जना सांसदको मात्रै हस्ताक्षर निर्वाचन आयोगमा पुगेको छ। नेपाललाई एमाले फुटाउन संसदीय दलतर्फ ३१ जना सांसदको खाँचो थियो। 

उनले आयोगमा ३१ जना सांसदकै विवरण पनि बुझाएका थिए। तर दिल्लीमा उपचाररत झलनाथ खनाल र अर्का एक सांसद हस्ताक्षर आयोगमा पुग्न नसकेको हो। 

तर नेपालले केन्द्रीय कमिटीतर्फ भने आवश्यक ४१ जना केन्द्रीय सदस्य आवश्यक परेकोमा ५५ जनाको हस्ताक्षर स्वीकृत भइसकेको छ। उनीहरुले बुधबार आयोगमा स-शरीर उपस्थित भएर सनाखत गर्नेछन्। 

मंगलबार सोमप्रसाद पाण्डे, सावित्री भट्टसहितका चार जना सांसदहरू सनाखत गर्न गए पनि शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेशमा ‘एकैपटक निवेदन पेश गर्नुपर्नेछ’ भन्ने उल्लेख गरिएकाले नमिलेको आयोगका एक उच्च अधिकारीले जानकारी दिए। 

आयोगमा पठाइएको निवेदनमा नेता झलनाथ खनालको पनि नाम छ तर निवेदनमा हस्ताक्षर नभएकोले आयोगले सनाखत गरेको छैन। उनले पनि दिल्लीबाट आगामी सोमबार मात्रै आउने भएकाले आयोगमा सनाखत गर्न नपाउने भएका छन्। 

दल विभाजनसम्बन्धी अध्यादेशमा पार्टीको संसदीय दल वा केन्द्रीय कमिटी मध्ये कुनै एकमा २० प्रतिशत पुर्‍याउनुपर्ने प्रावधान छ।

उक्त प्रावधानअनुसार संसदीय दलमा २० प्रतिशत नपुगे पनि केन्द्रीय कमिटीमा भने पुग्ने भएकोले नेपालले नयाँ पार्टी दर्ताको लागि दिएको निवेदन प्रमाणीकरण हुने र नयाँ दलको मान्यता पाउने देखिन्छ।

आयोगमा दिएको निवेदन उपर आज नै कुनै कारवाही अगाडि नबढ्ने आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। 

‘हामीले यसअघि जनता समाजवादी पार्टी जसपाको यस्तै मुद्दा निरुपण गरिसकेका छौँ, एमालेको हकमा पनि त्यही लागू हुन्छ, थपलियाले नेपालखबरसँग भने, माधवकुमार नेपाल पक्षले पेश गरेको नयाँ दलको विषयमा त्यही निर्णय हुन्छ।’

यसैबीच निर्वाचन आयोगले मागे अनुसार संघीय संसदका दुवै सदनका १५४ जना एमाले सांसदको सूची संसद सचिवालयले मंगलबारै बुझाइदिएको छ।

एमालेबाट विभाजित भएर माधव कुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बुधबार आयोगमा विधिवत दर्ता हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad