लुम्बिनी प्रदेश सभाकी सांसद विमला वली नेकपा खारेजपछि पनि एमालेमै रहेको कुरा प्रदेश सभा सचिवालयकै दस्तावेजबाट पुष्टि भएको छ।
एमालेले आफूसँग रहन दबाब दिए पनि नेकपा माओवादी केन्द्र रोजेकी सांसद वली एमालेकै सदस्य रहेको प्रमाण प्रदेश सभाले फेला पारेको हो।
हाल लुम्बिनी प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल एमालेले वलीले दल त्याग गरेको भन्दै उनलाई कारबाही गर्न (सांसद पदबाट हटाउन) प्रदेश सभा संसद सचिवालयसँग माग गरिरहेको छ।
प्रदेश सभा सचिवालयले २०७७ चैत ५ गते नेकपा एमालेलाई आफ्ना सांसदको विवरण उपलब्ध गराउन पत्राचार गरेको थियो। जसमा सर्वाेच्च अदालतले नेकपा बदर (२०७७ फागुन २३) को फैसला गरेपछि एमाले र माओवादी केन्द्र अलग्गिएकाले त्यसअघि (साबिक) कै विवरण दिन भनिएको थियो।
त्यसअनुसार एमालेले २०७७ चैत १५ गते प्रदेश सभा सचिवालयमा पेस गरेको विवरणमा एमालेका ४३ जना सांसदमध्ये विमला वली पनि समावेश देखिएको हो। उनको नाम सबैभन्दा पुच्छार ४३ नम्बरमा उल्लेख छ।
दाङ क्षेत्र नं ३ (ख) बाट निर्वाचित वलीले गत वैशाख १९ गते पत्रकार सम्मेलन गरी आफू माओवादी केन्द्रमा रहेकाे जानकारी गराएकी थिइन्। एमालेले भने त्यस अघिसम्म उनी एमाले संसदीय दलको बैठकमा सहभागी भइरहेको बताएको थियो।
Shares
प्रतिक्रिया