राजनीति


प्रचण्डको दाबी : अर्को चुनावमा माओवादी ठूलो दल बन्न सक्छ (राजनीतिक प्रस्तावसहित)

प्रचण्डको दाबी : अर्को चुनावमा माओवादी ठूलो दल बन्न सक्छ (राजनीतिक प्रस्तावसहित)

नेपालखबर
साउन ३०, २०७८ शनिबार १५:२, काठमाडौँ

सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावबाट आफूहरु फेरि प्रमुख शक्तिका रुपमा फर्किन सक्ने दाबी गरेका छन्। 

शनिबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा आठ पेज लामो राजनीतिक र संगठनात्मक प्रस्ताव पेश गर्दै प्रचण्डले त्यसका लागि नेता कार्यकर्ता सबैले कठोर मिहिनेत गर्नु जरुरी रहेको बताएका छन्। 

अनुपम फुडल्यान्डमा सुरु बैठकमा करिब १५ मिनेट आफ्ना भनाइ राख्ने क्रममा पनि उनले आगामी निर्वाचनसम्म माओवादी देशको प्रमुख शक्तिका रुपमा फर्किने जिकिर गरेका हुन्। 

उनले नेकपा विघटन भइसकेको अवस्थामा तत्कालै अन्य शक्तिसँग एकता सम्भव नभएको निचोड पनि निकालेका छन्। अन्य पार्टीसँग एकता हुन नसके पनि अहिले कायम रहेको वाम-लोकतान्त्रिक गठबन्धनलाई बचाएर आगामी निर्वाचनमा लाग्नुपर्ने पनि उनले बताएका छन्। 

उनले पार्टीलाई पहिलो शक्ति बनाउन कडा मिहिनेत चाहिने बताएका छन्। 'अब हामीले कडा मिहिनेत गर्नुपर्छ, यो ढंगले हुँदैन', उनले भनेका छन्, 'परिस्थितिले नयाँ चरणमा जाने बनाएको छ। प्रतिगमन एक हिसाबले पराजित गर्यौँ तर अझै पराजित भइसकेको छैन।'

देशको राजनीतिक घटनाक्रमको विश्लेषणका क्रममा उनले केपी शर्मा ओलीको दक्षिणपन्थी समूहले कम्युनिष्ट पार्टीको नेतृत्व अघि बढाउन नसक्ने पनि निचोड निकालेका छन्। 

ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेयता माओवादी समूहले नै लिएको पहलकदमीबाट देशले प्रतिगमनलाई पराजित गर्न सफल भएको उनको तर्क थियो। 

आफ्नै जोडबलमा ओलीको प्रतिगामी कदमविरूद्ध वाम-लोकतान्त्रिक गठबन्धन बनेको ठहर गरेका प्रचण्डले एक्लै चुनाव लड्नेबारे केही बोलेका छैनन्। 

उनले पेश गरेको प्रस्तावमा अहिलेकै गठबन्धनलाई कायम राखेर आगामी निर्वाचन लड्नुपर्ने उल्लेख गरिएको छ। आफ्नै पहलकदमीले अहिले देशको राजनीति अघि बढिरहेको हुँदा माओवादी फेरि प्रमुख शक्तिका रुपमा फर्किन सक्ने जिकिर उनले गरेका छन्। 

उनले सम्बोधनका क्रममा पनि पुससम्मको राजनीतिक कार्ययोजना प्रस्तुत गर्दै संगठनात्मक गतिविधिलाई धारिलो बनाएर लैजानुपर्ने पनि बताएका छन्। 

'माओवादी नेतृत्वमै राजनीतिक पहलकदमी हुँदा ओली पराजित भएका छन्। हामीले अब यसलाई संगठन विस्तारका लागि केन्द्रित गर्नुपर्छ', प्रचण्डले भने, 'माओवादीको शक्ति घट्दा हाम्रा उपलब्धीहरु गुम्ने जोखिम देखिए। यसले देश दुर्घटनामा जाने जोखिम बढ्यो। अब परिवर्तनका उपलब्धी रक्षा गर्दै माओवादी फेरि प्रमुख शक्तिका रुपमा फर्किने पहलकदमी हामीले लिनुपर्छ।'

आफ्नै कमजोरीले पनि माओवादी कमजोर हुन पुगेको स्वीकारेका प्रचण्डले प्रदेशमा आफ्ना सरकार बन्नुलाई उपलब्धी मानेका छन्। उनले जनयुद्धमा योगदान गरेकाहरुलाई पार्टीले बेवास्ता गरेको पनि स्वीकारेका छन्। 

'प्रतिक्रियावादीले सहिद परिवार, घाइते र अन्य पीडितहरुलाई हामीविरुद्ध प्रयोग गर्न खोजेका थिए। त्यसविरुद्ध पनि हामीले अभियान थालेरै राजनीतिक पहलकदमी लिन सकेका छौँ', उनले भने, 'ओलीलाई सत्ताबाट ओरालेपछि हामी संघदेखि प्रदेशमा पनि बलियो भएका छौँ। तीनवटा प्रदेशमा अब हाम्रै सरकार रहेका छन्।'

उनले अझै पनि प्रतिगमन पूरै नसच्चिएको तर्क गरे। 'हाम्रो शक्ति फर्किँदैछ। तर प्रतिगमन अझै पनि परास्त भएको छैन। केही बाछिटाहरु अझै पनि बाँकी नै छन्', उनले भने, 'बलियो छौँ भनेर ढुक्क हुन सक्ने अवस्था छैन। अझै पनि प्रतिगामीहरुले परिवर्तन उल्ट्याउने प्रयास गर्दैछन्। अझै पनि पुरानो सरकार फर्काउने कोसिस भएको छ। प्रतिगामीहरुलाई फेरि टाउको उठाउन नदिन हामी मोर्चावद्ध भइरहनुपर्ने छ।'

उनले माओवादीमा कम विवाद रहेकाले प्रमुख शक्ति बन्न सक्ने तर्क गरे। उनले माओवादीमा अनुशासन राम्रो रहे पनि उल्लेख गरे। ‘माओवादीमा सबैले निर्णय मान्ने चलन छ। गठबन्धन अन्य दलले पनि यो कुरा स्वीकारेका छन्', उनले भने, 'हामी यसैगरी मिलेर गएको अवस्थामा प्रमुख शक्ति बन्न कसैले रोक्न सक्दैन।'​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .